|

इलाम : सन्दकपुर गाउँपालिकामा निर्मित माथिल्लो माई जलविद्युत् आयोजनाको उत्पादन राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। ५.१ मेगावाट क्षमताको आयोजनाले सबै परीक्षण सकेर गोदकको राजदुवालीस्थित काबेली करिडोरको सबस्टेसनमा विद्युत् प्रवाह गरेको हो। 

पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडद्वारा निर्मित यो जलविद्युतलाई ‘पावर क्यासकेट’ आयोजनाका रूपमा निर्माण गरिएको हो। अप्परमाईले अघिल्लो वर्षदेखि नै व्यावसायिक उत्पादन थालेको थियो।

यससँगै जिल्लाका कुल विद्युत् उत्पादन क्षमता ६६ मेगावाट पुगेको छ। ९५ करोडको लागतमा निर्मित आयोजनाले ६.१ मेगावाटको जेनेरेसन लाइसेन्स लिएको भए पनि खरिद बिक्री सम्झौता ५.१ मेगावाट मात्रै भएकाले सोहीअनुसारको विद्युत उत्पादन भएको छ।

अढाई वर्षदेखि निर्माण थालिएको आयोजनाको सबै काम सम्पन्न भएपछि व्यवसायिक उत्पादन थालिएको निर्माणकर्ता कम्पनी पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडका कार्यकारी निर्देशक सन्तोष प्रधानले बताए।

‘अघिल्लो वर्ष अप्परमाईको उत्पादन सकेपछि क्यासकेटको कामलाई थप तिव्रता दिइयो,’ उनले भने। १२ मेगावाट क्षमताको अप्परमाई आयोजनाले पनि खरिद बिक्री सम्झौता सम्पन्न भइ नसकेकाले ९.९८ मेगावाट मात्र उत्पादन गर्दै आएको छ।

साविकको सुलुबुङ गाविसमा धेरै अयोजना क्षेत्र परे पनि माबु र जमुना पनि क्यासकेट आयोजनाबाट प्रभावित छन्। यो आयोजना सञ्चालनका लागि ९ सय ७६ मिटरको सुरुङमार्फत अप्परमाईबाट पानी निकालिएको छ। त्यस्तै माईखोलाको  पानी सुलुबुङको बग्रेस्थानमा निकालिएको छ।

९ सय ५३ मिटर लामो पेनस्टक पाइपमार्फत उत्पादनगृहसम्म पु¥याइएको छ। अप्परमाईकै १३२ केभी प्रसारण लाइनमार्फत यहाँ उत्पादित विद्युत् सबस्टेसनसम्म पुर्‍‍याइएको हो।

नबिल बैंक लिमिटेड मुख्य बैंक पार्टनर रहेको आयोजनामा एभरेस्ट, ग्लोबल आईएमई र नेपाल बैंकले सघाएका हुन्। यसअघि गत वैशाखमा ७.६ मेगावाटको जोगमाई खोला साना जलविद्युत् आयोजनाले व्यवसायिक उत्पादन थालेको थियो।

निर्माण चरणमा रहेका अन्य केही आयोजना सम्पन्न हुँदा यहाँको उत्पादन क्षमता ८० मेगावाट पुग्नेछ। अहिले २२ र ७ मेगावाटको सानिमा, ६.२ मेगावाटको पुवाखोला, ४.५ मेगावाटको माईखोला र ३ मेगावाटको माथिल्लो पुवाखोला विद्युत् आयोजनाले उत्पादन गरिरहेका छन्। गोदकमा निर्माणाधीन माईखोला विद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.