|

काठमाडौँः राष्ट्रिय जनसांस्कृतिक महासङ्घको संयोजन र जनसाहित्यिक मञ्च नेपालको व्यवस्थापनमा शुक्रबार ‘अविरल जनसाहित्य यात्रा’को ३९औँ शृङ्खलामा कवि घनश्याम कँडेलको एकल कवितावाचन सम्पन्न भएको छ।

हरेक महिनाको दोस्रो शुक्रबार उपत्यका र बाहिर रहेर नेपाली प्रगतिवादी साहित्यमा योगदान गर्ने एक जना साहित्यकारका एक दर्जन कविता सुन्ने र ती कवितामाथि टिप्पणी गर्ने, स्रष्टाको व्यक्तित्व उजागर गर्ने, सिर्जनामा निखार ल्याउने उद्देश्यका साथ थालनी गरिएको यो उद्देश्यमूलक अभियानको उनान्चालीसौँ शृङ्खलामा साहित्य सिर्जना एवं सामाजिक रूपान्तरणको अभियानका माध्यमबाट योगदान गरिरहेका कवि घनश्याम कँडेलका एक दर्जन कविता सुन्ने कार्यक्रम आयोजना गरिएको साहित्यकार विनोद मञ्जनले जानकारी दिए। 

साहित्यकार एवं संस्कृतिविद् डा. मोदनाथ प्रश्रितले कविनायक घनश्याम कँडेललाई माल्यार्पण गरी सम्मान गरेपछि कवि कँडेलले कवितावाचान गरेका थिए। कवि कँडेललाई कविहरू भुवनहरि सिग्देल, रमेश शुभेच्छु, रूपक अलङ्कार, नारायण निरासी, देवु लुइँटेल र शर्मिला गिरीले साथ दिएका थिए। 

कवि घनश्याम कँडेलको व्यक्तित्वमाथि प्रकाश पार्दै जनसाहित्यिक मञ्च नेपाल, काव्य विभाग प्रमुख डा. विन्दु शर्माले वि. सं. २००२ सालमा धादिङमा जन्मिएका कवि कँडेल २०१८ सालदेखि समालोचनाबाट साहित्ययात्रा थालनी गरी २०२२ सालदेखि कविता लेख्नथालेका बताइन्। 

कँडेलका एक दर्जन कृति प्रकाशित भएका र तीमध्ये आधा दर्जन खण्डकाव्य रहेका, मानवीय जीवनका सकारात्मक र नकारात्मक पक्षलाई शास्त्रीय छन्द तथा लोकलयमा अभिव्यक्त गर्दै यथार्थवाददेखि द्वन्द्वात्मक यथार्थवादसम्म पु¥याएको बताइन्। पौराणिक नायक पात्रलाई खलपात्र र खलपात्रलाई नायक पात्रको रूपमा चित्रण गरी उत्पीडितका पक्षमा कलम सोझ्याएको, कवितामा श्रमप्रतिको सम्मान व्यक्त भएको र भौतिकवादी चिन्तन उजागर भएको, अन्तरजातीय विवाहका पक्षमा वकालत गरिएको, पर्यावरणका पक्षमा, शोकका पक्षमा आवाज उठाइएको पाइने पनि उनले बताइन्। 

नेपाली, संस्कृत र अङ्ग्रेजीका विद्वानसमेत रहेका कारण शिक्षण, लेखन र सम्पादनको भूमिका उनीबाट निर्वाह भएको छ भन्ने धारणा डा. शर्माको थियो। 
कविनायक घनश्याम कँडेलले आफूले सिर्जना गरिरहेका कवितामाथि विश्वास गरेर यो विशिष्ट र गरिमामय समारोहमा आफूलाई स्थान दिन पहिले नै आग्रह गरिएको भए पनि स्वास्थ्यका कारण उपस्थित हुन नसकेको र अहिले अनुकूल मिलेको हुँदा आएको बताए।

उनले कविता भनेको जीवन जगत्को यथार्थको कलात्मक अभिव्यक्ति भएको बताउँदै समाजबाट निरपेक्ष कविता हुन नसक्ने उल्लेख गरे। ‘त्यसैले कवितामा समाज भित्र्याउने प्रयत्न मैले गरेको छु’, उनले भने। 

कविताको रचनागर्भसहित ‘कवि’, ‘प्रभात’, ‘विश्वाभित्र–मेनका खण्डकाव्यबाट’, ‘आमा यशोधरा’, ‘धृतराष्ट्र खण्डकाव्यबाट’ गरी पाँचओटा कविता कवि कँडेल स्वयंले वाचन गरेका थिए। वाचन सहयोगी कवि भुवनहरि सिग्देलले ‘सन्ध्या’ शीर्षकको, कवि देवु लुइँटेलले ‘आमा’ शीर्षकको, कवि नारायण निरासीले ‘बैँसालु जोडीलाई देख्दा’ शीर्षकको, कवि रूपक अलङ्कारले ‘मृत्युले मार्न नसकेको सम्झना’ (हीरामणि शर्माको सम्मानमा लेखिएको) शीर्षकको, कवि रमेश शुभेच्छुले ‘आमाको माया’ शीर्षकको र कवि शर्मिला गिरीले ‘खोजेको छ अँध्याराले’ शीर्षकका कविता वाचन गरेका थिए। 

वाचित कवितामाथि टिप्पणी गर्दै समालोचक प्रा. केशव सुवेदीले कवि घनश्याम कँडेलेको साहित्यलेखनको उद्देश्य भनेको सामाजिक रूपान्तरण भएकले उनका कविता अत्यन्त सरल र सुन्दर भएको बताए। संस्कृत, अङ्ग्रेजी र नेपालीका विद्वान कँडेलको व्यक्तित्व नै प्राज्ञिक बनेको उनको टिप्पणी थियो। ‘त्यही प्राज्ञिकताको गहन प्रभाव सिर्जनामा परेको छ’, उनले भने, ‘केवल शब्दको जोडजाड मात्र होइनन् उहाँका कविता।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.