|

काठमाडौं : नेपालको संसदलाई पेपरलेस (कागजरहित) बनाउने प्रतिवद्धता सहित व्यवस्थापिका संसद सचिवालयले आफ्नो वेवसाइट सुधार गर्नुका साथै मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। बिहीबार नयाँ बानेश्वरस्थित संसद भवनमा आयोजित कार्यक्रममा सभामुख ओनसरी घर्तीले सचिवालयले सुधार गरेको वेवसाइट र मोवाइल एप्स सार्वजनिक गरिन्।

कार्यक्रममा उनले प्रविधि मार्पत अब संसद सबै नेपालीको घरमा घरमा पुगेको बताइन्। 'संसदका गतिविधि अब जनताले घरमै बसेर मोबाइलमा हेर्न सक्नेछन्। जनप्रतिनिधिहरुसँग सिधा संवाद समेत गर्ने सक्ने भएकाले प्रविधिमार्फत जनताको घर घरमा  अब संसद पुग्नेछ,' उनले भनिन्।

वेवसाइट र एप्समार्फत संसदको दैनिक कार्यसूची, सम्भावित कार्यसूची, विधेयकहरुको अवस्थाबारे सांसद र जनताले सहजै थाहा पाउने सभामुख घर्तीले जानकारी दिइन्। दातृ निकाय युनडीपीको आर्थिक सहयोग र फोनिक्स कम्पनीको प्राविधिक सहयोगमा ८ लाख रुपैयाँ लागतमा वेवसाइट र एप्स  निर्माण गरिएको संसद सचिवालयले बताएको छ।

एप्समा के के छ सुविधा?

एन्ड्रोइड र आइओएस दुबै भर्सनमा उपलब्ध एप्स मार्फत संसदका कार्यसूची थाहा पाउन सकिनेछ। यस्तै संसदीय समितिका बैठकमा निर्णय थाहा पाउन सकिनेछ। संसदमा दर्ता भएको विधेयक एप्स मार्फत जानकारी लिन सकिनेछ भने पारित भएपछि सूचित समेत समेत गर्नेछ। यस्तै आफ्ना जनप्रतिनिधिले संसदमा राखेका भनाइ जनताहरुले हेर्न र सुन्न पाउनेछन्। सांसदहरुले पनि आफूले दिएका अभिव्यक्तिहरु डाउनलोड गरी अभिलेख राख्न सक्नेछन्। यस्तै सांसदहरुको विवरण पनि वेवसाइट र एप्समा उपलब्ध हुने संसद सचिवालयका सहसचिव रोजनाथ पाण्डेले जानकारी दिए।

एप्स चलाउन सांसदले माग गरे तालिम

८ लाख रुपैयाँ खर्च गरी निर्मित वेवसाइट र एप्सप्रति सांसदहरुले अविश्वास जनाएका छन्। कार्यक्रममा बोल्दै सांसद मिना पुनले वेवसाइट अपडेट हुनेमा आशंका व्यक्त गरिन्। 'विधेयकको जानकारी वेवसाइट मार्फत पाउने भन्नुभयो, वेवसाइट कत्तिको अपडेट हुन्छ त्यो महत्वपूर्ण कुरा हो', उनले प्रश्न गरिन्,'अपडेट कत्तिको गर्नुहुन्छ के छ योजना?'

यस्तै सांसद कुन्तिकुमारी शाहीले वेवसाइट सार्वजनिक गरेर मात्रै नहुने भन्दै सहज व्यवस्थापनमा ध्यान दिन सचिवालयलाई आग्रह गरिन्। सांसदहरुले एप्स चलाउन तालिमको पनि माग गरेका छन्। कार्यक्रममा बोल्दै सांसद हितराज पाण्डे, भरत कलवार लगायतले एप्स चलाउन तालिमको माग गरे। 'एप्सबाट जानकारी प्राप्त हुनु राम्रो कुरा भयो अब यो कसरी चलाउने भन्ने तालिम चाहियो त्यसका लागि हेल्प डेस्क पनि राख्नुपर्‍यो,' सांसद हितराज पाण्डेले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.