|

पर्वत : स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका पर्वतका ५५ प्रतिशत उम्मेदवारले मात्र चुनावमा आपूmले गरेको खर्चको विवरण जिल्ला निर्वाचन कार्यालयमा पेस गरेका छन्। जिल्लामा बिभिन्न राजनीतिक दलहरुबाट कुल १ हजार ४५ जना उम्मेदवार रहेकोमा अहिलेसम्म जम्मा ५ सय ७५ जनाले मात्र खर्च विवरण कार्यालयमा बुझाएको जिल्ला निर्वाचन अधिकृत लक्षु शर्माले जानकारी दिए।

निर्वाचन आयोगको नियमअनुसार चुनाव सम्पन्न भएको मितिले १ महिना भित्रमा खर्च विवरण बुझाउनुपर्ने भए पनि उम्मेदवारहरुले अटेर गरिरहेका छन्। खर्च विवरण बुझाउनका लागि स्थानीय तहको निर्वाचनमा जिल्लामा भाग लिएका सबै राजनीतिक दलहरुलाई पत्र र फोनमार्फत अनुरोध गरिएको भए पनि राजनीतिक दलहरुले भने विवरण पेस गर्नमा चासो नदिएको पनि निर्वाचन अधिकृत शर्माको भनाइ छ।

खर्च विवरण बुझाएका ५ सय ७५ जनामध्ये ९० प्रतिशत अर्थात् ५ सय १७ जना स्थानीय तहको निर्वाचनमा विजयी बनेकाहरु छन् भने १० प्रतिशत अर्थात ५८ जना उम्मेदवार निर्वाचनमा पराजय व्यहोरेकाहरु रहेको उनले जानकारी दिए।

जिल्ला निर्वाचन अधिकृत लक्षु शर्मा भन्छन, ‘निर्वाचनमा चुनाव हारेका उम्मेदवारले खर्च विवरण बुझाउन किन अल्छी गरिरहनुभएको छ? अहिले विवरण नबुझाउँदा अर्को निर्वाचनमा उहाँहरु उम्मेदवार बन्न नै नपाउने पनि हुन सक्छ। दलबाट टिकट पाएर पनि उम्मेदवार बन्न नपाएका उदाहरणहरु पनि छन्। उहाँहरुले यो आफ्‍नै लागि हो भन्ने बुझ्‍नुपर्छ।’

निर्वाचन आयोगले निर्वाचनमा आफूले गरेको खर्चको विवरण तोकिएको अवधिमा नबुझाउने उम्मेदवारहरुलाई आर्थिक कारबाहीदेखि उम्मेदवार हुन रोक्ने सम्मको कारबाही गर्ने बताउँदै आएको छ। पर्वत जिल्लामा २ नगरपालिका र ५ गाउँपालिका गरी ७ ओटा स्थानीय तह छन्।

निर्वाचन आयोगले विभिन्न १० खर्च शीर्षकहरुमा नगरपालिकाको प्रमुख र उपप्रमुखले बढीमा ४ लाख ५० हजार र वडाध्यक्ष तथा सदस्यहरुले बढीमा २ लाख रुपैयाँसम्म खर्च गर्न पाउने खर्च हद तोकेको थियो। यसैगरी, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षले बढीमा ३ लाख ५० हजार तथा वडाध्यक्ष र सदस्यहरुले १ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने सीमा तोकेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.