|

सुर्खेत : सडक डिभिजन कार्यालय सुर्खेतले कामै नगरी सडक निर्माणको लागि एक ठेकेदार कम्पनीलाई पूरै रकम भुक्तानी दिएको छ। वीरेन्द्रनगर ७ स्थित रेडियो भेरी भवनको पश्चिमतर्फको ठाडो र तेर्सो बाटोको नाली बनाउने कामै नगरी सडक डिभिजन कार्यालयले ठेकेदार कम्पनीलाई पूरै रकम भुक्तानी दिएको हो।

कार्यालयले ठेकेदारलाई काम नै नगरी १ लाख ७३ हजार रुपैयाँ भुक्तानी दिएको छ । कुल ३ लाख ५५ हजार ६२४ रुपैयाँमा टेन्डर आह्वान भएको यस नाली बनाउन उत्तरगंगा इन्भेस्टमेन्ट ग्रुपले झन्डै ५० प्रतिशत घटेर १ लाख ७७ हजारमा काम गर्ने सम्झौता गरेको थियो। असार मसान्तभित्रै काम सक्ने गरी सम्झौता गरेको ठेकेदार कम्पनीले नालीमा एउटा ढुंगासमेत राखेको छैन।

 सडक डिभिजन कार्यालयले कामै नगरी, नक्कली बिल भरपाइ बनाएर रकम भुक्तानी गरेको छ। करिब २ सय मिटर सडकको नाली खन्नुपर्नेमा एक मिटर पनि नखनेर भुक्तानी पाएको हो। गत आर्थिक वर्ष पनि सोही सडक निर्माणका लागि बजेट छुट्टाएर ग्राबेलको काम मात्रै भएको थियो।

रकम अर्कै काममा खर्च गरेका हौं : सडक डिभिजन प्रमुख

यता, सडक सडक डिभिजन कार्यालय सुर्खेतका कार्यालय प्रमुख बेलबहादुर भुजेलले उक्त रकम अन्यत्रै ठाँउको काममा खर्च भएको बताएका छन्। भुजलले वीरेन्द्रनगरकै इत्राम स्कुलदेखि पश्चिमतर्फको बाटोमा काम गरिएको भन्दै, पश्चिम तर्फको बाटो खनिएकाले उक्त क्षेत्रमा काम गरिएको दाबी गरे।

यता, समयमै योजनाहरु सम्पन्न गर्न नसकदा गत आर्थिक वर्षमा सडक डिभिजन कार्यालय सुर्खेतको ३० करोड ९५ लाख ७५ हजार रुपैयाँ बजेट फ्रिज भएको छ। कार्यालयको १ अर्ब ९० करोड ७७ लाख बजेटमा १ अर्ब ५९ करोड ८१ लाख मात्रै खर्च भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.