|

चितवन : चितवनको भरतपुरस्थित जिल्ला कारागारमा राखिएका एक कैदीको क्यान्सर रोगका कारण मृत्यु भएको छ। मकवानपुर हाँडीखोला घर भएका ४७ वर्षीय कैदी सीताराम विकको बिहीबार बिहान करिब ५ बजेतिर मृत्यु भएको जिल्ला कारागार चितवनका जेलर कमल काफ्लेले जानकारी दिए। 

कलेजोको क्यान्सरका कारण गम्भीर बिरामी परेका उनलाई उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा बिहान मृत्यु भएको काफ्लेले जानकारी दिए। 

क्यान्सर रोगबाट गम्भीर हुँदै गएपछि गत असार १३ गते उनलाई केन्द्रीय कारागार काठमाडौंबाट चितवन ल्याइएको थियो। कर्तव्य ज्यान मुद्दामा दोषि ठहर भई १० वर्ष कैद तोकिएका उनले २ वर्ष मात्रै कैद भुक्तान गरेको जेलर काफ्लेले जानकारी दिए।

यसअघि गएको चैत दोस्रो साता सिन्धुलीका ३५ वर्षीय अर्जुन गिरी र रुपन्देहीका ठगराज पौडेलको क्यान्सर रोगका कारण मृत्यु भएको जिल्ला कारागार चितवनले जनाएको छ। भरतपुर कारागारमा अझै ४ जना क्यान्सर रोग लागेका कैदी छन्। कारागारमा क्षमताभन्दा तेब्बर बढी (५६३ जना) कैदी र थुनुवा रहेका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.