|

चितवन : मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले भरतपुर वडा नम्बर १९ मा निर्वाचनको मिति तय गर्न मंगलबार अपराह्नका लागि सर्वदलीय बैठक आह्वान गरेको छ। अपराह्न ३ बजेका लागि बैठक बोलाइएको कार्यालयका सहायक मतदान अधिकृत गम्भीर घिमिरेले जानकारी दिए।

‘तीनबजे दलहरुको राय लिन्छौं, त्यसपछि आजसाँझ सम्ममा निर्वाचनको मिति तय हुन्छ, घिमिरेले भने, बीचमा कुनै समस्या नभए निर्वाचनको मिति एकहप्ताभन्दा बढी जान्न।’ निर्वाचन आयोगले शीघ्र मिति तय गरेर निर्वाचन गर्न निर्देशन दिइसकेकाले त्यसको तयारीमा कार्यालय लागिपरेको घिमिरेको भनाइ छ।

उनका अनुसार मंगलबार साँझ नै निर्वाचनको मिति तय गरेर कार्यालयमा सूचना टाँस्ने तयारी गरिएको छ। त्यसपछि कर्मचारीको व्यवस्था गरिने उनको भनाइ छ। सोमबार साँझ निर्वाचनको विषयमा सुरक्षा समितिसँग एकचरणको छलफलसमेत गरिएको थियो। भरतपुर वडा नम्बर १९ मा ३ वटा मतदानस्थलमा ६ वटा मतदान केन्द्र रहेको छ।

यहाँ ३६ जना कर्मचारी आवश्यक पर्ने भएकाले मिति तय भएपछि तत्कालै कर्मचारी छनोट हुने जनाइएको छ। यहाँको किरण मावि किरणगञ्ज मतदानस्थलमा १ हजार २ सय ४८, जीवनज्योति स्कुल गुञ्जानगरमा १ हजार ३ सय ६ र शारदानगर माविमा १ हजार २ सय ४३ गरी कुल ३ हजार ७ सय ९७ मतदाता छन्।

कर्मचारीको व्यवस्थापन मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट हुने र निर्वाचनका लागि आवश्यक सामग्रीको व्यवस्थापन जिल्ला निर्वाचन कर्याालय चितवनबाट हुने जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालको भनाइ छ।

कार्यालय भने आवश्यक पूर्ण तयारीमै रहेको ढकालले जानकारी दिए।१४ जेठ राती मतपत्र च्यातिएपछि विवादित बनेको भरतपुर १९ को विषयमा सर्वाेच्च अदालतले शनिबार निर्वाचन आयोगको निर्णय सदर गर्दै पुनः मतदानको फैसला सुनाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.