|

एजेन्सी : अदालतले विदेशमा कालो धन जम्मा गरेको विषयमा दोषी ठहर गरेपछि पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले पदबाट राजीनामा दिएका छन्। ६८ वर्षका सरिफ ५ जून २०१३ मा तेस्रो कार्यकालका लागि प्रधानमन्त्री चयन भएका थिए।

अदालतले विदेशमा कालो धन राखेका कारण उनी प्रधानमन्त्रीका लागि अयोग्य भएको ठहर गरेको थियो । अदालतको यस्तो ठहरपछि सरिफले बाध्य भएर राजीनामा गरेका हुन्। पाकिस्तानमा संसदीय चुनाव हुन १ वर्षमात्रै बाँकी रहेको अवस्थामा पूरै कार्यकाल पूरा गर्न नपाउँदै प्रधानमन्त्रीले राजीनामा गर्नुपरेको हो।

कसरी परे फन्दामा ?

३ पटक पाकिस्तानको प्रधानमन्त्री बनिसकेका नवाज र उनको परिवारलाई अदालतले भ्रस्टाचार र आर्थिक अपचलनको मुद्दामा दोषी ठहर गरेको छ।  अदालतले ६ हप्ताभित्र यस घटनालाई सल्ट्याउन राष्ट्रिय अकाउन्टेबिलिटी ब्यूरोलाई आदेश दिएको छ।

गत वर्ष पानामा पेपर्सका नाममा एक अमेरिकी संस्थाले गोप्य अनुसन्धानपछि सार्वजनिक गरेको सनसनीपूर्ण प्रतिवेदनमा सरिफको नाम पनि समावेश थियो। यस प्रकरणपछि उनीमाथि कालो धन जम्मा गर्दै विदेशमा लगानी गरेको आरोप लागेको थियो।

यस विषयमा अवामी मुस्लिम लिगसहितका दलले अदालतमा उजूरी गरेका थिए। त्यसपछि अदालतले राष्ट्रिय बैंक, सुरक्षा कमिसन, राष्ट्रिय एकाउन्टेबिलिटी ब्यूरो, सैन्य गुप्तचर, गुप्तचर संस्था तथा संघीय अनुसन्धान एजेन्सीका प्रतिनिधिहरु राखेर छानविनगर्नका लागि संयुक्त अनुसन्धान टोली जेआईटी गठन गर्न आदेश दिएको थियो।

जेआईटीको ६ सदस्यीय टोलीले जुलाई १० मा सरिफका घटनाका सम्बन्धमा अदालतलाई आफ्नो अनुसन्धानको अन्तिम प्रतिवेदन बुझाएको थियो।

यसै प्रतिवेदनमा टेकेर न्यायाधीस आसिफ सईद खोसाको नेतृत्वमा रहेको ५ सदस्यीय न्यायाधीको बेन्चले सरिफ प्रधानमन्त्रीका लागि अयोग्य रहेको ठहर गरेको हो। अदालतले सरिफ र पाकिस्तानका वित्तीय मन्त्री मोहमद्द इशाक डारलाई पदका लागि अयोग्य ठहर गरेको छ।

पाँच न्यायाधिसको बेन्चमा आसफ सईद खोसा, एजाज अफजल खान, गुलजार अहमद, शेख अजमद सईद र इजाजुल अहसान थिए।

सरिफको विरुद्धमा आएको यो फैसला सर्वोच्च अदालतको कोठा नम्बर १ मा सुनाइएको थियो। यस घटनामा उजूरी गर्ने अवामी मुस्लिम लिगका प्रमुख शेख राशिद, जमात–ए–इस्लामीका प्रमुख सिराजुल इस्लामी हक पनि फैसलाको समयमा अदालतमा उपस्थित थिए।

घटनापछि हुनसक्ने संभावित तोडफोडलाई ध्यानमा राखेर अदालतले आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ। इस्लामावाद पुलिस र पन्जाव रेन्जर्स समेत गरेर ३ हजारभन्दा धेरै सुरक्षाकर्मी तैनाथ गरिएका छन्।

नवाजको बर्हिगमनपछि अहिलेका रक्षामन्त्री ख्वाजा आसिफ, सभामुख अयाज सादिक, व्यापारी शाहिद अब्बासी लगायतको नाम प्रधानमन्त्रीका रुपमा चर्चामा छ।

विदेशमा सम्पत्ती खरिद

सरिफको सम्पत्तीका विषयमा चेकजाँच गरिरहेको जेआईटीले तयार गरेको रिर्पोट अनुसार १९९० मा प्रधानमन्त्री बनेदेखि आफ्नो दोस्रो कार्यकालसम्म सरिफको परिवारले लण्डनमा सम्पत्ती खरिद गरेको थियो। स्मरण रहोस्, सरिफ १९९० देखि १९९३ सम्म (पहिलो कार्यकाल) तथा १९९७ देखि १९९९ सम्म (दोस्रो कार्यकाल) पाकिस्तानको प्रधानमन्त्री थिए।

जेआईटीको रिर्पोटले सरिफका विरुद्ध भ्रट्राचारको नयाँ मुद्दा दायर गर्नका लागि सिफारिस गरिएको छ। यद्यपी सरिफले यी आरोपहरु कपोलकल्पित रहेको बताएका छन्।

सरिफ परिवारमाथि लण्डनमा खरिद गरेका ४ अपार्टमेन्टका विषयमा जोडिएका मुद्दाहरुसहित ८ मुद्दा छ। जसका विषयमा राष्ट्रिय अकाउन्टेबिलिटी ब्यूरोले डिसेम्बर १९९९ मा जाँच सुरु गरेको थियो।

सर्वोच्च अदालतले २० अप्रिलमा गरेको फैसलामा जेआईटीले बुझाएको लण्डन फ्ल्याट्स खरिदमा भएको पैसाको लेनदेनबारे जाँच गर्ने सर्वोच्चको फैसलामा उल्लेख थियो।

पानामा पेपर्स मुख्य कारण

पानामा पेपर्समा नाम जोडिएपछि प्रधानमन्त्री सरिफ भ्रस्टाचारको मुद्दामा मुछिएका हुन्। पानामा पेपर्स अघिल्लो वर्ष लिक भएको कर सम्बन्धी  दस्तावेज हो। अमेरिकास्थित खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईसीआईजे) ले पानामा पेपर्सको नामबाट गोप्य दस्तावेजहरु सार्वजनिक गरेको थियो ।

 यस दस्तावेजमा विगत ४० वर्षदेखि कालो धनलाई सेतो बनाउँदै आएका व्यापारी, राजनीतिज्ञ तथा सेलिब्रेटीहरुको नाम समावेश थियो। यस दस्तावेजमा संसारभरका १ सय ४० नेताले नाम समावेश थियो, जसले  आफ्नो देशमा कर छली गरेर वा अपादर्शी ढंगबाट आर्जन गरेको पैसा विदेशमा लगानी गरेका थिए। यसमा नवाज सरिफको नाम पनि समावेश थियो ।

गोप्य रुपमा कम्पनी, ट्रस्ट र कर्पोरेशन बनाउँदै कर छली गरेर प्राप्त रकम लगानी गर्ने थुप्रै नेता, व्यापारी तथा सेलिब्रेटीको नाम यस दस्तावेजमा समावेश छ।  राज्यलाई कर नतिरेर पैसा जोगाउनका लागि कतिले पानामा, ब्रिटिश भर्जिन आइल्याण्ड र बघामासमा विगत ४० वर्षदेखि लगानी गर्दै आएका छन् भने कतिले यी देशका अधिकारीहरुसँगको सहमतिमा स्रोत नखुलेको धन समेत लगानी गरेका छन्।

यी देशमा कर सम्बन्धी नियम निकै खुकुलो भएको र लगानी गर्नका लागि स्रोत खुलाउनु नपर्ने तथा लगानी गर्नेहरुको नाम समेत गोप्य रहने भएका कारण कालो धन आर्जन गर्नेहरु यहाँ आर्कषित छन्।

नवाज सरिफ र उनका छोराहरु हुसैन र हसन तथा छोरी मरियमले 'ट्याक्स हेभन' भनिएको ब्रिटिश भर्जिन आइल्यान्डमा कम्तिमा पनि ४ कम्पनी सुरु गरेको आरोप छ। उनीहरुले लण्डनमा यी कम्पनीका ६ ठूला सम्पत्ती जोडेका थिए।

सरिफको परिवारले यी सम्पत्तीलाई बन्धकी राखेर डाँएशे बैंकबाट झन्डै ७० करोड रुपैयाँ ऋण लिएको थियो। यसबाहेक अन्य २ आपर्टमेन्ट किन्नका लागि बैंक अफ स्कटल्यान्डले उनको मद्दत गरेको थियो।

नवाज र उनको परिवारमाथि आरोप छ कि यो पूरै कारोबारमा स्रोत नखुलेको सम्पत्ती लगाइएको छ।

सरिफको विदेशमा रहेका यी सम्पत्तीका विषयमा त्यतिबेला कुरा बाहिर आयो। जब लिक भएको पानामा पेपर्समा देखियो कि उनको आर्थिक व्यवस्थापन विदेशमा रहेको परिवारको कालो धनबाट हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.