काठमाडौँः आधुनिक गीतमा आफ्नो नाम स्थापित गर्न संघर्षरत गायिका पशुपति ताम्राकारको तीज गीत सार्वजनिक भएको छ। गायिका ताम्राकार दुई वर्ष अगाडि संगीतकार सुरेश अधिकारी र महेश खड्काको शब्द रहेको आधुनिक र राष्ट्रिय गीतको एल्बम ‘आवर्तन’ लिएर आएकी थिइन्। त्यही एल्बमभित्रका गीतले एकाएक नेपाली सांगीतिक फाँटमा उनलाई सफल गायिकाको रूपमा नेपाली श्रोताहरू माझ ल्याइदिएको छ।
गीतमा आफ्नो भविष्य खोज्ने अठोट गरेर गायनमा लागेकी ताम्राकारले तीजको सेरोफेरोलाई लिएर नेपालको मारुनी भाकालाई टपक्कै टिपी ‘घुमी फिरी तीज आयो’ बोलको गीत बजारमा ल्याएकी छन्। यस गीतमा संगीत पूर्ण श्रीले दिएका छन्। गीतको शब्द भने भरत बमजनको रहेको छ। यस गीतलाई न्यू जुनेली रेकर्डिङले बजारमा ल्याएको हो।
हरितालिका तीज पर्व मनाइरहेका सम्पूर्ण दिदीबहिनीहरूमा समर्पित यो गीतलाई बजारमा ल्याएको ताम्राकार बताउँछिन्।
नेपालमै जन्मे पनि भारतको जयपुरबाट संगीततर्फ एम म्युज गरेकी गायिका ताम्राकारले नेपाली गायिकाहरू माझ पहिचान स्थापित गर्न संघर्ष गरिरहेको बताइन्। बाल्यकालमा लजालु स्वाभावकी ताम्राकारले गीत गाउनकै लागि निकै दुःख भोगेको अनुभव सुनाउँछिन्। फेरि मातृभूमिमै बसेर केही गरौँ भन्दै तीज गीतलाई बजारमा ल्याएको उनको भनाइ छ।
गायिका ताम्राकारले संगीतले मान्छेको मनलाई आनन्द दिने भएकाले सबैले संगीतप्रति रुचि राख्ने गरेको बताइन्। ‘संगीतमा भविष्य खोजिरहेकी छु’, उनले भनिन्, ‘तर अझै धेरै संघर्ष गर्नु छ।’ सुदूरपश्चिम धनगढीबाट भारत हुँदै काठमाडौँ आएकी गायिका ताम्राकार बाल्यकालको रुचि नभए पनि बाध्यता, विवशता वा संगीतको मोहले गायिका बनाएको बताउँछिन्।
अहिले चलेका आधुनिक गीत, लोकगीत दुवै गाउन सक्ने उनी बताउँछिन्। ‘पश्चिममा जन्मेको भए पनि पूर्वेली लोकगीत पनि गाउने रहर छ। अवसर मिल्यो भने अवश्य गाउनेछु’, ताम्राकार भन्छिन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।