|

काठमाडौं : एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो सेवाको १९ बर्ष पार गरी २० औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा बिहीबार एक कार्यक्रम आयोजना गरी वार्षिक उत्सव मनाएको छ। 

बैंक सञ्चालक समितिका अध्यक्ष जगदिशप्रसाद अग्रवालले १९ कर्मचारी, १ शाखा र करिब ८ करोड चुक्तापुँजी सहित एक क्षेत्रीय वाणिज्य बैंकको रुपमा नेपालको बैकिङ क्षेत्रमा प्रवेश गरेको नेपाल इन्ड्रष्ट्रियल एण्ड क्यापिटल बैंक अहिले १२५ भन्दा बढी शाखा तथा एक्सटेन्सन काउन्टरमार्फत ५ लाख ५० हजार ग्राहकसमक्ष पुगेका जानकारी दिए। 

गुणस्तरीय सेवा प्रदान गरे बापत आईएसओ ९००१ः २००८ प्रमाणपत्र पाएको एक मात्र वाणिज्य बैंकबाट २५ हजार भन्दा धेरैमा कर्जा प्रवाह गरेको र बैंकका डिजिटल सेवा लिने ग्राहक संख्या २ लाख ५० हजार नाघेको समेत उनले जानकारी गराए। कार्यक्रममा अध्यक्ष अग्रवालले २० औं बर्ष प्रवेशको उपलक्ष्यमा टेलिभिजन कमर्सियल र सोभिनियर भिडियो समेत विमोचन गरेका छन्।

कार्यक्रममा बैंककी ब्राण्ड एम्बेसडर मनिषा कोइरालाले बैंकको ग्राहकमैत्री सेवा, रणनीति र वित्तिय अवस्थाजस्ता कारणले बैंकप्रति आत्मीयता महसुस भएको बताइन्। 

बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले बैंकले ३ बर्ष अगाडि तर्जुमा गरेको दीर्घकालीन रणनीति कार्यान्वयन मार्फत सन् २०२० सम्ममा बैंकका शाखा सञ्जाल ३०० र एटीएम संख्या १००० पुर्‍याई बैंकलाई राष्ट्रकै उत्कृष्ट मध्येको एक बैंक बनाउने लक्ष्य रहेको जानकारी दिए।

कार्यक्रममा गायिका तथा बैंकको प्रडक्ट प्रमोटर इन्दिरा जोशीले बैंकको एन्नेभर्सरी जिंगलको प्रत्यक्ष प्रस्तुति गर्दै बैंकसँग आवद्ध हुन पाएकोमा गौरवान्वित भएको बताइन्। 

कार्यक्रममा नियामक निकायका पदाधिकारी, बैंकका सञ्चालक, संस्थापक तथा सर्वसाधारण शेयरधनी, ग्राहक वर्ग, सरकारी तथा गैर सरकारी संघ संस्थाका पदाधिकारी सहभागी थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.