|

काठमाडौँ: साझा प्रकाशनमा अार्थिकलगायत विषयमा भएका भनिएका अनियमितताका बारेमा आइतबार सार्वजनिक सुनुवाइ आयाेजना गर्दै साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डाेलिन्द्रप्रसाद शर्माले आफूमाथि लगाइएका आरोप गलत भएको दाबी गरेका छन्।

सार्वजनिक सुनुवाइसँगै साझा प्रकाशनको विवाद पनि सार्वजनिक रूपमै बाहिर आएको छ। साझाको विवादलाई प्रकाशनका अध्यक्ष तथा महाप्रवन्धक एवं सञ्चालक समिति सदस्यहरू र कर्मचारीहरूले छताछुल्ल पारेका हुन्। 

साझाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा र साझाका पूर्व एवं वर्तमान कर्मचारीबीच निकै चर्को भनाभन भएको थियो। शर्माले साझाको उन्नतिका लागि धेरै काम गरे पनि आलोचना भएको भन्दै गुनासो गरेका थिए। सुरुमै शर्माले आफूले गरेका कामको फेहरिस्तसहितको चार पेजको विज्ञप्ति पढेका थिए। त्यसलगत्तै साझाका वर्तमान एवं पूर्व कर्मचारी र शेयरधनी शर्मामाथि खनिए।

साझाका अध्यक्ष तथा महाप्रबन्धक शर्माले साझा प्रकाशनलाई निजी स्वार्थ पूरा गर्न प्रयोग गरेको, पदको दुरुपयोग गरेर आर्थिक हिनामिना गरेको, सञ्चालक समितिलाई प्रलोभनमा पारेर कीर्ते निर्णय गरेको, साझाको नाममा आफूसम्वद्ध प्रेसबाट पुस्तक छापेकोलगायत आरोप लगाएका थिए।

डोलिन्द्रप्रसादमाथि उनकै कर्मचारीका यी आरोप

शर्माले साझालाई बचाउन आफू लागिपरेको जिकिरसहितको फेहरिस्त प्रस्तुत गरे, जसमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले साझा प्रकाशन जोगाउन दिएको ३० करोड रुपैयाँको हिसाबको विवरणसमेत थियो। आफूलाई साझा प्रकाशन छिर्दा कर्मचारीले राम्रो व्यवहार गरेको आशयको शर्माको निबन्धात्मक शैलीको विज्ञप्तिले पूर्व कर्मचारी एवं साझाकी शेयर होल्डर तारा चालिसेलाई रिस उठाएको रहेछ। उनले भनिन्, 'उहाँका फूलबुट्टा भराइमा मेरो कति पनि सहमति छैन। हामीले बाध्यताले फूलमाला लगाएका हौँ।' उनले प्रश्न गरिन्, 'बैंकको ऋण तिर्न भनेर ल्याएको पैसाले ऋण किन तिरिएन?'

उनले मञ्चमा बसेका सञ्चालक समितिका सदस्यहरू दीनानाथ शर्मा, प्रदीप नेपाल, प्रा.डा. कृष्णहरि बराललाई पनि प्रश्न गरिन्, 'राष्ट्र हाँक्ने नेताहरू हुनुहुन्छ। हामीलाई जबरजस्ती बाहिर पठाउने? सञ्चालक समितिले जे गर्दा पनि भयो?' शर्माले आफूले साझाका अनावश्यक कुरामा सहमति नदिँदा कोपभाजनमा परेको बताइन्।

साझाका अधिकांश कर्मचारीको गुनासो समयमा तलब र सुविधा नपाएकोमा थियो। केही समयअघि राजीनामा दिएका कर्मचारी हीराकाजी महर्जनले भने, 'राजीनामा दिएवापत पाउनुपर्ने सुविधा पाएको छैन। मैले घरगृहस्थी गर्नुपर्छ, राजीनामा दिएपछि यता न उताको भएको छु।' उनले पटक पटक महाप्रवन्धक शर्माले वाचा गरिएअनुसार सुविधा दिन माग गर्दा पनि नपाएको दुखेसो पोखे।

अर्का कर्मचारी हरिकृष्ण पोखरेलले शर्माले पहिलेका बोर्ड बैठकका निर्णय सामान्य कर्मचारीलाई समेत हुने तर अहिले भने केही पत्तो नै नहुने गरेको बताए। त्यस्तै, कर्मचारीलाई आफूअनुकूल नभए शर्माले पेल्ने गरेको उनको दुखेसो थियो। उनले भने, 'मैले साझालाई सुधार्न भनेवापत धनगढी सरुवा हुनुपर्‍यो। चुप लागेर बस्ने भए काठमाडौँ फिर्ता गर्छु भनेका थिए।'

शर्माको कार्यशैलीप्रति आक्रोशित कर्मचारी थिए, हरिभद्र घिमिरे। उनले सरकारबाट लिएको पैसा जुन काम गर्न दिएको हो, त्यो काममा नलगाएकोमा आक्रोश पोखे। उनले भने, 'कर्मचारीको तलब, भवन, बैंकको ऋण तिर्न दिएको पैसा अरू ठाउँमा किन खर्च गरियो?' उनले तलब खुवाउन नसकिने भनेर पुराना कर्मचारी हटाएको तर ८६ जना आफूअनुकूलका कर्मचारी नियुक्त गरेको आरोप लगाए।

शर्माको नियतमाथि नै प्रश्न उठाउन पछि परिनन् कार्यरत कर्मचारी प्रभा घिमिरे। उनले महाप्रबन्धक शर्माले नियमावली नै संशोधन गरेर कर्मचारी हटाएको र आफ्ना मान्छेलाई भर्ती गरेको आरोप लगाइन्। उनले छापिएका पुस्तकमा संख्या उल्लेख नगरेको, साझाको भन्दा बाहिरको प्रेसबाट छापेको, अधिकृतलाई राजधानीबाहिर पठाएको, ससाना कुरामा पनि कर्मचारीलाई दुःख दिने गरेको आरोपसमेत लगाइन्।

डोलिन्द्रका २ अस्त्र

कर्मचारीको खप्की खाएका महाप्रबन्धक शर्माको छटपटी अनुहारको भावमा झल्किरहेको थियो। त्यति नै बेला सञ्चालक एवं एमालेका नेता प्रदीप नेपाल तथा अर्का सञ्चालक एवं माओवादी नेता दीनानाथ शर्माले कानेखुसी गरे। नेपालले केही लेखेरै दिए भने शर्माले कानमा नै सुझाव दिए। त्यसपछि डोलिन्द्र केही दृढ देखिए।

उनले कर्मचारीले लगाएको आरोपलाई जवाफ दिन पहिलो हतियार प्रयोग गरे, लेखाको हिसाबकिताब दुरुस्त राख्न करारमा लिइएका परामर्शदातालाई। परामर्शदाता वसन्त त्रिपाठीले सञ्चारकर्मीहरूलाई कुरा नै नबुझी समाचार संप्रेषण गरेको आरोप लगाए। उनले लेखापरीक्षक नियुक्तिमा भ्रष्टाचार भएको समाचार बाहिर आएको तर आफूहरू लेखापरीक्षक नभएर परामर्शदाता मात्रै भएको र साझाको लेखा दुरुस्त बनाउन करारमा नियुक्त भएको बताए। उनले भने, 'हामीलाई लेखापरीक्षक भनेर नियुक्ति गरियो भनियो समाचारमा, अर्कोतिर हामीलाई नै नसोधी यस्तो लेखियो।'

त्यस्तै, अर्का परामर्शदाता रोशन शाक्यले साझाका कर्मचारीले राम्रोसँग काम नै नगरेको टिप्पणी गरे। उनले दशौँ वर्षदेखि लेखा राम्रोसँग नराखिएको, हिसाब मिलान नगरिएको फेहरिस्त राखे। उनले भने, '९३ बैंक खाता देखियो, खर्च गरिएको छ तर हिसाब मिलान गरिएको विवरण छैन। चारवटा बैंक खाता सञ्चालनमा छन्/छैनन् भन्ने पनि थाहा हुन सकेको छैन।'

शाक्यले साझाको विवाद घरसम्म पुगेको बताए। उनले भने, 'साझाको लेखा राख्नु भनेको हामी फस्नु जस्तो भएको छ। अहिलेसम्म पैसा नलिएको विषयमा भ्रष्टाचार भएको छ भन्ने कुरा कहाँबाट आयो?'

त्यस्तै चर्को रूपमा महाप्रबन्धक एवं सञ्चालकहरूको आलोचना गरेकी कर्मचारी प्रभा घिमिरेमाथि पनि शाक्यले आफ्नो फाँटको विवरण सही नराखेको बताए। उनले भने, 'प्रभा म्याम स्टोरमा काम गर्नुहुन्छ। ०७१ यता उहाँले काम  गर्नुभएको छैन। त्यसको डाटा राखिएको छैन।' कर्मचारीले आफ्नो फाँटमा काम नगरेकोले र त्यसको प्रभाव तलब वितरणमा पनि परिरहेको उनले बताए।

परामर्शदाताको कुराबाट बचावको अनुभूति गरिरहेका डोलिन्द्रले कर्मचारीलाई चुप लगाउन अर्को अस्त्र फाले, साहित्यकार मोदनाथ पश्रितका रूपमा। पश्रितले करोडौँको व्यापार गर्नुपर्ने प्रकाशनगृह कर्मचारीले काम नगरेको कारण डुब्न लागेको बताए। उनले भने, 'पहिले काम गर्नेका कमजोरी कति थिए? पहिलेकाले काम गरेको भए साझा डुब्ने थिएन।' उनले सबै मिलेर साझालाई बचाउनुपर्ने बताए।

आफ्नो समयमा भएको गल्तीको सजाय भोग्न तयार रहेको तर पहिलेका अधिकारी र कर्मचारीले गरेका गल्तीको खोजबिन गर्नुपर्ने भन्दा कर्मचारीको चर्को आलोचना र आक्रोश खेपेका डोलिन्द्रलाई बल पुग्ने गरी प्रश्रितले भने, 'हिजोका तमाम गल्तीहरूका कारण आज यो अवस्था आएको हो।' उनले प्रणाली स्थापित गरेर अगाडि बढ्न सुझाव दिए।

डोलिन्द्रको 'डिफेन्स'

कर्मचारीको खप्की र पत्रकारका प्रश्नले कार्यक्रम अधविभर अधीर बनेका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा परामर्शदाता र प्रश्रितले भनाइ राखेपछि भने अलि अडिग भएर प्रस्तुत भए। कुनै पनि कर्मचारीको आलोचना नगर्ने र कर्मचारीको आलोचना गर्नु भनेको आफ्नै कमजोरी देखिनु रहेको उनले कर्मचारीको मन जित्न खोजे।

साझा प्रकाशनलाई बुझिसकेको लागेको तर अझै बुझ्न धेरै रहेको उनको भनाइ थियो। दोस्रो कार्यकाल अध्यक्ष तथा महाप्रबन्धकको कुर्सी सम्हालिरहेका शर्माले सर्वाधिक विवादको विषय बनेको 'सबैको नेपाली' पुस्तक साझाको लोगोमा निजी प्रकाशनगृहले मुद्रण गरिरहेको बारे शिक्षा मन्त्रालयले छानविन गरिरहेको र आवश्यक परे आफू पनि नीतिसम्मत रूपमा छानविन गर्न तयार रहेको बताए। तर, साझाको लोगो राखेर निजी प्रकाशनबाट छाप्न किन दिएको भन्ने प्रश्नको भने उनले जवाफ दिएनन्।

धेरै वर्ष खाली रहेको साझाको महाप्रबन्धक बनेको र साझामा प्रवेश गर्दा प्रकाशनको खातामा एक पैसा पनि नभएको अवस्था रहेको उनले स्मरण गरे। उनले अहिले कर्मचारीलाई तलब खुवाउन आफू लागिरहेको र सबैले तलब र सुविधा पाउने आश्वासन दिए।

यसअघि 'गरिमा' प्रकाशन बन्द हुँदा साझा पुरस्कार नदिने अवस्था आउँदा कसैले नदेखेको तर अहिले आफूले राम्रो काम गर्दा सबैले खेदेकोमा दुखेसो पोखे। उनले भने, 'राज्यको पैसा दुरूपयोग भयो भन्ने प्रमाण देखाए जस्तोसुकै सजाय भोग्न तयार छु। कसैलाई पैसा बाँडेको प्रमाणित गरे म साझा जान्नँ, घर जान्छु र सजाय भोग्छु।'

आफूमाथि लागेका आरोपका सबै कुराको जवाफ दिन तयार रहेको र प्रमाण चाहिए साझाको कार्यालयमा आउन भन्दै कतिपय प्रश्नको भने उनले जवाफ दिएनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.