|

दमक : झापाको बिर्तामोडस्थित इलाका प्रहरी कार्यालय अनारमनीले कर्तव्य ज्यान मुद्दामा १६ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरेको छ। २०५८ फागुन २६ गते खुदुनाबारी शरणार्थी शिविर ए २ हट नम्बर ३१ मा बस्ने ५५ वर्षीय भुटानी शरणार्थी शन्त बहादुर अधिकारी क्षेत्रीको हत्या गरी फरार भएका अर्जुनधारा ३ का ३८ वर्षीय भुपेन्द्र भन्ने भिमबहादुर भट्टराईलाई १६ वर्षपछि प्रहरीले पक्राउ गरेको हो।

साउन ११ गते झापाको बिर्तामोडबाट पक्राउ परेका उनलाई आइतबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरको हो। उनले अधिकारीलाई सुखानी खोलामा धारिलो हतियार प्रयोग गरि हत्या गरेको प्रहरीको आरोप छ।

भट्टराईलाई मृतक अधिकारीका दाजु धनबहादुर अधिकारी क्षेत्रीको जाहेरीका आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी केशव थेवेले जानकारी दिए। घटनापछि फरार भट्टराई मलेसिया, कम्बोडिया, भियतनाम लगायत देशहरुमा बसेको र घर आएको समय पारी प्रहरीले बिर्तामोडस्थित मुक्ति चोकबाट पक्राउ गरेको थेवेले बताए। उनलाई झापा जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए।

घटना यसरी भएको थियो

इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार भट्टराईले २०५८ साल फागुन २६ गते राति साढे ९ बजे अधिकारी क्षेत्रीको हत्या गरेका हुन्। भुटानी शरणार्थी अधिकारी क्षेत्री शरणार्थी शिविरका लागि  पानी तान्ने पम्पको चौकीदार काम गर्थे। खुदुनाबारी बजारबाट मदकपदार्थ सेवन गरी आएका भट्टराईले अधिकारी क्षेत्रीलाई खुकुरी प्रहार गरी हत्या गरेको डिएसपी थेवेले बताए।

मादक पदार्थ खाएर घर हिँडेका भट्टराईको राति साढे ९ बजे अधिकारी क्षेत्रीसँग भेट हुन्छ। अधिकारीसँग टर्च थियो। भट्टराईले उक्त टर्च आफूलाई दिन भने तर अधिकारीले मानेनन्। यही विषयमा दुईजनाबीच विवाद भएको थियो। विवादको क्रममा भट्टराईले सुरुमा अधिकारीलाई ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ढुंगा प्रहारपछि भट्टराईले २० मिटर टाढा रहेको सुखानी खोलामा लगेर धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए। उनले अधिकारी क्षेत्रीको टाउको, कुम तथा शरीरका विभिन्न भागमा प्रहार गरेका थिए।

डीएसपी थेवेका अनुसार उनको  हुलिया समेतको आधारमा पहिचान तथा खोजतलास गर्न प्रहरीले विषेश टोली नै गठन गरेको थियो। भट्टराई मलेसियामा पनि ६ वर्ष जेल परेका थिए। मलेसियामा उनले  अवैधानिक होटल चलाएकाले पक्राउ परेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.