|

दमक : २०६३ सालअघि झापा शिवसताक्षी ११ दुधेकी देवी कुमारी ओली दहाललाई बिहान बेलुका के खाने भन्ने चिन्ताले सताउने गर्‍थ्यो। आफ्ना ७ कठ्ठा जग्गामा धान खेती त गर्थिन् तर, उनलाई नुन तेल किन्न अर्काकैमा मजुदुरी गर्न जानुपर्‍थ्यो। श्रीमानको पनि सामान्य टिकट काउन्टरमा जागिर थिायो तर, छोराछोरी पढाउनसमेत मुस्किल थियो। गाउँमा महिलाहरुले सानो बचत गर्ने समूह खोलेका थिए। त्यसैबाट ऋण लिँदै दुःख गरेर उनले छोरा छोरी पढाउँदै थिइन्।

७० बढी महिला व्यावसायिक मौरीपालनमा

२०६२ सालमा जब उनले मौरीपालन व्यवसाय सुरु गरिन् उनको दैनिकीमा विस्तारै सुधार हुँदै आयो। उनी मात्र होइन शिवसातीक्षीका ७० जनाबढी महिलाको जीवनमा अहिले धेरै परिवर्तन आएको छ। कुनैबेला घर खर्च चलाउन गाह्रो भएर समस्या नै समस्यामा पर्ने परिवारमा मौरीपालन व्यवसाय भित्रियएपछि भने आर्थिक स्थिति सुध्रिएको छ।

वार्षिक १५ लाख आम्दानी

देवी कुमारी भन्छिन्, ‘पहिला नानीहरुलाई विद्यालय पठाउनसमेत समस्या हुन्थ्यो, उनीहरुको खर्च कसरी गर्ने, बेलुका के खाने भन्ने चिन्ताले सताउँथ्यो तर, अहिले त्यस्तो छैन।’ उनले अहिले वार्षिक १५ लाखसम्म कमाउन थालेको बताइन्। उनले भनिन्, ‘म मैराबाट वर्षमा १५ लाख आम्दानी गर्न थालेको छु यसले मेरो दैनिकीमा धेरै परिवर्तन आएको छ, तपार्इंले पनि देख्न सक्नुहुन्छ।’

उनले मौरी पाल्न सुरु गरेयता मौरी दिदीको उपनामसमेत पाएकी छन्। उनलाई गाउँमा मौरी दिदी भनेर बोलाउने गरिएको छ। २०६० सालमा जिल्ला कृषि विकास कार्यालय झापा र साहारा नेपालले दिएको मौरीपालन तालिममा आफू पनि सहभागी भएको उनी बताउँछिन्। उनी भन्छिन्, ‘त्यो तालिममा सहभागी भएपछि मौरीपालनबाट पनि केही गर्न सकिन्छ जस्तो लाग्यो त्यसैले मैले मौरी पालन व्यवसाय सुरु गरेको हो।’

अहिले उनीसँग १ सय ३० घार मौरी छन्।  उनलाई गत वर्ष राष्ट्रिय कृषि अनुसन्धान परिषदले देशकै उत्कृष्ट कृषि उद्यमीको रुपमा सम्मानित समेत गरेको छ।मौरीपालन व्यवसायबाट त्यहाँका महिलाले परिवारको आर्थिक अवस्था सुधारेका मात्रै छैनन् आफ्नो ठाउँ र संस्थाको नामसमेत राष्ट्रस्तरमै चिनाउन सफल भएका छन्।

व्यवसायमा सहकारीको सहयोग

सहकारीले मौरीपालन व्यवसायमा आउने महिलालाई मौरीपालनको तालिम दिनेदेखि धरौटीमा मौरीको घार दिने र बजारीकरणसमेत गरिदिने गरेको उनले बताइन्।  हाल संस्थामा हाल ३ सय १९ जना महिला सदस्य रहेका छन्। अहिले सहकारीका ७० सदस्यले सफल मौरीपालन व्यवसाय गरिरहेका छन्।

सतासी मौरीपालक सहकारीले संस्थामा आबद्ध महिलाले वार्षिक रुपमा उत्पादन गरेको २२ हजार केजी मह आफैं बेच्दै आएको संस्थाकी उपाध्यक्ष धनमाया थापाले बताइन्। उनले भनिन्, ‘हामीले हाम्रो सेयर सदस्यहरुलाई तालिमकको व्यवस्था गरेका छौं, मौरी पाल्न चहानुहुने सदस्यलाई हामी परामर्श पनि दिन्छौं।’ उनले आफूहरुले बजारीकरणमा पनि सहयोग पुर्याएको बताइन्। उनले भनिन्, ‘हामी मौरीपालक किसानबाट मह लिन्छौं, त्यसलाई बजारसम्म पुर्याउँदै आएका छौं।’

सहकारीमार्फत आफूहरुले सिएए नामक संस्थासँग सहकार्य गरेर मह प्रसोधन केन्द्र समेत स्थापना गरेको उनले बताईन्। यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत मौरी पकेट क्षेत्र पार्न सफल भएर सरकारले दिएको ३ लाख ७० हजार रकमबाट ३ लाख २० हजारको कलेक्सन भवन बनाएको तथा ५० हजारमा कृषकलाई मौरीका लागि कृत्रिम खाना खरिद गर्न वितरण गरेको उनले बताइन्।

स्वादिष्ट भोजनको रुपमा उत्कृष्ट पोषक तत्व भएको महको माग र बजार अत्यन्त ठूलो रहेको उनी बताउँछिन्। ‘सतासी सहकारीको मह’ भनेपछि बजारमा शुद्धताको ब्रान्ड नै बनिसकेको स्थानीय बताउँछन्।  विदेशबाट समेत यसको माग भइरहेको संस्थाले दुधेलाई ‘मौरीपालन गाउँ’ को रुपमा विदेशसम्म चिनाउने लक्ष्य राखेको थापाको भनाइ छ।

गुणस्तर मापन नहुँदा अन्तर्राष्ट्रिय व्यापारमा समस्या

मौरीपालन ब्यवसायमा धेरै समस्या रहेको सहकारीकी व्यवस्थापकसमेत रहेकी देवी कुमारी बताउँछिन्। बजार व्यवस्थापनदेखि गुणस्तर मापन सम्मको समस्या रहेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘हामीले उत्पादन गरेको महले बजार पाउन मुस्किल पर्छ, हामी अहिले काठमाडौंसम्म सप्लाई गर्दै आएका छौं, हामीले अन्तर्राष्ट्रिय गुणस्तरका लागि मापन नहुँदा विदेशसम्म व्यापार गर्न सकेका छौनौं।’

उनले मौरीका लागि चरनको धेरै समस्या रहेको बताईन्। उनले भनिन्,‘ हामीलाई मौरीका लागि चरनकै समस्या छ, मानिसहरुले अझै पनि मौरीले बालिमा क्षति पुर्याउँछ भन्ने सोच्छन्, त्यसकारण हामीलाई समस्या भएको हो।’ उनले स्थानीयलाई वरिपरिका जमिन लिजमा लिँदा समेत धेरै मूल्य लिने गरेको बताईन्।

उनले भनिन्, ‘हामीलाई लिजमा लिँदा  जग्गाको उचित मूल्य तोक्न सरकारले पहल गर्नु पर्छ’। उनले चरनका लागि मौरी मोरङका विभिन्न क्षेत्रमा लानुपर्ने बाध्यता रहेको बताइन्। तर, मौरीपालनबाट महिलाले पनि केही गर्न सक्छन् भन्ने सन्देश गएको उनले बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.