|

गोरखा : जिल्ला समन्वय समिति गोरखाको सभापति बन्न कांग्रेसभित्र रस्साकस्सी सुरु भएको छ। ११ स्थानीय तहमध्ये ९ वटामा जित हात पारेको कांग्रेससँग जिसस गठनका लागि एकल बहुमत रहेकाले सभापति बन्न सम्भावित उम्मेदवारहरुले लबिङ सुरु गरेका हुन्।

सभापतिका लागि नेताहरु मोहन पोखरेल, अशोक गुरुङ र हरि गान्धारीको नाम चर्चामा छ। सभापतिको टिकटका लागि लबिङ गर्न अहिले तीनै नेता काठमाडौं गएका छन्। पार्टीका पूर्व जिल्ला उपसभापतिसमेत रहेका पोखरेल महासमिति सदस्य हुन् भने गुरुङ र गान्धारी महाधिवेशन प्रतिनिधि। गुरुङ क्षेत्र नम्बर २ का पूर्व क्षेत्रीय सभापति र गान्धारी दलित संघको केन्द्रीय सदस्य हुन्।

पोखरेललाई वरिष्ठ नेता रामचन्द्र पौडेल तथा गुरुङ र गान्धारीलाई सभापति शेरबहादुर देउवा निकट मानिन्छ।

उपसभापतिमा तीनजना महिलाको नाम चर्चामा छ। गोरखा नगरपालिका–१४ की सदस्य मित्रा परियार, गोरखा नगरपालिका–६ की सदस्य रञ्जिला श्रेष्ठ र शहिद लखन गाउँपालिका–८ की सदस्य जानुका अधिकारीको नाम उपसभापतिका लागि चर्चामा रहेको पार्टीका जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले बताए।

‘हामीसँग स्पष्ट बहुमत छ, त्यसैले साथीहरुले इच्छा जाहेर गर्नु स्वभाविक हो,’ उनले भने, ‘इच्छा गर्दैमा हुने पनि होइन, पार्टीले अन्तमा जो सबैभन्दा सक्षम ठान्छ, जसले जिल्ला समन्वय समितिलाई निर्धक्क लिडिङ गर्न सक्छ, उसैले टिकट पाउँछ।’ सदस्यका लागि आकांक्षी धेरै छन्। ‘सदस्यका लागि यो यो आकांक्षी भन्ने स्थिति नै छैन, धेरै जनाले इच्छा देखाएका छन्,’ न्यौपानेले भने।

भाग खोज्दै माओवादी

आफूसँग बहुमत नरहेकाले माओवादी केन्द्र भने कांग्रेससँग मिलेर जिससमा आफ्नो प्रतिनिधित्व सुनिश्चित गर्ने प्रयासमा लागेको छ। यसक्रममा केही चरण दुई पार्टीका जिल्ला नेतृत्वबीच छलफलसमेत भइसकेको छ। ‘दुई पार्टीबीच निरन्तर छलफल भइरहेको छ,’ माओवादी केन्द्रका जिल्ला इन्चार्ज चुडामणि खड्काले भने, ‘केही पदाधिकारी हामीले लिनेबारे छलफल केन्द्रित छ।’

यहाँ कांग्रेस र माओवादीबाहेक कसैले अध्यक्ष/उपाध्यक्ष तथा प्रमुख/उपप्रमुखमा जित हात पारेका छैनन्।

गोरखामा जिल्ला समन्वय समिति ९ सदस्यीय हुनेछ। समितिमा सभापति र उपसभापतिका अलावा सदस्यमा कम्तिमा ३ महिला र १ जना दलित वा अल्पसंख्यक अनिवार्य हुनुपर्ने व्यवस्था छ ।  

चुनावी कार्यतालिका प्रकाशित

गोरखाका मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले समन्वय समितिको निर्वाचन सम्बन्धी निर्देशिका २०७४ बुधबार निर्वाचन कार्यतालिका प्रकाशित गरेका छन्। तालिकाअनुसार यही साउन २० गते बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म मतदान हुनेछ ।

‘२० गते निर्वाचन हुनेछ,’ सहायक निर्वाचन अधिकृत गोविन्द घिमिरेल भने, ‘आज २२ जना मतदाताको नामावली पनि प्रकाशित गरियो।’ जिल्ला निर्वाचन अधिकृतको कार्यालयले साउन १५ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र मनोनयन पत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने तयारी गरेको छ।

साउन १६ गते उम्मेदवारको विरोधमा उजुरी दिन सकिने मूख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिए। त्यस्तै १७ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशित हुनेछ। २० गते मतदानपछिको केही समयमा मतगणना हुने सहायक निर्वाचन अधिकृत घिमिरेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.