|

चितवन : नेपाली कांग्रेसका नेता तथा पूर्व–मन्त्री अर्जुन नरसिंह केसीले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९को चुनावी प्रक्रियामा पार्टीको निर्णयअनुसार अघि बढ्न कार्यकर्तालाई निर्देशन दिएका छन्। चितवनको भरतपुर विमानस्थलमा सोमबार प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार भेटघाटका क्रममा उनले पार्टीको निर्णयअनुसार परिचालित हुन कार्यकर्तालाई आग्रह गरे।

उनले लोकतान्त्रिक पार्टीमा केही मतभेदहरु हुने भए पनि पार्टीको संस्थागत निर्णय भएपछि सोहीअनुसार सबै चल्नुपर्ने धारणा व्यक्त गरे। व्यक्तिगत भेटघाटको सिलसिलामा चितवन आएका उनले पत्रकारबीच भने, ‘भर्खरै सर्वाेच्चको निर्णय आएको छ, निर्णयलाई सबैले शिरोधार्य गरेर अघि बढ्नुपर्छ, नेपाली कांग्रेस स्वतन्त्र न्यायपालिकाको पक्षमा छ।’

इतिहासदेखि नै संघर्ष गर्दै आएको कांग्रेस लोकतान्त्रिक अवधारणालाई आत्मसाथ गर्ने पार्टी भएको उनले जिकिर गरे। उनले एमालेलाई सहजीकरण गर्न र माओवादीलाई शान्तिपूर्ण तथा लोकतान्त्रिक प्रक्रियामा ल्याउन कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको बताए।

पार्टीको आन्तरिक कुरा खोतल्दै उनले भने, ‘कमजोरीलाई विष्लेषण गरेर सुधार्नुपर्छ, अहिलेको हारबाट चिन्तन गरेर अगाडि बढ्न सक्नुपर्छ।’ अझै २ वटा निर्वाचन बाँकी रहेकाले पार्टीको एकता मजबुद पार्नुपर्नेमा उनले जोड दिए।

कांग्रेसभित्र एकता र अनुशासनमा चुनौती रहेको भन्दै उनले जिम्मेवार बन्न नेता तथा कार्यकर्तालाई आग्रहसमेत गरे।  ‘व्यक्ति व्यक्तिका असन्तुष्टिहरु हुन सक्छन्, कसैले भड्काएर भड्किनु हुन्न, गुट उपगुटको अन्त्यका लागि पार्टीलाई अनुशासित गर्नुपर्छ,’ नेता केसीले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.