|

बैतडी : नेपालकै धेरै बालविवाह हुने तेस्रो जिल्ला बैतडीमा बालविवाह रोकथामका लागि सबै निकाय जोडतोडका साथ लागिपरेका छन्। बालविवाहले विकराल रुप लिएपछि भर्खरै निर्वाचित जनप्रतिनिधिहरुले पनि घरघरमै पुगेर सम्झाई बुझाई गर्ने काम सुरु गरेका छन्।

जिल्लाको पुर्चौडी नगरपालिका वडा नं १ का नवनिवा जनप्रतिनिधिले बालविवाह अन्त्यका लागि घरदैलो अभियान थालेका छन्। वडामा क्रियाशील बालक्लब, महिला समूह, महिला स्वास्थ्य स्वयंसेविकासँगै जनप्रतिनिधि पनि बालविवाह अन्त्यका लागि घरदैलो अभियानमा लागेका हुन्।

बालविवाहले पार्ने असर र बालविवाह गरेमा हुने कानुनी कारबाहीबारे नागरिकलाई जानकारी दिनका लागि घरदैलो अभियान थालिएको पुर्चौडी नगरपालिका वडा नं १ का वडा अध्यक्ष गणेशबहादुर गडालले बताए। ‘बालविवाहले समग्र समाजमा समस्या निम्त्याएको हुदा यसको अन्त्य गर्नैपर्छ,’ उनले भने, यसको अन्त्यका लागि हामीले वडा कार्यसमितिको पहिलो बैठकबाट निर्णयसमेत गरिसकेका छौं।’

वडा अध्यक्ष गडालले बालविवाह मुक्त वडा बनाउने निर्णय कार्यान्वयनका लागि घरदैलो अभियान सञ्चालन गरेको बताए। वडामा रहेका प्रत्येक बस्तीमा पुगेर अन्तरपुस्ता संवाद गरेर बालविवाह अन्त्यका लागि पहल गरिने वडा अध्यक्ष गडालले बताए। ‘घरका बुढापाका र किशोर किशोरीलाई एकैठाउँ राखेर बालविवाहले पार्ने असरबारे बुझाउँछौं,’ उनले भने, ‘यसले बालविवाह अन्त्य हुने हामीले विश्वास लिएका छौं।’

जनप्रतिनिधिको साथ पएिपछि हौसिए अभियान्ता

जनप्रतिनिधिसँगै बालक्बल र महिला समूहका प्रतिनिधिहरुले सो अभियानमा साथ दिएका छन्। प्रत्येक बस्तीमा पुगेर बालविवाह अन्त्यका लागि घरदैलो गरिरहेको नगरस्तरीय बाल सञ्जालका लालबहादुर भण्डारीले बताए। ‘हामीले साविवको हाट गाविसलाई बालविवाह मुक्त बनाउनका लागि पहिलेदेखि नै पहल गरेका थियौं र यसमा नयाँ जनप्रतिनिधि आएपछि हामीलाई थप बल पुगेको छ,’ उनले भने, ‘पुर्चौडीको वडा नं १ लाई बालविवाहमुक्त बनाएर छोड्छौं।’

बालविवाह अन्त्यका लागि सचेतना फैलाइरहेका बाल क्लब र महिला समूहले नगरसरसफाइलाई पनि तीव्रता दिएका छन्। पुर्चाैडी नगरपालिकालाई स्वास्थ्यको नमूना नगरपालिका बनाउने अभियान सञ्चालन गरेको र यसमा बालविवाह अन्त्य गर्नु अनिवार्य भएकाले बालविवाह अन्त्यको अभियान सुरु भएको हाट स्वास्थ्यचौकीका इन्चार्ज विनोदकुमार कुँवरले बताए।

उनले भने, ‘बालविवाहका कारण खासगरी महिलाको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा प्रभाव असर परिरहेको छ, जनप्रतिनिधिले बालविवाह अन्त्यका लागि घरदैलो अभियान सञ्चालन गर्नु निकै स्वागतयोग्य छ।’ उनले थपे, ‘बालविवाह अन्त्यका लागि अब कानुन अनुसार ठोस कार्ययोजना बनाएर जानुको विकल्प छैन।’

बालविवाह अन्त्यका लागि जनप्रतिनिधिहरुले थालेको अभियान निकै सकारात्मक भएको पुर्चौडी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राजेन्द्रबहादुर नेगीले बताए। जनताले मत दिएर चुनेका प्रतिनिधिले घरघरमा गएर आग्रह गरेपछि बालविवाह अन्त्य हुने विश्वास उनले व्यक्त गरे।

बैतडी बालविवाह बढी हुने जिल्लामध्ये पर्ने एक भएकाले बालविवाह न्यूनीकरणका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन्। १४ असारमा भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले पनि बालविवाह अन्त्य गर्ने कुरालाई प्राथमिकतामा राखेका छन्।

धेरैजसो स्थानीय तहका जनप्रतिनिधिहरुले एक वर्षको अवधिमा आफ्ना स्थानीय तहलाई बालविवाहमुक्त बनाउने घोषणासमेत गरेका छन्। बालविवाह महिलाका लागि निकै  घातक बनेकाले यसको अन्त्यका लागि सबै तहका जनप्रतिनिधिबाट प्रतिबद्धता आएको जिल्ला स्वास्थ्य प्रमुख डा. गुणराज अवस्थीले बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.