|

काठमाडौँ: कविताको लयमा हातका औँला जसै हावामा हल्लाउँछन्, उसै गरी सुन्नेका मुटुका धड्कनमा असन्तुलन आउँछ। हावाको माध्यम भएर श्रोताका कानसम्म शब्द आइपुग्दा कहिले आखाँ रसाउँछन् त कहिले ओठ मुस्कुराउँछन्। जे होस्, उनका कविताले श्रोतालाई बाँधेर राख्छन्।

शब्द शब्दको काव्यिक सिक्री र वाचनको लयमा बाँधिन्छन् सुन्नेहरू। अर्थात्, उनले कवितामार्फत् कम्पन ल्याउँछन्। र त उनी 'सेलिब्रेटी' बनेका छन्। एक कवि सेलिब्रेटी!

उनी अर्थात् कवि नवराज पराजुली। पराजुलीको पहिलो कवितासंग्रह 'सगरमाथाको गहिराइ'ले पाठकलाई कवितातिर तानेको छ साथै कविताका नयाँ पाठक पनि जन्माएको छ। यो नेपाली साहित्यका दुई ठूला पुरस्कार मदन पुरस्कार र पद्मश्री साहित्य पुरस्कार मनोनयनको श्रेष्ठ सूचीमा परेको नवराजको पहिलो कवितासंग्रह हो।

'सगरमाथाको गहिराइ'मार्फत पाठक, श्रोताका मनमा डुबुल्की मार्ने कवितायात्राको सुरुवात कवि मनु मञ्जिलको एकल कवितावाचन भएको थियो।

कवितामा 'टर्निङ प्वाइन्ट'

गाउँले एक बालक सम्झेर

म चाहन्छु-
भेटिँदा बालकसँगै भेटियोस् मुस्कान
भेटिँदा फूलसँगै भेटियोस् वसन्त।

मानौँ, सोधियो कि उसका बाबु कहाँ छन्?
बालकले सानो औँलाले देखाओस्
चौताराभरि बसेर हाँसिरहेका मानिस
र भनोस् त्यहाँको यौटा हाँसो उसको घरको हो।

मानौँ, सोधियो कि उसकी आमा कहाँ छन्?
बालकले सानो औँलाले देखाओस्
पाखाभरिको गुराँस
र भनोस् त्यहाँको यौटा रङ उसको आफ्नो हो। …

तर कसै गरी बिन्ती बालकले
नदेखाओस् आफ्नै आँखाको आँसु
नदेखाओस् औँलाले टाढाको रित्तो क्षितिज
वा भर्खरै जून अस्ताएको डाँडो
बाबुआमाको ठेगाना भनेर।

पुरानो बानेश्वरस्थित गुरुकुल नाटकघरमा कवितावाचन गरिरहेका थिए कवि मनु मञ्जिल। २०६८ सालको त्यो कविता वाचनको श्रोता दीर्घामा बसेकामध्ये एक जना नवराज पराजुली पनि थिए। झापाबाट स्नातकोत्तर पढ्न कीर्तिपुर आएका उनी शहरमा चर्चित कवि मञ्जुलको कवितावाचन छ भन्ने सुनेर गुरुकुल पुगेका थिए।

झुस्स दाह्री पालेका नवराजले बानेश्वरस्थित थाहाखबरको कार्यालयमा आफ्नो कवितायात्राबारे सुनाउन लाग्दा मनु मञ्जिलको कविताका यिनै लाइन सम्झिए। उक्त कवितावाचनले झापामा बाल्यकालमा भेटिएको 'खैरेले जस्तै अंग्रेजी खरर्र बोल्न सक्ने' बन्ने सपना बोकेर आएका नवराजलाई कविताको बाटोमा हिँडायो। गुरुकुलमा कविता सुन्दा शरीरमा आएको उभार सम्झिए, 'त्यो सुन्दा म त ट्वाँ परेछु, यस्तो अद्भुत चिज पनि हुनेरहेछ भन्ने भयो।'

नवराजको बाल्यकाल झापाको गाउँमै बित्यो। त्यहाँ साहित्यिक पुस्तक पुग्दैनथे। बीएडका विद्यार्थी नवराजको मन बीएका साहित्यिक किताबले तानिरहे। उनले बीएको कोर्सका किताबहरू पढे। उनी अंग्रेजी कविता र कथा पढ्थे। त्यसको उद्देश्य भने साहित्यबारे जान्नुभन्दा पनि उनको अंग्रेजी भाषाप्रतिको मोह थियो। नेपाली कविता र साहित्यिक पुस्तकमा मन बसेको थिएन।

झापामै पढिरहेका बेला नवराजको गाउँमा फ्रान्सेली पर्यटक आए। अंग्रेजीको मायाजालमा परेका नवराजलाई त्यो 'खैरे'को अंग्रेजी लवज अद्भुत लाग्यो।अंग्रेजीप्रतिको मोह झन बढ्यो। 'यस्तै अंग्रेजी बोल्न सिके हुन्थ्यो' भन्ने लागिरह्यो। त्यो प्रेमले उनलाई कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय पुर्‍यायो। स्नातकोत्तर पढिसक्दासम्म 'अक्सफोर्ड डिक्सनरी' सिरानी बनिरह्यो उनको।

राजधानी छिरेर अंग्रेजी मोहमै चुर्लुम्म डुबेका नवराजलाई राजधानीमा हुने साहित्यिक कार्यक्रमले खासै तानेनन्। यसरी नाम सुनिरहेको कवि मनु मञ्जुलको कवितावाचनको सूचनाले भने उनलाई तान्यो र गुरुकुल पुर्‍यायो। त्यो कवितावाचनको प्रभाव स्वरूप उनी कवि बने। 'मनु मञ्जिलको त्यो कविता सुनेपछि अंग्रेजीप्रतिको प्रेम रहेन। ब्रेकअप नै त भएन तर कवितासँग प्रेम भयो', पराजुलीले भने।

त्यो कार्यक्रममा नगएको भए के हुन्थेँ भन्नेमा नवराज अहिले पनि ठम्याउन सक्दैनन्। उनमा अंग्रेजी प्रेम त थियो तर त्यसले भेट्ने लक्ष्य यकिन थिएन। बरु कविताले उनलाई पगाल्यो। 'मसँग कविताको मैन पहिले थियो, कविता सुनेपछि बल्यो', उनले भने।

छोटा कविताका गहिरा कथा

रुढीवादले गालिएको नेपाली समाजमा हरेक दिनजसो केही न केही घटनाका समाचार आइरहेकै हुन्छन्। त्यसमा महिलामाथि हुने हिंसाका घटना अग्रस्थानमा हुन्छन्। बोक्सीको आरोपमा जलाइने महिलाबारे हुन् या छाउगोठमा बलात्कृत हुने अथवा त्यहाँ हुने मृत्यु। सुन्दर सपना बोकेर वैदेशिक रोजगारीमा गएका युवा दैनिकजसो काठका बाकसमा लाश भएर ल्याइएका हुन्छन्। यी कुरा समाचारसम्म बन्न छोडेका छन् तर, नवराजलाई भने यी कुराले विचलित पार्नेरहेछ।

देख्दै, भोग्दै आएका समाजका यी घटनाले आफूलाई अधीर बनाउने बताउँछन्। उनी भन्छन्, ‘कसैगरी कवितामार्फत बाहिर ल्याइनँ भने बिसञ्चो होला भन्ने बनाउँछन् यी घटनाले।’ यिनै घटनाका ससाना कुरा केलाएर उनी पाठकको मन छुने अनि आँखा रसाउने कविता रचना गर्छन्।

'सगरमाथाको गहिराइ' कवितासंग्रहका ‘सतीदेवीको गाण्डिव’, ‘ब्रह्माजीको रजश्वला’, ‘सगरमाथाको गहिराइ’, ‘सिमाना’, ‘प्रहरी’, ‘लोकसेवा’लगायत कविता यस्तै दैनन्दिन भइरहेका घटना केलाउँदाका उपज हुन्। यी छोटा कविताका पछाडि पराजुलीका दिमागमा लामालामा वास्तविक कथा छन्।

कविताभित्रका वास्तविक कथा

'सतीदेवीको गाण्डिव' उनको एउटा कविता हो, 'सगरमाथाको गहिराइ' कृतिमा संगृहीत कविता। नवराज कवि भएकोले यो कविता बनेको हो, यदि उनी कथाकार भए कथा र उपन्यासकार भए उपन्यास बन्थ्यो। त्योभन्दा माथि नवराज जीवनी लेखक हुन्थे भने यो सतीदेवीको जीवनी हुन्थ्यो। उनको कवि मनले सतीदेवीको वास्तविकतालाई कविताका शब्दद्वारा व्याख्या गर्‍यो।

कुनै घटना कवितामा उन्छन् नवराज। ती घटनाले आफ्नो मन पग्लिए मात्र त्यसलाई कविताको रूप दिएर पाठक, श्रोताको मन पग्लिने बनाउँछन्। त्यस्तै कविता हो, 'सतीदेवीको गाण्डिव'। मसिनो स्वरमा उनी कविताको कथा सुनाउँछन्।

एक साँझ बीबीसी नेपाली सेवा सुनिरहेका थिए नवराज। एक हाइलाइट्स बज्यो, ‘दाइजो नल्याएको भन्दै सासु र श्रीमानले गर्भवती महिलालाई मट्टितेल हालेर आगो लगाए।’ हाइलाइट्सले ल्याएको बेचैनी अहिले पनि नवराजको अनुहारमा देख्न सकिन्छ। उनले भने, 'म त्यो रिपोर्ट सुन्न बसेँ। गर्भवती महिलालाई आगो लगाइएको सुनेर रातभर छटपटी भयो। मलाई नराम्ररी हान्यो।’

'मेरो हातमा अधिकार हुन्थ्यो भने त्यो आक्रोश र पीडाको बदला त्यो श्रीमान र सासुलाई कारबाही गरेर शान्त पार्थें तर त्यो अधिकार थिएन', एक आक्रोश मिश्रित बोली फुट्छ नवराजको मुखबाट। त्यो आक्रोश र छटपटीले निकास मागेको थियो। उनको हातमा कानुन थिएन, थियो त कलम र कविता कोर्ने शब्दशिल्प। त्यो रात उनी सुत्नै नसकेको बताउँछन्। रातको अन्तिम प्रहरमा ‘सतीदेवीको गाण्डिव’ जन्मियो।

कुराकानीका क्रममा पीडाबोध र आक्रोश मिश्रित भाव अनुहार तैरिइरहँदा उनले भने, ‘मनमा धेरै कुरा खेले। म म रहिनँ, ती नारीजस्तो भएँ। मभित्र पीडा, आक्रोश थियो। त्योमार्फत मैले केही भन्नु थियो।' कवितामा पनि रिसाएको हो कि दुखी भएको हो भन्ने देखिने उनले बताए।

सतीदेवीको गाण्डिव

जब दन्कियो आगो मेरो आँतमा

सबै जल्यो केवल बाँकी रह्यो मेरो आत्मा

लिएर त्यही आत्मा

यो जून जलेको रातमा

आज म

मेरा पति बस्ने बधशालाको आँगनमा उभिएकी छु

अनि बजाएर भीमको पौण्ड्र

म लल्कारिरहेकी छु

भीम जस्तै बलिया मेरा श्रीमानलाई।

०००

समाजका घटनाले आफूलाई कविता लेख्न लगाउने नवराजको भनाइ छ। उनी भन्छन्, ‘कविता मैले लेखेको होइन, मद्वारा लेखिएका हुन्। मैले चाहेर लेख्ने भए त महिनैपिच्छे किताब निकाल्या निकाल्यै गर्थें होला।’

यसरी नवराजद्वारा लेखिएको कविता हो, ‘ब्रह्माजीको रवश्वला’, जसको माध्यमबाट उनी हामी बाँचिरहेको समयमा हाम्रो नजिकै भइरहेको विभेदको कथाविरुद्ध आक्रोश बोल्छन्, मुटुमा हान्नेगरी।

‘जुन कारणले सृष्टि संभव छ, त्यो हो, महिला रजश्वला हुनु। जुन कारणले म संभव छुं, त्यही भएको कारण महिलाको सृष्टि जोखिममा छ’, छाउगोठमा जीवन बिताउन बाध्य महिलाहरूको विवशताबारेको बोल हो यो, नवराजको, जुन ‘ब्रह्माजीको रवश्वला’ कवितामा उनेका छन्।

परम्परादेखि चलिआएको कुरीतिमाथि प्रश्न गर्दै छाउगोठ जान अश्वीकार गर्ने र सृष्टिका सर्जक भनिएका ब्रह्मालाई औँलो ठड्याउने युवतीको चित्कार हो, ‘ब्रह्माजीको रवश्वला’ कविता। यो कविता तयार पार्न नवराजले छाउपडी बार्न बाध्य महिलाका अनुभव सुनेको र अन्य अनुसन्धान गरेको बताए।

उनी कवितामा कोमल र साना कुरा गर्न मनपराउँछन्। कविता कोमल कुरा हो, सानो कुरा हो भन्ने उनको बुझाइ छ। तिनै कोमल र साना कुराले ठूला कुरा भन्छन् भन्ने उनको बुझाइ छ। कवितामा ठूला र गह्रुङ्गा कुरा हुनुहुँदैन भन्ने उनलाई लाग्दोरहेछ।

काठमाडौँको व्ययस्तताले नवराजलाई छाउगोठमा गएर हेर्न भने संभव भएन। कविता लेख्न उनी घटना भएको ठाउँमा नै गएको भए झन् राम्रा र फरक खाले कविता आउँथे भन्ने उनको धारणा छ। ‘म घटना भएको ठाउँमा गएँ भने झन् राम्रो कविता आउँछ भन्ने लाग्छ। छाउगोठका प्वालमा कमिला हिँडेको पनि देख्न पाउँथे', उनी भन्छन्, 'सतीदेवीको गान्डीव पनि पीडितलाई नै भेटेर लेख्न चाहन्थे। हरेक कविता म सम्बन्धित ठाउँमा गएरै लेख्न चाहान्छु।'

आफूले, आफन्तले र देशले भोगिरहेका वास्तविकता 'प्रहरी', 'लोकसेवा', 'सिमाना' 'सगरमाथाको गहिराइ' कवितामा पनि उतारेका छन् पराजुलीले।

कविताको तरंग जोगाउन

नवराज कविता तरंग तरंगमा आउने बताउँछन्। सिंगो रूप दिमागमा आउँदैन भन्ने उनको बुझाइ छ। एउटा कविताले पूर्ण आकार लिन कविको मात्र संलग्नता नहुने उनको तर्क छ। एक्लै कविता लेख्न बस्दा एक्लो भएको अनुभव नहुने उनी बताउँछन्।

कविता अक्षरमा सीमित नभएर 'विश्वव्यापी' हुन्छ भन्ने उनको धारणा छ। उनी आफूलाई झैँ धेरै कविहरूलाई 'लेखेर छोडिसक्दा र पढ्दाखेरि आफू छुट्टै मान्छे हो' लाग्छ होला भन्ने लाग्दोरहेछ।

संग्रहमा रहेका आफूलाई 'प्रिय लाग्ने कविता' ०७३ सालका ३ महिनामा लेखिएको बताउँछन् नवराज। त्यो पनि काठमाडौँबाट मोटरसाइकलमा झापा जाने क्रममा। त्यतिबेला कविता बोल्दै हिँडे। पछि घर आएर सार्दा प्रिय कविताको संग्रह नै तयार भइसकेको उनले बताए, जुन अहिले 'सगरमाथाको गहिराइ'को रूपमा चर्चित छ। उनी भन्छन्, 'मेरो दिमागमा कविता झुप्पाझुप्पामा आउँछन्, पहिला लेख्छु भन्थेँ, बिर्सिन्थेँ तर होइन, रेकर्ड गर्नुपर्ने रहेछ भनेर अहिले रेकर्ड गर्छु।'

त्यसरी बाटोघाटोमा हिँडिरहँदा दिमागमा फुर्ने कवितालाई जोगाउन र निखार्न आफ्नो सम्पूर्ण शक्ति लगाउने नवराज बताउँछन्। उनी भन्छन्, 'कतै जाँदा कविता फुर्‍यो भने म आफूलाई त्यही फेजमा राखिरहन्छु। अरू कुराले डिस्टर्ब नगरोस् भन्नेमा सचेत हुन्छु।' यसले उन्नत कवितामा आउने उनको अनुभव छ।

कहिले स्कुल पढाउन जाने बेला नवराजको दिमागमा कविता फुर्छ। कीर्तिपुरबाट स्कुल जान भनेर हिँडेका उनको दिमागमा कविता फुर्‍यो भने उनी स्कुलमा फोन गर्छन्, 'मेरो इमर्जेन्सी पर्‍यो र आउन नसक्ने भएँ।' यसरी कविता जोगाउन धेरैचोटि झूट बोलेको उनी बताउँछन्।

'के भयो सर' भन्यो भने उनी भनिदिन्छन्, 'सञ्चो भएन।' धेरैजसो 'टाउको दुख्यो' भन्ने बहाना बनाउँछन्। यस्तो बेलामा कसैलाई भेट्यो भने त्यो तरंग टुट्छ भन्ने विश्वास हो उनको। उनी त्यो तरंगलाई बचाएर टियूको जंगल, कीर्तिपुरमाथिका डाँडा जाने र आफैँसँग कुरा गर्ने गर्छन्। अरू कवि पनि यस्तो गर्छन् भन्ने उनले सुनेका रहेछन्। उनी भन्छन्, 'एउटा तरंगमा मात्रै कविता लेख्न सकिन्छ भन्ने लाग्छ।' 

युवा पाठकका 'मनपसन्द' लाइन

नवराज पराजुलीले विगत दुई/तीन वर्षदेखि नै फ्यान कमाउन थालेका थिए। सामाजिक सञ्जाल र यूट्युवमा उनका कवितावाचनका भिडियोले 'हिट्स' बटुल्न थालेका थिए। गत बैशाख १८ मा उनको कवितासंग्रह 'सगरमाथाको गहिराइ' सार्वजनिक भयो। त्यसपछि उनका फ्यानहरूको संख्या बढ्दै गएको छ। उनी अहिले देश र विदेशका विभिन्न ठाउँमा कवितावाचन कन्सर्ट गरिरहेका छन्।

सामाजिक सञ्जाल र मोबाइल मेसेजमा नवराजका कविताका लाइनहरू आउने गरेका छन्।

 ‘धूलोमा श्वास फेरिरहेका

ती जोडी पैतालाका डोबमध्ये

बुट्टा बिग्रिएको जुन पैतला छ

त्यो मेरो हो।’

उसो त, यी प‌ंक्ति नवराज आफैँलाई पनि मनपरेका पंक्ति हुन्। उनलाई मनपर्ने यस्तै पंक्तिहरू धेरै छन्। यिनै 'मनपसन्द' पंक्ति पाठकबाट प्राप्त गरिरहेका छन् उनी। उनी भन्छन्- 'कविता कस्ता लागे भन्ने भन्दा पनि पाठक मनपरेका कविताका पंक्ति पठाउँछन्।' गाढा नीलो अक्षरमा सजिएको कवितासंग्रहका कविता युवाहरूलाई बढी मनपरेको उनको अनुभव छ।

राती रक्सीको मातमा युवाहरू भन्छन्, 'दाइ, तपाईंको 'च्याउ' कविता सुन्दै छौँ हामी। यो कविताले एकदमै छोयो हान्यो र नम्बर पाएर फोन गरेको।' यसरी नै मोबाइलमा फोन गरेर फ्यानहरूले कविताका लाइनहरू सुनाउने गरेको नवराज बताउँछन्।

यो विगत पाँच वर्षयताका कवितामा लागेको फल रहेको नवराजको भनाइ छ। 'पटक पटक पर्खाइरह्यो। किस्ताकिस्तामा पर्खाइ रह्यो। ढिलो भयो, त्यही भएर पनि मजा, भन्छन् नि- सब्रका फल मीठा होता है।'

हो, पहिलो कवितासंग्रहले नै नवराजलाई मीठो फल दिइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.