|

भक्तपुर :     नेपालभाषा साहित्यका महाकवि सिद्धिदास अमात्य ‘महाजु’ को साहित्यिक योगदानबारे विभिन्न विश्वविद्यालयका प्राध्यापकहरुले कार्यपत्र प्रस्तुत गर्दै चर्चा गरेका छन्। नेपालभाषा साहित्य क्षेत्रको उत्थान र विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका महाजुको १ सय ५०औं जन्म जयन्तीको अवसरमा शुक्रबार सिद्धीदास प्रतिष्ठान भक्तपुरले एक कार्यक्रमको आयोजना गरेको थियो।

आयोजित उक्त सिद्धीदास महाजुया थी थी चिन्तन (सिद्धीदास महाजुको विभिन्न चिन्तन) विषयक कार्यक्रममा विश्वविद्यालयका प्राध्यापकहरुले कार्यपत्र प्रस्तुत गर्दै महाजुको साहित्यिक योगदानबारे चर्चा गरेका हुन्।

कार्यक्रममा उपप्राध्यापक शाक्यले ‘सज्जन हृदयाभरण नामक महाकाव्यमा संस्कृति नीति साहित्यको प्रभाव’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै साहित्यमा सांस्कृतिक योगदानबारे चर्चा गरे भने सो कार्यपत्रमाथि साहित्यकार गोविन्दमान श्रेष्ठले टिप्पणी गरेका थिए।

सोही अवसरमा प्राडा. तुयुबहादुर महर्जनले ‘सिद्धिदास महाजुका साहित्यमा वर्णविन्यास व्यवस्थाबारे कार्यपत्र प्रस्तुत गर्दै वर्णविन्यास र व्याकरणको उत्थानमा महाजुको योगदानबारे प्रस्ट्याए। उनको कार्यपत्रमाथि ओमकार श्रेष्ठले टिप्पणी गरेका थिए। त्यस्तै, महाकवि महाजुको कृतिमा महिलाप्रतिको धारणाबारेमा प्राडा. चुन्दा बज्राचार्यले कार्यपत्र प्रस्तुत गर्दै तत्कालीन महिलाहरुको अवस्थालाई चित्रण गरिएको पाइएको बताए। सो कार्यपत्रमाथि प्राज्ञ धु्रब मधिकर्मीले टिप्पणी गरे।

कार्यक्रममा प्राडा. योगेन्द्र प्रधानले भने महाकवि सिद्धिदास महाजुका विविध विचार विषयमा कार्यपत्र प्रस्तुत गर्दै विचार सान्दर्भिक भएको बताए। सो कार्यपत्रमाथि साहित्यकार त्रिरत्न शाक्यले टिप्पणी गरेका थिए। कार्यपत्र प्रस्तुतिमा प्रोफेसर माणिकलाल श्रेष्ठ, नेपालभाषा आन्दोलनका अभियन्ता एवं विश्लेषक मल्ल के सुन्दर, आयोजक प्रतिष्ठानका विमल प्रधान लगायतले महाकवि महाजुको योगदानबारेमा चर्चा गरेका थिए।

प्रतिष्ठानका अध्यक्ष नरेन्द्रभक्त हाडा, सचिव अमररत्न बज्राचार्य, शान्ति निकेतन माविका प्रअ महेन्द्रगोपाल कर्माचार्यले तत्कालीन समयमा सिद्धिदासको संगत र उनले पुर्‍याएको योगदानको चर्चा गर्दै लौहपुरुष गणेशमान सिंह तथा साहित्यकारहरु सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित र चक्रपाणि चालिसेसँगको सामिप्यताबारे समेत चर्चा गरे। महाजुको सज्जन हृदयभरण, सत्यवती, सत्य मदन, शुकरम्भा संवाद र रम्भाव शुक संवाद, सिद्धि रामायण लगायतका कृति प्रकाशनमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.