|

कपिलवस्तु : दाइजो प्रथालाई नेपाली समाजमा कुप्रथाको रुपमा लिने गरेको भए पनि तराई मधेसमा अझै पनि दाइजो प्रथाले जरो गाडेरै बसेको छ। आफ्नै जन्मदिने बाबुआमाले छोरीको सिंगो जीवनसँग खेलवाड गरी भाउमा मोलमोलाई गर्न पछि पर्दैनन्। त्यही सौदावाजीले अनाहकमा अधिकांश महिलाले आफ्नो जीवन नारकीय रुपमा समेत बिताउन बाध्य भएका छन्।

कतै दाइजोको विषय त कतै छोरा नपाएको भन्दै तराई मधेसमा अझै पनि महिलामाथि निर्घात कुटपिट हुने गरेको छ। यस्तै घटना कपिलवस्तुको सदरमुकामसँग जोडिएको श्रीरामपुर गाउँमा घटेको छ। छोरा नपाएको र लेनदेनको विषयमा कुरा नमिलेपछि कपिलवस्तु नगरपालिका-५ श्रीरामपुर गाउँकी २० वर्षिया सबिना खातुनलाई उनकै श्रीमान् दीलसार खान र सुसरा इजहार खानले निर्घात कुटपिट गरेका छन्।

दुवैले ११ साउनमा आफन्तको विवाह समारोहमै लठ्ठी मुक्का र लात्तीले आफ्नो छोरीलाई कुटेको पीडितका बुबा यशोधरा गाउँपालिका-५ लोहोरौलीका लइस पठानले बताए। कुटपिटबाट सबिनाको कान, पिठ्युलगायत शरीरका विभिन्न भागका नील डाम परेको छ।

साढे २ महिने दूधे छोरीलाई समेत सबिनाबाट अलग राखिएको छ। तौलिहवामा उपचार हुन नसकेपछि  उनलाई उपचारका लागि अहिले रुपन्देहीको भैरहवास्थित युनिभर्सल मेडिकल कजेलमा लगिएको र २ दिनको उपचारले केही विशेक भएपछि घर ल्याएको बुबा लइसले बताए। अहिले छोरीको अवस्थामा केही सुधार रहेको उनले बताएका छन्। घटनापछि छोरी निकै त्रसित बनेको र आफ्नो घरसमेत नजाने निधो गरेकी उनले बताए।

पीडित सविनाले आफूलाई श्रीमान् र पति दुवैले विवाह भएको एकदुई महिनामै छोरा नपाए ठीक नहुने भन्दै धम्काउने गरेको सुनाइन्। छोरी पाएपछि त आफूलाई श्रीमानले दिनहु मानसिक तनाव दिने र कुटपिट गर्ने गरेको उनले बताएकी छन्।

१४ महिनाअघि सविनाको दिलसारसँग धुमधामले विवाह भएको थियो। विवाहलगत्तै दिलसार र इजहारले आपूmहरुलाई वारिसका लागि छोरा नै चाहिएको र छोरी पाए ठीक नहुने भन्दै छोरीलाई धम्की दिने गरेको पीडितकी आमा शायराले बताइन्।

गत साउन ११ गते राति आफन्तको छोरीको विवाह समारोहमा ज्वाइँ र सम्धी मिलेर आफ्नै अगाडि निर्घात कुटेको उनले बताइन्। दुवैको मुस्लिम परम्पराअनुसार धुमधामसँग विवाह भएको थियो। घटना विषयमा पीडित र पीडक दुवै पक्षको प्रहरीमा उजुरी परेको जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेलकी प्रहरी सहायक निरीक्षक इन्द्रा गिरीले बताइन्। दुवै पक्ष र पीडीत भनिएको महिलासँग कुराकानी गरेपछि सत्यतथ्य बाहिर आउने उनले बताइन्।

सम्धी–सम्धीबीचको आपसी लेनदेनको विषयले उग्ररुप लिएर झगडा भएको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक प्रह्लाद अधिकारीले बताए। ‘उनीहरुबीच आपसी लेनदेनको विषय रहेछ, उक्त विषयले महिलामाथि निर्घात कुटपिट हुनु अपराध हो, उनले भने। ‘घटनाको अनुसन्धान भइरहेको छ, पीडकलाई कानुनी कारबाही हुन्छ’ प्रहरी नायब उपरीक्षक प्रह्लाद अधिकारीले भने।

विवाहको समयमा उनीहरुले लेनदेनको विषयमा सहमती गरेको र त्यही विषयले पीडित पक्षका बाबुले माइत जान नदिएको खुल्न आएको छ। जबरजस्ती सविना माइत गएकाले उनीमाथि कुटपिट भएको हुन सक्ने प्रहरीको भनाइ छ। पीडितका श्रीमान् फरार रहेको र ससुरा प्रहरी नियन्त्रणमा रहेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.