|

कालिकोट : अछामका विभिन्न स्थानीय तहका जनप्रतिनिधिले जेष्ठ नागरिकहरुलाई नागरिकताको सिफारिस बनाउँदा उमेर बढाएको भेटिएको छ। विगतमा गाविस सचिवहरुले कडा गरे पनि हाल जनप्रतिनिधिहरुले नागरिकताका लागि जिल्ला प्रशासन कार्यालयमा सिफारिस गर्दा उमेर बढाएर सिफारिस गर्न थालेका हुन्।

बुधबार जिल्ला प्रशासन कार्यालयमा दिउँसो १२ बजेतिर लगभग ५५ वर्षका एक व्यक्तिले पत्नीको नागरिकता बनाउन सिफारिस पत्र लिएर आए। निमित्त प्रमुख जिल्ला अधिकारी तुलबहादुर काउचा उक्त सिफारिस देखेपछि दंग परे जसमा पतिको भन्दा पत्नीको उमेर १५ वर्ष बढी छ। निमित्त प्रजिअ काउचाले सोधे, ‘तपाई कति सालमा जन्मनु भएको हो?’ ती व्यक्तिले हत्तपत्त उत्तर दिए, ‘मेरो त १९ साल हो, बिग्रेको छ।’

उनकी पत्नीको जन्ममिति २००४ साल राखेर नागरिकताको सिफारिस आएको रहेछ। पति र पत्नीबीचको उमेरको फरक यति धेरै हुन नसक्ने भन्दै सहायक प्रजिअ काउचाले प्रहरी सर्जिमिन लिएर आउन भन्दै फर्काइदिए।

सामाजिक सुरक्षा भत्ता पाइने लोभमा नागरिकता बनाउन छुटेका गाउँघरका जेष्ठ नागरिकको उमेर बढाएर सिफारिस आउन थालेको निमित्त प्रजिअ काउचाले बताए। ‘श्रीमान् श्रीमती एकै उमेरका देखिन्छन् तर नागरिकता सिफारिसमा २० र २२ वर्षसम्म फरक भएको सिफारिस आउन थालेका छन्’ निमित्त प्रजिअ काउचाले भने–‘रामारोशन गाउँपालिकाबाट गलत नियतले आएको यस्तै नागरिकता सिफारिस फिर्ता गरिदिएको थिएँ।’

सरकारले ६० वर्ष उमेर पुगेका दलित जेष्ठ नागरिक र ७० वर्ष उमेर पुगेकालाई ज्येष्ठ नागरिक भत्ता दिने भएकाले उमेर पढाएर सिफारिस आउने गरेका हुन्। नागरिकताको लागि सिफारिस वडा अध्यक्षले गर्ने व्यवस्था छ। नवनिर्वाचत वडा अध्यक्षहरुले अध्ययन बिनै जनतालाई रिझाउनका लागि नागरिकता गलत तरिकाले सिफारिस गर्न थालेको निमित्त प्रजिअ काउचाको भनाइ छ।

‘पहिले गाविस सचिवले रोकेका थिए, अहिले एकै दिन दुई र तीन वटा यस्ता सिफारिस आउन थालेका छन्’ उनले भने, ‘जथाभावी नागरिकता सिफारिसलाई नियन्त्रणका लागि कानुनी लगायत अन्य छलफल भइरहेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.