|

एजेन्सी : ब्राजिली कप्तान नेमार लामो समयदेखि फ्रेन्च क्लब पेरिस सेन्ट जर्माइन जाने चर्चा चलिरहेको छ। तर, यस विषयमा उनको क्लब बार्सिलोना र पेरिस सेन्ट जर्माइन (पिएजसी) ले मुख खोलेका छैनन्।

यद्यपि, नेमार अब भने पिएसजी जाने पक्का भएको विभिन्‍न सञ्चारमाध्यमहरुले जनाएका छन्। कतारी सञ्चारमाध्यमको हवाला दिँदै बेलायती अनलाइन द सन डट को डट युकेले नेमार यसैसाता मेडिकल टेस्टका लागि फ्रान्सको राजधानी जाने समाचार प्रकाशित गरेको छ।

उनी विश्व कीर्तिमानी रकम २ सय २२ मिलियन युरोमा पिएसजीमा आबद्ध हुने बताइएको छ। यो रकम गत वर्ष म्यानचेस्टर युनाइटेडले पाउल पोग्बालाई युभेन्टसबाट ल्याउने क्रममा खर्चिएभन्दा दुई गुणा बढी हो।

नेमार आफ्नो प्रवर्द्धनात्मक टुरका क्रममा चीन जाँदै छन्। त्यसपछि फर्कने क्रममा उनी कतारमा केही समय रोकिनेछन्। त्यहाँ उनले पिएसजीका अध्यक्ष नसिर अल खिलाइफीसँग भेट्ने कार्यक्रम रहेको समाचारमा जनाइएको छ।

Neymar is due to undergo a medical at Paris Saint-Germain this week

कतारी पत्रिका अल वाटनले २५ वर्षीय नेमारले कतारकै एसपिटर मेडिकल सेन्टरमा मेडिकल टेस्ट गर्ने समाचार छापेको छ।

यस्तो हुनेछ नेमारको सम्झौता

नेइमारले कसरी सम्झौता गर्दै छन् ? यस विषयमा पनि धेरैलाई चासो छ।  स्पेनिस सञ्चारमाध्यम मुन्डो डिपोर्टिभोको समाचारमा उल्लेख भएअनुसार कतार स्पोर्टस् इन्भेस्टमेन्टले नेमारसामु २ सय ७० मिलियन पाउन्ड (झन्डै३ सय १  मिलियन युरो) को प्रस्ताव अघि सारेको छ। फ्रेन्च क्लब पिएसजी अहिले यही कम्पनीको स्वामित्वमा छ।

यस सम्झौतामा बार्सिलोनालाई तिर्नुपर्ने २ सय २२ मिलियन युरोसँगै उनले कतारमा आयोजना हुने सन् २०२२ को विश्‍वकपमा ब्रान्ड एम्बेसडर बनेबापत प्राप्त गर्ने ७९ मिलियन युरो समावेश छ।  

Spanish daily Sport claim Neymar is set to join Paris Saint-Germainनेमारले प्रति वर्ष ५४ मिलियन ( झन्डै ६० मिलियन युरो) का दरले सम्झौता गर्नेछन्।  युरोपेली फुटबल महासंघले खेलाडी किनबेचका क्रममा बढ्दै गएको चर्को आर्थिक चलखेल रोक्नका लागि क्लबहरुलाई फाइनान्सियल फेयर प्लेको नियममा बाँधेको छ। त्यसैले नियमअनुसार पिएसजीले नेमारको स्थानान्तरण रकम तिर्न सक्दैन।

यस्तो अवस्थामा नयाँ सम्झौतापछि नेमार आफैंले बार्सिलोनालाई आफ्नो स्थानान्तरणका लागि तोकिएको रकम  बुझाउने सम्झौता गर्नेछन्। त्यसपछि पिएसजी आउनेछन्।

यसबाहेक पिएसजीले नेमारका लागि खर्चनुपर्ने ठूलो धनराशि जोगाउन आफ्ना खेलाडीलाई बार्सिलोना पठाउने सम्भवनाको ढोकासमेत खुला राखेको छ। बार्सिलोना तयार भएमा एन्जेल डी मारिया, लुकास माउरा र ब्लेसी माटुडीमध्ये एकलाई बार्सिलोना पठाउने पिएसजीको योजना छ। 

अगस्ट १ सम्म नेमार बार्सिलोनाको खेलाडी रहिरहेको खण्डमा पुरानो सम्झौताअनुसार नेमारका बाबुले समेत यस रकमबाट केही कमिसन पाउनेछन् । नेमारका बाबु नेमार सिनियर उनका एजेन्ट हुन्।

Neymar inspired Barcelona to an epic comeback against Paris Saint-Germain last season

सहकर्मी खेलाडीको प्रयास असफल

लियोनल मेसी, आन्द्रेस इनिस्टा, लुइस सुआरेज, जेरार्ड पिकेलगायत बार्सिलोनाका खेलाडीहरुले नेमारलाई क्लबमा बस्‍नका लागि सक्दो मनाउने प्रयास गरेका थिए। यसअघि, गत साता अमेरिकाको न्यु जर्सीमा प्रिसिजन टुरअन्तर्गत युभेन्टस विरुद्धको खेलअघि नेमारसँग टोलीका खेलाडीहरुले लामो छलफल गरेका थिए। नेमारलाई आफ्नो करियरलाई समेत ध्यानमा राखेर बार्सिलोनामै बस्‍न उनीहरुको सुझाव थियो। तर, नेमारले टेरेनन्।  

शनिबार मियामी इल क्लासिकोका दौरान नेमारले बार्सिलोना छाड्ने संकेत गरेका थिए। उनले खेलअघि आफ्नो प्रतिद्वन्द्वी क्लब रियल म्याड्रिडको ड्रेसिङ रुममा १५ मिनेट बिताएका थिए। त्यसक्रममा उनले विपक्षी खेलाडीहरुसँग बिदा मागेको विभिन्‍न सञ्चारमाध्यममा समाचार छापिएको छ।

बार्सिलोनाले रियल म्याड्रिडलाई ३–२ ले हराएको उक्त खेलपछि नेमारले मैदानमा ढोगेर समर्थकहरुलाई अभिवादन गरेका थिए। यो खेल बार्सिलोनाको जर्सीमा नेमारको अन्तिम खेल रहेको चर्चा छ।

नेमारको यात्रा

नेमारको जन्म सन् १९९२ मा साओ पाओलोस्थित मोगी दास क्रुजेसमा भएको थियो। ७ वर्षको उमेरमा उनले स्थानीय क्लब पोर्चुगेसा सानटिस्टाबाट खेल्न थालेका थिए। ११ वर्षमा उनी सान्तोष आए।

१७ वर्षको उमेरमा नेमारले सान्तोषको सिनियर टोलीबाट डेब्यु गरे। आफ्नो व्यावसायिक करिअरको पहिलो सिजन उनले १४ गोल गरे। नेमार १८ वर्षको छँदा सान्तोषले ब्राजिलको लिग फुटबल जित्यो। दक्षिण अमेरिको वर्ष फुटबलरको अवार्डमा उनी तेस्रो भए। सन् २०११ मा फाइनलमा पेनारोललाई हराएर सान्तोषले दक्षिण अमेरिकाको सबैभन्दा ठूलो क्लब फुटबल कोपा लिबर्टाडोरेस जित्यो।

फाइनलमा उत्कृष्ट खेलेका नेमार म्यान अफ दी म्याच घोषित भए। सन् १९६३ मा पेलेसहितको सान्तोषले यो उपाधि जितेयता कुनै पनि ब्राजिली क्लबले दक्षिण अमेरिकाको सबैभन्दा ठूलो उपाधि जितेका थिएनन्।

उनले सन् २०१३ मा सान्तोष छाडे। सान्तोषमा २ सय २५ खेल खेल्दै उनले १ सय १६ गोल गरेका थिए। बार्सिलोना आउँदा नेमार केवल २१ वर्षका थिए।

नेमारलाई ल्याउँदा कर छली गरेको आरोप बार्सिलोनाका अध्यक्ष जोसेप बार्टोमिउमाथि लाग्दै आएको छ। उनी ४० मिलियन युरोमा बार्सिलोना आएको भए पनि स्थानान्तरण रकम कम देखाइएको थियो।

बार्सिलोनामा ५ वर्ष बिताउने क्रममा नेमारले २ पटक ला-लिगा, ३ पटक कोपा डेल रे र १\१ अवसरमा क्लब विश्वकप तथा च्याम्पियन्स लिग जितेका छन्।

उनले बार्सिलोनाबाट १ सय ८६ खेलमा १ सय ५ गोल गरेका छन्। ५९ पटक गोलका लागि अवसर सिर्जना गरिदिएका छन्। १८ वर्षको उमेरमै ब्राजिलको राष्ट्रिय जर्सी पहिरिएका नेमारले ५२ खेल खेल्दै ७७ गोल गरेका छन्। उनी सन् २०१५ देखि ब्राजिलको नियमित कप्तान छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.