|

बैतडी : नेपालको पश्चिमी सीमा नदी महाकालीको तटीय क्षेत्रमा बसोवास गर्ने नागरिकका लागि नदीजन्य स्रोतमा उपभोग वृद्धिका लागि नयाँ परियोजना सुरु भएको छ। ‘दक्षिण एसियाली अन्तरदेशीय सीमा नदीको पानीको सामुदायिक सदुपयोग परयोजना’ सुरु भएको हो।

गैरसरकारी संस्था अक्सफामले भारतको सीमासँग जोडिएको महाकाली नदीका तटीय क्षेत्रका समुदायको जीवनस्तरमा सुधार ल्याउन परियोजना महाकाली अञ्चलका चारओटै जिल्ला बैतडी, दार्चुला, डडेल्धुरा र कञ्चनपुरमा सुरु गरेको हो।

बैतडीमा रुडेसमार्फत यो परियोजना सञ्चालनमा आएको छ। महाकाली नदीसँग जोडिएका बैतडीको दशरथचन्द नगरपालिका, पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकामा यो परियोजना सञ्चालन हुने रुडेसका कार्यकारी निर्देशक गोविन्दराज जोशीले बताए। ‘महाकालीको तटीय क्षेत्रका समुदायमै यो परियोजना केन्द्रित रहनेछ।’ उनले भने।

नदीजन्य स्रोतको अधिकतम सदुपयोग

परियोजनाको सुभारम्भमा बिहीबार दशरथचन्द नगरपालिका हलमा सरोकारवालासँगको परिचयात्मक कार्यक्रममा परियोजनाबारे प्रकाश पार्दै कार्यकारी निर्देशक जोशीले सीमा नदी महाकालीको पानी तथा नदीजन्य स्रोतमा तटीय क्षेत्रका नागरिकको उपभोग वृद्धि गर्ने किसिमका क्रियकलाप सञ्चालन गरिने बताए। ‘सीमा नदीबाट नागरिकले बढीभन्दा बढी स्रोतको सदुपयोग गरून् भन्ने परियोजनाको उद्देश्य हो।’ उनले भने।

यस्तै, तटीय क्षेत्रका नागरिकलाई विभिन्न आयआर्जनका कार्यमा संलग्न गराई उनीहरुको जीविकोपार्जनमा सहजता ल्याउन परियोजनाले मद्धत गर्ने उनले बताए। परियोजनाले सीमा नदीबाट पाउनुपर्ने हरेक सेवा सुविधामा पहुँच भए/नभएको बारे अध्ययन गर्ने तथा छिमेकी देशसँग समन्वय गरेर नयाँ तथ्य संकलनका लागि पनि काम गर्नेछ। परियोजनाले प्रकोपको पूर्वसूचना प्रणालीलाई सबलीकरण गर्दै लैजाने पनि बताएको छ। स्थानीय प्रशासनले सञ्चालन गरेको पूर्वसूचना प्रणालीलाई गाउँभरसम्मै पुर्‍याइने बताइएको छ।

सीमा क्षेत्रमा भारतीय हस्तक्षेपविरुद्ध खबरदारी

दशरथचन्द नगरपालिकाका नगरप्रमुख नरेन्द्रसिंह थापाको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलको आतिथ्यतामा सम्पन्न परियोजनाको परिचयात्मक कार्यक्रममा सरोकारवालाहरुले सबै पक्षसँग सहकार्य गरेर परियोजनालाई परिणाममुखी बनाउन सुझाव दिएका थिए।

कार्यक्रममा दशरथचन्द नगरपालिकाका नगरप्रमुख थापाले यो परियोजनाले सीमा क्षेत्रमा भारतीय हस्तक्षेपविरुद्ध खबरदारी गर्नुपर्ने बताए। ‘महाकालीमा नेपालीलाई माछा मार्न नदिने, भारतीय पक्षबाट नेपालीमाथि कुटपिटका घटनाहरु भइरहेका छन्,’ उनले भने, ‘भारतीय पक्षबाट हुने दमनविरुद्ध पनि परियोजनाले खबरदारी गर्नुपर्छ।’

नगरप्रमुख थापाले तटीय क्षेत्रमा बसोवास गर्ने समुदायका लागि माछा पालन, बेमौसमी खेती जस्ता आयआर्जनका क्रियाकलाप गरेर उनीहरुको आयस्तरमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याए।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.