|

काठमाडौं : राजधानी काठमाडौं प्रवेशको एउटा प्रमुख नाका कोटेश्वरमा दिनहुँ बिहान-बेलुकी कार्यालय समयमा लामो समय ट्राफिक जाम हुँदा कर्मचारी, यात्रुलगायत सर्वसाधारणले सास्ती खेप्नुपरेको छ। ६ लेनको सडकखण्ड हुँदा पनि ट्राफिक जाम किन हुन्छ र कसरी हटाउने भन्नेबारे कसैले चासो लिएका छैनन्।

ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर क्षेत्रमा मात्र ५१ जना ट्राफिक प्रहरी खटाएको छ। तापनि, जाम भने जस्ताको त्यस्तै रहेको सवारीचालकदेखि यात्रुसम्म बताउँछन्। जामको मुख्य कारण कोटेश्वरबाट धुलिखेल-सिन्धुली-बर्दिबास हुँदै पूर्व जाने लामो दूरीका सवारीसाधन हुन्। बर्दिबास भएर चल्ने सबैजसो सवारीसाधनलाई कोटेश्वरको ‘रुट परमिट’ दिइएको छ। महाशाखाका अनुसार ४० रुटका सवारीसाधन कोटेश्वर रुट भएर चल्छन्। तर, कोटेश्वरमा सवारी पार्किङ वा बसपार्क छैन। लामो दूरीका सवारीसाधनसमेत सबैले सडकमै पार्किङ गर्छन्।

महाशाखाले यातायात व्यवस्था विभागको समन्वयमा लामो रुटका बसलाई गोंगबु बसपार्कबाटै सञ्चालन गर्नुपर्ने निर्णय गरायो। तर, उक्त निर्णय अझै पूर्ण कार्यान्वयन भएको छैन। लामो दूरीका बस चाबहिल, गौशाला, साँखु, जोरपाटीबाट अहिले पनि चलिरहेका छन्। यी सबै सवारीसाधन कोटेश्वर भएरै गुड्छन्।

पछिल्लो समय कोटेश्वरमा सवारी चाप पहिलेभन्दा दोब्बर भएको छ। काठमाडौं भित्रिने अर्को प्रमुख नाका नागढुंगा हो। तथ्यांक हेर्दा पछिल्लो समय नागढुंगाभन्दा कोटेश्वरबाट भित्रिने र बाहिरिने सवारीसाधनको संख्या दोब्बरजस्तै बढेको छ। महाशाखाका अनुसार बुधबार मात्रै नागढुंगा नाकाबाट ३ हजार ७ सय ४ सवारीसाधन राजधानी प्रवेश गरे भने कोटेश्वरबाट ६ हजार ८६। त्यसैगरी, नागढुंगाबाट ३ हजार ६ सय ७१ र कोटेश्वरबाट ७ हजार १ सय ५० सवारीसाधन बाहिरिएको महाशाखाले जनाएको छ।

यो तथ्यांकबाट कोटेश्वरमा सवारी चापसँगै जाम बढ्नु स्वाभाविक हो भन्छन् ट्राफिक प्रहरी। बुधबार नागढुंगाभन्दा बढी यात्रु कोटेश्वरबाट बाहिरिए। महाशाखाका अनुसार कोटेश्वरबाट बुधबार ३७ हजार नौ सय नौ जना यात्रु बाहिरिएका छन्। नागढुंगाबाट भने बुधबार ३७ हजार सात सय ३३ जना यात्रु बाहिरिएका छन्। भित्रिनेको संख्या भने कोटेश्वरभन्दा नागढुंगाबाट बढी छ।

यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले कोटेश्वरमा ट्राफिक जाम बढ्नुको मुख्य कारण सवारीसाधनको बढ्दो चाप भएको बताए। उनले भने, ‘कोटेश्वरमा ट्राफिक जाम बढेको यथार्थ हो, म आफैं पनि त्यसको एउटा भुक्तभोगी हुँ। जाम व्यवस्थापन गराउन कोटेश्वरबाहिर पूर्वतिर एउटा पार्किङ बनाउने गृहकार्यमा जुटेका छौं। फ्लाइओभर बनाउन सके अहिलेको समस्या समाधान हुन्थ्यो।’ पाण्डेले ट्राफिक जाम व्यवस्थापन गराउनकै लागि ‘अफिस आवर’मा कोटेश्वर रुटमा ट्रक, टिपर चलाउन बन्द गरिएको बताए। जथाभावी रुट वितरण सम्बन्धमा भने उनले केही बताउन चाहेनन्।

ट्राफिक प्रहरी प्रमुख एसएसपी सर्वेन्द्र खनालले सवारीसाधनलाई जथाभावी रुट परमिट दिएकै कारण जाम बढेको आरोप लगाए। उनले भने, ‘अवैज्ञानिक रूपमा वितरण गरिएको रुट परमिटले सवारी चाप बढेको देखिन्छ, त्यसलाई व्यवस्थित गराउन सबैभन्दा पहिले यातायात व्यवस्था विभागको ध्यान जान आवश्यक छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • Traffic police le garnu bhaeko prayas dhaerai nai ramro cha,yesko sathai traffic lights prayog garne ra divider harek chock ma prayog garema, traffic jam kam hunecha.