|

विराटनगर : लामो समयदेखि बन्द अवस्थामा रहेको विराटनगर जुट मिलको मेसिन तथा पार्टपूर्जाको मर्मत सम्भार सुरु भएको छ।

भारतको औद्योगिक समूह विनसम इन्टरनेशनलले २०७१ असोज १८ गतेदेखि उत्पादन बन्द गरेपछि जुट मिल्स अझै बन्द अवस्थामा छ। विनसमलाई जुट मिल बहालमा दिने बेलामा सरकारले विद्युतको ३३ केभीए प्रसारण लाइन उपलब्ध गराउने र जुट मिलभित्रका भवनलाई कार्यालय र क्वार्टरका लागि प्रयोग गर्न दिने सर्त गरेको थियो। सरकारी सर्त पूरा नभएपछि विनसमले ११ महिना ३ दिनसम्म मिल चलाएर बन्द गरेको हो ।

सरकारले विनसमलाई औपचारिक रूपमै विदा गरेपछि मिल पुनः सञ्चालन गर्ने उद्देश्यले सोमबारदेखि मेसिनहरुको मर्मत गर्ने कार्य सुरु भएको मिलका कार्यकारी निर्देशक राजेन्द्र कार्कीले बताए। जुट मिलमा रहेका केही मेसिनहरुलाई सामान्य मर्मत गरेमा चल्ने अवस्थामा भएपनि ४० प्रतिशत मेसिनहरु खराब भइसकेको पाइएको छ।

जुट मिल सञ्चालनका लागि तयारी सुरु भएसँगै स्थानीयमा उत्साह छाएको छ। उनीहरुमा मिल सञ्चालन भए पनि त्यो निरन्तरता पाउने हो कि हैन भन्ने चिन्ता छ। मिल एरियाका बासिन्दा राजेन्द्र सिंहले जुट मिल बन्द हुँदा परिवार छाडेर रोजगारीका लागि अन्यत्र गएका युवाहरुले अब स्थानीय स्तरमै रोजगारी पाउने आशा बढेको बताए।

यसै वर्षको दशैं तिहारपछि मिल सञ्चालनमा ल्याउने सञ्चालक समितिले बताएको छ। लामो समयदेखि बन्द रहेको मिलमा प्राविधिक टोलीलाई काम गर्न कम्तीमा ७५ दिन लाग्ने अनुमान गरिएको छ। मिल मर्मतमा कम्तीमा १० करोड रुपैयाँ खर्च हुने अनुमान छ। मिल पूर्ण क्षमतामा सञ्चालन गर्दा जुटका सामग्री प्रतिदिन ४५ मेट्रिक टनका दरले उत्पादन गर्न सकिन्छ भने ३ हजार ५ सयले रोजगारी पाउँछन् ।

मिल प्रशासनले पहिलो चरणमा प्रतिदिन १५ देखि २० मेट्रिक टनका दरले जुटका सामग्रीको उत्पादन गर्ने र २ वर्षभित्रमा नयाँ मेसिनहरु ल्याएर दैनिक एक सय टन उत्पादन गर्ने लक्ष्य लिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.