|

दमक : लागू औषध दुर्व्यसनी युवकको सुधार केन्द्रभित्रै मृत्यु भएपछि आफन्तले काकडभिट्टाको स्वतन्त्र प्रतिष्ठान नेपाल सुधार केन्द्र घेराउ गरेका छन्।

सुधार गृहमा बस्दै आएका मेचीनगर ७ का २४ वर्षका अर्जुन बस्नेतको मृत्यु शंकास्पद रहेको भन्दै उनीहरुले घेराउ गरेका हुन्। शुक्रबार राति ११ बजेतिर सुधार केन्द्रमा झुण्डिएको अवस्थामा भेटिएका बस्नेतको उपचारको लागि अस्पताल लाने क्रममा मृत्यु भएको थियो।

तर मृतकको शरीरमा निल डाम, टाउकोको कपाल चारपट्टिबाट मोडिएको साथै अन्य स्थानमा समेत पाइपको डाम भएको कारण स्थानीयले मृत्यु रहस्यपूर्ण रहेको भन्दै शानिबार र आइतबार इलाका प्रहरी कार्यालय र स्वतन्त्र प्रतिष्ठान नेपालको कार्यालय अगाडि धर्ना र घेराउ गरेका हुन्।

बस्नेतलाई तिन महिना अघि उक्त सुधार केन्द्रमा राखिएको थियो। कोर्स पूरा भएको भनी उनलाई घर पठाइएको र पुनः लागुऔषध प्रयोग गरेको भन्दै दुई दिनअघि मात्र उनलाई सुधार केन्द्रले समातेर लगेको परिवारको भनाइ छ। मृतकको शरीरमा निलडामहरु रहेको र अमानवीय व्यवहार गरेको भन्दै सुधार केन्द्रका सञ्चालक सबैलाई कडा भन्दा कडा कारबाही गरिनुपर्ने मृतककी सानीआमा माया तिम्सिनाले बताइन्। उनले भनिन्,‘यो आत्महत्या होइन हत्या नै हो, शरीरमा निलडाम छ, कपाल चारपाटा मोडिएको छ, दोषीलाई कारबाही गर्नुपर्छ।' आफूहरुले अर्जुनको हत्या भएको भन्दै प्रहरीमा उजुरी समेत दिएको उनले बताइन्।

बस्नेतको शव हाल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ। इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमूख प्रहरी निरिक्षक महेन्द्रबहादुर थापाका पोष्टमार्टमको रिर्पोट आएपछि अनुसन्धान अघि बढाइनेछ। उनले भने,‘ अहिले पनि हामी अनुसन्धानमा नै छौं पोष्मार्टम रिर्पोट आएपछि थप केही सहज हुन्छ।’

प्रहरी निरीक्षक थापाका अनुसार सुधार केन्द्रका अध्यक्ष राजु बुढाथोकी, थेरापिष्ट मनिष क्षेत्री तथा भोला राईलाई हाल अनुसन्धानको लागि हिरासतमा राखिएको छ। उनीहरुलाई कारवाही गर्ने वा नगर्ने भन्ने विषयमा पोष्टमार्टमको रिपोर्ट अनुसार अघि बढ्ने  बताए। उनले भने,‘ मृतकका आफन्तहरुले जाहेरी दिनु भएको छ, दिउँसो त निक्कै तनाव थियो अहिले कहि साम्य भएको अवस्था छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.