कर्मचारीको चरम लापरवाहीले औषधिको म्याद ग्रुजिएपछि कार्यालय परिसरमै जलाइयो

|

जाजरकोट : भौगोलिक रुपमा विकट जाजरकोट औषधिको चरम अभाव हुने जिल्लामध्ये एक हो। बिरामी हुँदा औषधि नपाएर अकालमै ज्यान गुमाउनेको संख्या जाजरकोटमा ठूलो छ। 

तर त्यही जाजरकोटमा जिल्ला जनस्वास्थ्य कार्यालयले औषधि जलाएको छ।  कर्मचारीहरुको लापरबाहीका कारण समयमै गाउँका स्वास्थ चौकीमा औषधि पुर्‍याउन नसकेपछि म्याद गुज्रिएका औषधि कार्यालय परिसरमा जलाइएको हो। गाउँमा पठाउनुपर्ने औषधि जिल्ला जनस्वास्थ्य कार्यालयले लामो समय आफ्नै गोदाममा थन्काएर राखेको थियो।

जाजरकोट अस्पताल तथा जनस्वास्थ्य कार्यालयको हाता भित्रै बिहीबारदेखि जलाउन सुरु गरिएको औषधि शुक्रबारसम्म पनि खाल्डोमा जलिरहेको थियो। 

यी औषधि जलाइए 

जलाइएको औषधिहरुमा अल्वेण्डाजोल ४८ सय थान, इन्जेक्सनमा कलोराफेनामिन ३१ सय थान, इन्जेक्सनमा डम्पेरिडम २८ सय थान, इन्जेक्सनमा मेट्रो ५५ सय ३१ थान, ट्याब्लेटमा जिङ चक्की २१ हजार थान, ट्याब्लेटमा एमोक्सी १९ हजार थान, सिरफमा सालबुटामोल ५३ थान, ट्याब्लेटमा बी कमप्लेक्स २७ सय थान, सिरफमा सिफिजन २५ सय थान, कण्डम ९४ हजार थान, ट्याब्लेटमा रेसोनल ४८ हजार थान, ट्याब्लेटमा फ्रुसेमाइड ५५ सय थान नस्ट गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय जाजरकोटले जनाएको छ।

नियम विपरीत जलाइयो

१२ सय तापक्रममा ईन्सुलेटर मेसिनमा राखेर औषधि जलाउनु पर्ने प्रावधान भएता पनि जिल्ला जनस्वास्थ्य कार्यालयको गोदाम घरको आँगनमै खाल्डो खनेर जलाइएको छ। औषधि जलाएको धुवाँले कार्यालय परिसरमै रहेको जिल्ला अस्पतालमा उपचार गराउन आएका बिरामीहरुलाई समेत असर गरेको छ।

गाउँमा पठाउन नसकेका तथा जिल्ला अस्पतालका लागि भनेर राखिएका औषधि म्याद गुज्रिएपछि जलाउनुपरेको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख राम पुकार साहले बताए।

म्याद गुर्जेको औषधि लाई विभागमा फिर्ता गर्न नसकेकाले जिल्लामै नष्ट गर्नु परेको साहको जानकारी दिए।

अस्पतालले माग्दा पनि पाएन 

२०७२ मंसिर २२ गते मन्त्री परिषदको निर्णयपछि जिल्ला जनस्वास्थ्य कार्यालयबाट छुटिएर जाजरकोट जिल्ला अस्पताल स्थापना भएको थियो। त्यसपछि अस्पतालले बिरामीको उपचारका लागि जिल्ला जनस्वास्थ्यसँग केही औषधि मागेको थियो।  तर जिल्ला जनस्वाथ्यले दिन मानेन। 

'बिरामीलाई उपचार गर्नका लागि जिल्ला जनस्वास्थ्य कार्यालयसँग औषधि माग्दा छैन भनेर पाइएको थिएन। अस्पताललाई छैन भनेको औषधि म्याद गुज्रिएर नस्ट भयो। समयमै अस्पताललाई औषधि दिएको भए कम्तिमा पनि बिरामीको उपचारमा उपयोग त हुन्थ्यो,’  जाजरकोट अस्पतालका निमित्त प्रमुख डा. धर्मराज रेग्मीले भने।

रेग्मीका अनुसार अहिले गाउँमा औषधिको अभाव छ। ‘त्यतिबेला हामीले माग्दा गाउँमा पठाउने भनेर दिएनन्। तर न गाउँमा औषधि पुग्यो न त अस्पतालकै बिरामीहरुका लागि प्रयोग गर्न पाइयो। अहिले गाउँमा औषधि अभाव छ। यता जलाइएको छ,' उनले भने। 

औषधिको चरम अभाव हुने जाजरकोटमा स्वास्थयकर्मीहरुमाथि बेला-बेलामा म्याद गुज्रिएका औषधिको प्रयोग गर्ने गरेको आरोप समेत लाग्ने गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.