|

सोलुखुम्बु : जिल्लाको कर्णाली भनेर चिनिने महाकुलुङ गाउँपालिका ४ को एक विद्यालयमा कक्षासँगै विद्यार्थी संख्याको अनुपातमा शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको छ। कक्षा ८ सम्म सञ्चालित बासुकी आधारभुत विद्यालयमा ३ सय ६२ जना विद्यार्थीलाई ५ जना शिक्षकले पढाउनुपर्दा समस्या भएको हो।

हिमाली जिल्ला सोलुखुम्बुमा १ शिक्षक बराबर ३० विद्यार्थी संख्या पर्ने भए पनि यहाँ एक शिक्षकको भागमा ७२ जना विद्यार्थीलाई पढाउनुपर्ने बाध्यता छ। विद्यालयमा इसिडीसहित ६ जनाको दरबन्दी छ। स्थायी ४, राहत १, इसिडी एक र कार्यालय सहयोगी १ गरी ७ जना हुनुपर्नेमा शिक्षक चक्रबहादुर राई ७ वर्षदेखि काजमा छन्।

गाउँपालिकाको सुविधासम्पन्न विद्यालयका रुपमा चिनिने वीरेन्द्र ज्योति माध्यमिक विद्यालय सोताङमा काज सरुवा भए पनि फिर्ता नहुँदा पठनपाठनमा  थप समस्या भएको विद्यालयका प्रधानाध्यापक खड्गबहादुर राइले बताए।

रिड नेपालले शैक्षिक गुणस्तर वृद्धिका लागि कार्यक्रम सञ्चालन गरेसँगै यस जिल्लामा निरन्तर विद्यार्थी मूल्यांकन प्रणालीमा क्षमता मापन गरिन्छ। प्रधानाध्यापक राई भन्छन्, ‘शिक्षक अभावको कारण नियमित मूल्यांकन र शिक्षण  सामग्रीहरु तयार पार्नसमेत चुनौती छ।’ शिक्षक अभावका कारण कार्यालय सहयोगीले समेत पढाउन पर्ने अवस्था आएको उनले बताए।

विद्यालयमा शिक्षक दरबन्दी थप गर्न जिल्ला शिक्षा कार्यालयमा बारम्बार आग्रह गरे पनि शिक्षा कार्यलयले चासो नदिएको प्रअ राईले गुनासो गरे। भौगोलिक विकटताको कारण नजिकमा विद्यालय नहुँदा विद्यालय क्षेत्रका विद्यार्थीको संख्या अत्याधिक भए पनि बाध्यताले बालबच्चालाई त्यही विद्यालयमा अध्यापन गराएको अभिभावक तारा कुलुङले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.