|

ओखलढुंगा : पानी नपरेर रोपाइँ गर्न समस्या भएपछि महिलाले जोतेमा अनिष्ट भएर पानी पर्छ भन्ने आसमा ओखलढुंगावासी महिलाहरुले हलो जोत्न थालेका छन्। यहाँको धार्मिक परम्पराअनुसार महिलाहरुले जोत्नु नहुने र जोतेमा अनिष्ट हुने भएकाले  आफूहरुले जोतेको स्थानीय महिलाहरु बताउँछन्।

साउनको तेस्रो हप्ता बितिसक्न लाग्दा पनि ओखलढुंगाको पस्चिमी भूभागमा अझै रोपाइँ हुन सकेको छैन। मनसुनी वर्षा नभएका कारणले साउनको पहिलो हप्तासम्म रोपाइँ नभएको हो। यहाँको लिखु गाउँपालिका वडा नं.  ३, ६, ७, ८ र ९ तथा साविकको नर्मदेश्वर, गाम्नाङ्गटार, टारकेराबारी, पोकली लगायतका स्थानहरुमा अझै रोपाइँ हुन सकेको छैन। मनसुन सुरु भएको पनि हप्तौं बितिसक्दा पनि यहाँ पानी नपरेका कारण किसानहरु चिन्तित भएका छन्। यहाँको खोला खोल्सा र खहरेहरुमा अझैसम्म पानीको मूल पलाएको छैन।

एक दशक नबित्दै फेरि यसरी खडेरी परेको लिखु गाउँपालिका ६का कृष्ण भट्टराई बताउँछन्। ०६६ सालमा यसरी नै खेडेरी परेर औंसीका दिनमा रोपाईं गरेको अनुभूति सम्झदै त्यो वर्ष आफूहरुले औंसीमा जोतेपछि पानी परेको बताए। यो वर्ष पनि त्यस्तै भएको तर, औंसीमा कसैले नजोतेको पानी पर्ने  र मूलमा पानी उम्रने विश्वासका साथ यो वर्ष महिलाहरु ले  जोत्न लागेका उनले बताए। 

जिल्ला कृषि विकास कार्यालय ओखलढुंगाको तथ्यांकअनुसार आजसम्म ७५ प्रतिशत रोपाइँ भएको जनाएको छ। जिल्लाभरको तथ्यांक ७५ प्रतिशत भए पनि लिखु बेल्टमा १० प्रतिशत पनि रोपाईं नभएको लिखु ६ का हरिप्रसाद भट्टराई बताउँछन्।

जिल्लाको लिखु क्षेत्रमा रोपाइँ नभएका कारण रोपाइँको प्रतिशत कम भएको वरिष्ठ कृषि विकास अधिकृत झलकनाथ कँडेलले बताए। जिल्लाको खेतीयोग्य भूभागमा अझै धान रोपाईं नभएका कारण यो वर्ष धान उत्पादनमा कमी हुने सक्ने सम्भावना बढेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.