|

  • गोविन्द महतो-

जनकपुरधाम : नेपालकै एक मात्र रेल सेवा जनकपुर–जयनगर रेल्वे ब्रोडगेज निर्माणको क्रममा बन्द भएको चार वर्ष पूरा भइसकेको छ। रेल्वे बन्द भए पनि रेलसँग रहेको विभिन्न महत्वपूर्ण सामग्रीको संरक्षणमा सम्बन्धित पक्षले ध्यान नदिँदा घाम, पानीले खिया लाग्दै जीर्ण बन्दै गएको हो।

विश्वकै कुनै पनि देशमा नभएको तर नेपालमा मात्र भएको न्यारोगेजका–पाँचवटा कोइला इन्जिनलाई सरकारको नेपाल रेल्वे कम्पनीले संरक्षण गर्न नसक्दा ती इन्जिनहरुमा पानी र घामले खिया लाग्दै विस्तारै कबाडीमा जाने अवस्थामा पुगेको छ।

नेपाल रेल्वेको विघटन भएपछि सरकारले ती सम्पत्तिको संरक्षणका लागि १६ जना कर्मचारी खटाए पनि उनीहरुले संरक्षणमा चासो नदिँदा इन्जिनका पार्टपूर्जादेखि कारखानामा रहेका अन्य सामग्री समेत चोरी हुन थालेको छ।

जनकपुरबाट करिब १५ किलोमिटरको दूरीमा रहेको वैदेही गाउँपालिकास्थित खजुरी स्टेशनमा नेपाल रेल्वेको कारखानामा थन्क्याइएका ब्रहमा, विष्णु, राम सीता, गोरखनाथ, पशुपतिनाथ, महावीरको नामले चिनिने ती इन्जिनलाई संरक्षण गरिए त्यसबाट पर्यटकीय फाइदा लिनसक्ने भए पनि त्यसतर्फ ध्यान नदिनु दुर्भाग्यपूर्ण रहेको नेपाल पत्रकार महासंघ धनुषाका कोषाध्यक्ष तथा खजुरी गाउँबासी अवधेश कामतको भनाइ छ।

संसारमै कतै नभएका इन्जिन नेपालसँग हुनु गौरवको विषय रहेको खजुरी निवासी धनीकलाल दास बताउँछन्। उनी भन्छन् 'वैदेही नगरपालिकाको खजुरी स्टेसनमा म्युजियमको निर्माण गरेर कोइला इन्जिनलाई संरक्षण गरिए ठूलै मात्रामा पर्यटक भित्रयाउन सकिन्छ र यो एउटा पर्यटन प्रवर्द्धनको लागि विश्वकै मानिसहरुको चाखलाग्दो विषय समेत बन्न सक्छ।'

सरकारलाई न्यारोगेज कोइला इन्जिन उपलब्ध गराउने बेलायत स्थित कम्पनीका मालिकका नाति २०३९ सालमा जनकपुर आएर ती इन्जिन आफूलाई दिन आग्रह गरेको स्थानीयवासी बताउँछन्। त्यति बेला एउटा इन्जिनको साटो तीनवटा डिजेल इन्जिन उपलब्ध गराउने प्रस्ताव समेत उनले गरेका थिए। आफनो कम्पनीमा म्युजियममा राख्ने उद्देश्यले उनले प्रस्ताव गरे पनि नेपाल सरकारले अस्वीकार गरेबाट समेत ती इन्जिन अमूल्य रहेको प्रमाणित हुने खजूरी वडा नं. ४ का स्थानीय रामनारायण साहले बताए।

त्यसबेला तत्कालिन सरकारले आफै म्युजियम बनाउने बताउँदै बेलायती कम्पनीको प्रस्ताव अस्वीकार गरेको थियो। तर त्यसपछि राजनीतिक परिवर्तनका कारण म्युजियम निर्माण सम्बन्धी कुनै काम अघि बढ्न नसक्दा स्थानीयवासी चिन्तित छन्।

संरक्षणका लागि खटाइएका १७ जना कर्मचारी मध्ये कार्यालयमा एकजना पनि नभेटेपछि नेपाल रेल्वे तथा मेट्रो विभागका इन्जिनियर एवम् जनकपुर साइट कार्यालयका इन्जिनियर विनोद ओझासँग सम्पर्क गर्दा संरक्षणको काम आफ्नो नरहेको स्पस्ष्ट पार्दै आफू नयाँ निर्माण भइरहेको साइटमा खटिएको जानकारी गराउदै प्रमुख ओझाले भने 'संरक्षणको लागि नेपाल रेल्वे कम्पनीले १७ जना कर्मचारी खटाएको तर हाल सम्पूर्ण कर्मचारी कहाँ छन् मलाई पनि थाहा छैन।' 'हाम्रो काम त निर्माणाधीन परियोजनाको रेखदेख मात्र रहेको' ओझाले बताए। 

बिहीबार दिनको ३ बजे जनपुरको रेल्वे स्टेशनस्थित साइट कार्यालयमा कोही नभेटिएपछि नयाँ रेल्वेको निर्माणको साइटमा काम गर्ने एक जना कामदारले भने 'कोही घरमा बसेर तलव खाँदै छ भने, कोही काठमाडौंमा घरजम बसाएर तलब खाँदै गरेको छ।' रेल्वे साइट कार्यालयमा एउटा पनि कर्मचारी नभएको पाइएको छ।

पर्यटकीय तथा धार्मिक नगरीको रुपमा स्थापित जनकपुरधाम वा आसपासको क्षेत्रमा संसारमा कतै नभएको रेल इन्जिनका म्युजियम निर्माण गरिए जनकपुरको पर्यटकीय विकास थप टेवा पुग्ने प्रायः निश्चित नेपाल पत्रकार महासंघका अध्यक्ष अनिल मिश्रको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.