|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली साउन ७ गते चीनको स्वशासित क्षेत्र तिब्बत भ्रमण गरेर शुक्रबार स्वदेश फिर्ता भएका छन्। निजी भ्रमणमा गएका उनले तिब्बतको ल्हासा, मानसरोवर लगायतका क्षेत्रका धार्मिक तथा सांस्कृतिक क्षेत्रहरुको अवलोकन भ्रमण गरेका छन्।

ओलीले त्यहाँका सरकार प्रमुख तथा पार्टी अगुवाहरुसँग नेपाल र चीनको आपसी सम्बन्धको विषयमा पनि छलफल गरे। परिवारसहित तिब्बत पुगेका ओलीले शुक्रबार स्वदेश फर्किदा आफ्नो भ्रमण फलदायी रहेको प्रतिक्रिया दिए। हिउँ पर्ने क्षेत्र भएकाले स्वास्थ्यमा समस्या देखिन्छ कि भनेर सशंकित भए पनि कुनै समस्या नदेखिएको ओलीले बताए।

६ दिने तिब्बत भ्रमणबारे ओलीको भनाइको सम्पादित अंश : 

गत शनिबार (साउन ७ गते) म निजी भ्रमणमा चीनको तिब्बत निस्किएको थिएँ। खासगरी ऐतिहासिकता, धार्मिकता अनेक हिसाबले कैशाल पर्वत, मानसरोवर आदि स्थानहरुको धेरै मानिसहरुले भ्रमणमा जाने गर्छन्।  मानसरोवर ब्रम्हपुत्र, सिन्धु जस्ता नदीहरुको उद्गमस्थल हो। नजिकै अर्को ताल छ, जहाँबाट कर्णालीको उत्पत्ति हुन्छ। तालको नेपालीमा नाम राख्न नजानेर कसैले "राक्षस ताल" नाम राखिदिएछ।

ती ठाउँहरु कस्ता रहेछन्? किन मानिसहरुको यत्रो भीड? यत्रो ऐतिहासिकता, धार्मिकता कसरी पैदा भयो? आदि कुराहरु हेर्न, बुझ्न पनि म त्यहाँ गएको थिएँ।मलाई अलिक समयदेखि तिब्बत स्वशासित क्षेत्र चीन, त्यसको विकास कस्तो रहेछ? त्यो हेर्ने इच्छा थियो। त्यस क्रममा म ल्हासाबाट गएँ। स्वास्थ्यका हिसाबले पनि ल्हासाबाट जानु बढी अनुकुल थियो।

ल्हासा विमानस्थलबाट हामी सिगात्से पनि गयौं। सिगात्सेको भ्रमण पनि राम्रो रह्यो। त्यहाँका पार्टी सेक्रेटरीसँग भेटघाट भयो। हाम्रो केरुङदेखि, तातोपानी, किमांथाङ्का अनेक नाकाहरु सिगात्से क्षेत्रभित्र पर्ने भएकाले ती नाकाहरुलाई कसरी सुचारु गर्ने भन्ने विषयमा छलफल भए।

सिगात्से शहर हेर्‍यौं। त्यहाँको विकास देखेर आश्चर्य लाग्छ। त्यो एउटा दुर्गम हिमाली भेग नभएर कुनै अनुकुल सहज ठाउँको शहर जस्तो लाग्छ। ल्हासाको सम्बन्धमा धेरैलाई थाहै होला। नेपालको पत्रकारहरुको टिम पनि मैले देखेको थिएँ ल्हासामा। उहाँहरु सिगात्सेतर्फ जाँदै हुनुहुन्थ्यो। 

तिब्बतको विकास असाधारण छ। त्यहाँको सरदर राष्ट्रिय आम्दानी, प्रदेशको आम्दानी अत्यन्तै माथिल्लो स्तरमा छ। प्रतिव्यक्ति आयको हिसाबले पनि माथिल्लो अवस्थामा देखियो। बाटाघाटा अनेक हिसाबले अगाडि छ, अर्थतन्त्र पनि मौलाएको देखियो।

हामीले त्यहाँको प्रशिद्ध ताल मानसरोवरमा केही समय बितायौं। प्रशिद्ध कैलाश पर्वत, जहाँ हाम्रा पौराणिक कथाहरु, सभ्यता जोडिएका छन्। त्यहाँको सदरमुकाम सिच्वाहः भन्ने ठाउँमा पनि बस्यौं। त्यो पनि आधुनिक, सुन्दर शहर। त्यहाँको एअरपोर्ट पनि निकै सुन्दर । नेताहरुसँग पनि कुराकानी भयो।

मानसरोवरबाट हाम्रो हुम्ला १०० मिलोमिटर दूरीमा छ। कैलाश पर्वतबाट १३० किलोमिटर टाढा छ। उतातिर बाटोहरु ठीक छ। हाम्रोतिर बाटोहरु राम्रो छैन। सुरक्षाका निम्ति खटिएका प्रहरीको अवस्था पनि राम्रो रहेनछ। चिनियाँ पक्षले नेपालको नाजुक अवस्थालाई हेरेर अलिअलि सहयोग पुर्‍याएको रहेछ। त्यसको उपयोगबाट हाम्रा सुरक्षाकर्मीहरु अलिकति बाँच्ने स्थिति बनेको रहेछ। नत्र भने धेरै अप्ठ्यारो देखियो। पालमा बसेका छन्। पालसम्म पनि उनीहरुले दिएको छ। 

हामीले उतापट्टिको सम्बन्धमा कुरा गर्दा उनीहरु कुनै प्रकारको अप्ठ्यारो नहोस् भन्नका निम्ति आफू इच्छुक रहेको बताए। उनीहरु सिगात्सेबाट किमाथांकासम्मको बाटो पनि २ वर्षभित्र कालोपत्रे गरिसक्छन्। उनीहरुको भूमिमा मात्र होइन एग्रिमेन्ट गरेर दुवैतर्फ बनाउन चाहन्छन्।

तातोपानी खासातर्फको नाकालाई पनि सुचारु गर्नका निम्ति भौगोलिक र भौगर्भिक हिसाबले हामी अध्ययन गर्दैछौं। हाम्रो जनताको सुरक्षा प्रमुख कुरा हो। हामीले खासाबाट वस्ती हटायौं। त्यो हटाएको वस्तीको प्रबन्ध हामीले गरेका छौं। यदि भौगोलिक हिसाबले हुन्छ भने कुनै हिसाबले त्यो ऐतिहासिक बाटो (त्यो पहिलो बाटो हो) लाई सुचारु गर्न चाहन्छौं। तर भौगोलिक हिसाबले नै त्यहाँ पहाडहरु चर्किएका छन्। कुनै पनि समय भत्किने, पहिरो जाने अवस्था छ। हामी सर्वे गर्दैछौ। त्यसको नतिजा आएपछि हामी के गर्छौ भन्ने कुरा उहाँहरुले बताउनुभयो।

केरुङमा पुल बनाउने, अन्य विभिन्न योजनालाई दीर्घकालिन बनाउने सम्बन्धमा हामीले कुरा गर्‍यौं। उहाँहरुको भनाइ के छ भने 'यतातर्फको तपाईंहरुले धेरै चिन्ता नलिनुस्। हामी जे भन्नुहुन्छ त्यसको सहयोग गर्न तयार छौं। तर तपाईंहरुको तर्फबाट तयारी होस्। हामीले उता के गर्नुपर्छ त्यो पनि हामी तयार छौं। तर हामीले केही गर्नुपर्दैन तपाईंहरु आफै गर्नुहुन्छ भने पनि तपाईंहरुले गर्नुपर्‍यो। त्यसमा ध्यान जानु जरुरी छ।'

विभिन्न ढंगले सर सहयोग बढाएर लैजानुपर्छ भन्ने इच्छा हाम्रो सीमावर्ती चीनको प्रान्त तिब्बत सरकार, त्यहाँको पार्टी र जनकंग्रेस सबैको इच्छा छ। उनीहरुसँग मैत्री सम्बन्धलाई सुदृढ, फलदायी बनाएर जाने भन्ने कुरा भएको छ।

तिब्बत कम्युनिष्ट पार्टीका स्वशासित क्षेत्र तिब्बतका सचिव, उहाँ म जानुअघि नै बेइजिङ कार्यक्रमा गएकाले भेट हुन सकेन। हिजो भेट्ने भन्ने थियो तर उहाँ आउन सक्नुभएन। उहाँबाहेक अरु जनसरकारका प्रमुख, पहिलेका जनसरकार प्रमुख जो पहिले नेपाल आउनुभएको थियो र अहिले पार्टीका उपप्रमुख हुनुहुन्छ उहाँसँग पनि कुराकानी भयो। अरु पार्टीका प्रमुख नेताहरुसँग भेटघाट र कुराकानीहरु भए।

नेपालको इच्छा चीनसँगको मित्रतालाई तिब्बत स्वशासित क्षेत्रसँगको मित्रतालाई अगाडि बढाउने कुरा हामीले अभिव्यक्त गरेका छौं। उहाँहरुको पनि त्यो इच्छा रहेको पाएको छु। यो सम्बन्धलाई विभिन्न ढंगले विभिन्न क्षेत्रमा विस्तार गर्न सकिन्छ भन्ने कुरा उहाँहरुको छ।

गत वर्ष गरिएका सम्झौताहरु र संयुक्त वक्तव्यमा उल्लेख गरिएका ती बुँदाहरुको कार्यान्वयन र त्यसका लागि आवश्यक तयारी जति छिटो गर्न सक्यो त्यति छिटो लागु हुन्छ भन्ने उहाँहरुको धारणा रहेको मैले पाएँ।

हामीले केही सांस्कृतिक कार्यक्रम पनि हेर्‍यौं। उहाँहरुले खुला स्टेडियम बनाउनुभएको रहेछ। त्यो असाधारण खालको छ। श्रङ्चङ्गम्पोका श्रीमतीहरुमध्ये एउटा भृकुटी हुन् भने अर्को वेनचेङ। वेनचेनसँग सम्बन्धित ओपेराका लागि त्यो विशेष बनाइएको रहेछ। त्यो ओपेरा धुमधामसँग चलेको देखियो।

नेपालमा भृकुटीसँग सम्बन्धित त्यस्तो खालको अत्याधुनिक थिएटर बनाइदिन उनीहरु तयार छन्। त्यस सम्बन्धमा हामीले अलिकति प्रारम्भिक काम गरेका पनि छौं भने। म प्रधानमन्त्री हुँदा त्यसको डाइरेक्टरलाई मैले भेटेको थिएँ। मैले उनीहरुलाई अत्याधुनिक भृकुटी थिएटर बनाउन प्रस्ताव गरेँ।पहिले भृकुटीसम्बन्धी नै ओपेरा देखाउने हिसाबले तयारी गर्छु, पछि अरु पनि ओपेराहरु देखाउन सकिन्छ, आदि कुराहरु भएको छ।

रेल, बाटा आदिका सम्बन्ध विस्तारबारे सविस्तारै छलफल भएको छ। यहाँ सरकार पक्षसँग पनि मैले तिब्बतमा गरेका कुराहरु भन्नेछु। सरकारको पनि ध्यानाकर्षण गराउनेछु। नेपालको साझा अवधारणा 'एक चीन नीति' हो। सरकारमा भए पनि नभए पनि नेपालले एक चीन नीतिलाई अवलम्बन गर्छ। नेपालको भूमि चीनका जायज हितहरुका विरुद्ध प्रयोग हुन वा चीनका विरुद्ध प्रयोग हुन नदिने कुरामा नेपाल एकमत छ। 

मलाई त्यहाँ चिसोका कारण लेक लाग्छ कि भन्ने चिन्ता थियो। प्रायः लेक लाग्छ त्यतातिर। तर स्वास्थ्यमा त्यस्तो कुनै समस्या भएन। लेक पनि लागेन। त्यसकारण हिँड्न, डुल्न, कुराकानी गर्न, ठाउँहरु हेर्न, अध्ययन गर्न सबै कुराका लागि सहज भयो। लेक लागेको भए गाह्रो हुने थियो। लेक नलागेका कारण सबै कुरा सुचारु ढंगले सञ्चालन गर्न सकियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.