लालु र राहुलको हात छोडेर रोजे मोदीको साथ

|

भारतको बिहार राज्यका मुख्यमन्त्री नीतिश कुमार (६६ वर्षीय) ले विधानसभामा विश्वासको मत हासिल गरेका छन्। बुधबार मुख्यमन्त्री पदबाट राजीनामा गरेका नीतिशले १५ घण्टा नबित्दै पुनः मुख्यमन्त्रीकै शपथ लिएका छन्।

नीतिशले बिहारको ठूलो दल लालुप्रसाद यादव नेतृत्वको राष्ट्रिय जनता दल र भारतीय कांग्रेससँगको महागठबन्धन तोडेर सत्तारुढ भारतीय जनता पार्टीको सहयोगमा सरकार गठन गरेका हुन्। नीतिश कुमार छैठौंपटक बिहारको मुख्यमन्त्री बनेका छन्। उनको साथमा उपमुख्यमन्त्रीका लागि भाजपाका बिहारका नेता सुशील कुमार मोदीले पनि सपथ लिएका छन्।

शपथग्रहणपछि नीतिशको विरुद्धमा राजदले अविश्वासको प्रस्ताव दर्ता गरेको थियो। जसमा नीतिश विजयी बने। उनको पक्षमा १ सय ३१ विधायकले मत दिएका छन् भने विपक्षमा १ सय ८ मत परेको छ।

नीतिशको राजीनामापछि लालुप्रसाद यादवका छोरा पूर्वउपमुख्यमन्त्री तेजस्वी यादव भ्रष्टाचार काण्डमा सिआइबीको अनुसन्धानमा रहँदा पनि राजीनामा नदिनु रहेको बताइएको छ।

बिहारको सबैभन्दा ठूलो दल राजद र कांग्रेसँग मिलेर अत्यधिक बहुमतका साथ मुख्यमन्त्रीको पद सम्हालिरहेका नीतिशको राजीनामाले बिहारको राजनीतिमा चासो राख्ने सबैलाई चकित पारेको थियो। तेजस्वीको भ्रष्टाचार काण्डमा राजीनामासम्म नमागेका र चुपचाप रहेका नीतिशले नाटकीय रुपमा राजीनामा दिएका थिए। उनले २१ महिना सरकार चलाएर 'यस्तो माहोलमा काम गर्न सक्दैन' भन्दै राजीनामा दिएका हुन्।

नीतिशले राजीनामासँगै कार्यवाहक राज्यपाल केशरीनाथ त्रिपाठीलाई सरकार बनाउन आफूसँग बहुमत विधानसभा सदस्य रहेको दाबी सहितको सूची पनि बुझाएका थिए। जसमा जनता दल युनाइटेड र भाजपालगायत दलका १ सय ३२ विधानसभा सदस्यको नाम थियो।

बिहारको राजनीतिमा 'सुशासन बाबु' को नामले परिचित नीतिश राजनीतिक चलाखीमा पनि अब्बल मानिन्छन्। उनले बेलाबेला राजीनामाको कार्ड फालिरहन्छन्। राजीनामाले अधिकांश राजनीतिज्ञको राजनीति धरापमा पर्ने भए पनि नीतिशको सवालमा भने राजीनामा फाप्ने गरेको छ। उनले यसअघि मुख्यमन्त्रीको पदबाट ३ पटक राजनीनामा दिइसकेका छन्।

नीतिश अहिले त्यहीँ पार्टीको समर्थनमा सरकारको नेतृत्व गर्दै छन् जसका मन्त्रीहरुलाई उनले १६ जुन २०१३ मा सरकारबाट बर्खास्त गरेका थिए। त्यसको चार सालपछि उनले सुशील मोदीलाई उपमुख्यमन्त्रीको पद दिएका छन्।

नीतीश यसअघि पनि भाजपाविरुद्ध बनेको महागठबन्धनका प्रमुख नेता थिए। नीतिशका अलवा लालुप्रसाद यादव र सोनिया र राहुल गान्धीले नेतृत्व गरेको महागठबन्धनको 'भाजपामुक्त भारत' को उद्येश्य थियो। जसले बिजेपीलाई बिहारमा पराजित गरेको थियो।

नीतिश राष्ट्रपति चुनावदेखि भाजपासँग नजिकिएका थिए। बिहारका राज्यपाल तथा भाजपाका तर्फबाट राष्ट्रपतिका उम्मेदवार रामनाथ कोविदलाई नीतिशले समर्थन गरेका थिए। कोविद भारतको राष्ट्रपतिमा महागठबन्धनलाई पराजित गर्दै निर्वाचित भएका थिए।

नीतिश र भाजपाको यो गठबन्धन सन् २०१९ मा हुन लागेको लोकसभा चुनावलाई लिएर गरिएको हो भन्ने चर्चा चल्न थालेको छ। यसले आउने लोकसभा चुनावलाई प्रभावित गर्ने आँकलन गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.