|

  • रमेश पराजुली-

सिन्धुपाल्चोकः ०७२ बैशाख १२ गते, उनी बस्दै आएको घर निमेषमै ढल्यो। घर मात्र ढलेन, उनी बस्दै आएको थातथलो नै गुमाउन बाध्य भए। बैशाख १२ को विनाशकारी भूकम्पपछि उनी बस्दै आएको बस्ती चिरिन थाल्यो। बस्ने घर भत्किएको पीडामा त छँदै थिए, बस्ती नै चिरिन थालेपछि पहिरो जाने डरले आफ्नो पुरानो बस्ती नै छाड्न बाध्य भए उनी। उनी अर्थात् सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका १ सिम्पालकाभ्रेका बुद्धिमान भुजेलको जीवन यसरी नै गुज्रँदै छ, टालेको जस्तापाताको टहरामा।  

अहिले उनलाई घरको जग बसाउने चिन्ताले सताउन थालेको छ। ‘घरको जग बसाउने जग्गा छैन। भएको सबै पहिरोमा परेको छ’, उनी भन्छन्, ‘पहिले भएको जग्गा पहिरोमा परिहाल्यो, अहिले सरकारले जग्गाको व्यवस्थापन गर्न सकेको छैन।’  

भूकम्पछि चिरा परेको ठाउँ बग्न थालेपछि वर्षाको समय सुरु हुनासाथ अलिअलि बाँकी रहेका जग्गामा खेती लगाउन जान पनि मुस्किल परेको उनी बताउँछन्। पहिरोमा बिस्थापित भएपछि उनी अहिले नवलपुरको बुद्ध सामुदायिक वनमा बस्दै आएका छन्।

‘भूकम्प गएको केही दिनबाटै हामी बस्ने ठाउँ खोज्दै यहाँ आइपुगेका हौँ’, भुजेलले भने, ‘अहिले पटक पटक हामीलाई वनबाट निकाल्ने कुरा उठेको छ, हामी कहाँ जाऔँ?’

उनी बस्दै आएको थातथलो कति पहिरोमा परिणत भइसक्यो, कति पहिरोको जोखिममा छ। ‘सरकारले हामीलाई घरको जग राख्ने व्यवस्था तत्काल गराउनपर्छ’, उनकी श्रीमती शान्ता भुजेलले भनिन्, ‘कि त सरकारले आएर हाम्रो त्यो ठाउँलाई बस्नयोग्य रहेका बताउन सक्नुपर्छ, होइन भने हामीलाई अन्यन्त्र व्यवस्था गराउनपर्‍यो।’

सरकारका तर्फबाट उपलब्ध गराएको पहिलो किस्ताको रकम लिएको भए पनि जग्गाको अभावले घरको जग बसाउन सकेका छैनन् उनीहरुले। ‘दुई वर्षा र दुई हिउँद त यही टहरामा काटियो, अहिलेको वर्षा पनि यही टहरामा कट्यो’, गहभरि आँसु पार्दै शान्ताले भनिन्, ‘अब न घरको जग राख्न जग्गा बाँकी रहेको छ, न त लिने आश्रय नै।’

श्रीमान श्रीमती मात्र रहेका र यस्तो वृद्ध उमेरमा अब कहाँ आश्रय लिन जाने भन्ने उनीहरुलाई चिन्ता छ। ‘आफ्ना न छोराछोरी छन्, न त अन्य कोही आफन्त’, उनले भनिन्, ‘बाँकी जिन्दगी पो के गरी बिताउनु?’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.