'नियम नमान्नेलाई लाज लाग्नुपर्ने हो'

|
फोटोमा दायाँबाट क्रमशः प्रेस काउन्सिलका अध्यक्ष भवानी बराल, सञ्चारमन्त्री बस्नेत, महासंघ अध्यक्ष विष्ट र महासंघ उपाध्यक्ष अनिता विन्दु।

काठमाडौं : सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मिडिया क्षेत्र ‘जति बुझ्यो उति कठिन’ भएको टिप्पणी गरेका छन्। ‘म मन्त्री भएपछि केही दिनदेखि मिडिया क्षेत्रबारे अध्ययन थालेको छु तर, यो क्षेत्र जति बुझ्यो झन् कठिन लागिरहेको छ’, उनले भने।  नेपाल पत्रकार महासंघले सञ्चारमन्त्रीलाई बधाई दिन मंगलबार सञ्चारग्रामस्थित महासंघको केन्द्रीय कार्यालयमा कार्यक्रम आयोजना गरेको थियो।

नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले तीनवटा ठूला पार्टीका सञ्चारमन्त्रीहरू भोगिसकेको बताउँदै पत्रकारको भौतिक र पेसागत सुरक्षामा मन्त्री बस्नेतको सकारात्मक भूमिकाको अपेक्षा गरेको बताए। बस्नेतअघि माओवादी केन्द्रका राम कार्की र नेकपा एमालेका शेरधन राई सञ्चारमन्त्री भएका थिए।

आफूहरूसँग छलफल गर्दा नियम कानुन कार्यान्वयनमा मिडियालाई जिम्मेवार बनाउने बताए पनि मिडिया सञ्चालकहरूसँगको छलफलपछि सरकारको ‘टोन’ फेरिने गरेको आरोप विष्टले लगाए।

‘हामीले सरकारसँगमात्र होइन, मिडिया हाउससँग पनि पटकपटक छलफल गरेका छौं। संसदको विकास समिति र श्रमसम्बन्धी समितिमा आफ्ना कुरा राखेका छौं। ऐन कार्यान्वयन नगर्नेलाई कारबाही गर्न समितिहरूले निर्देशन दिएका छन् तर, कार्यान्वयन भएको छैन’, अध्यक्ष डा. विष्टले भने, ‘राज्यको कानुन मान्दिनँ भन्न पाइन्छ? नियुक्तिपत्रबिना काममा लगाउन पाइन्न। नियुक्तिपत्र दिएपछि तलब दिनुपर्छ। सरकारले हामीसँग प्रतिबद्धता व्यक्त गर्छ तर, अर्को पक्ष (मिडिया सञ्चालक) सँग छलफल गरेपछि सरकारको टोन नै फरक हुन्छ।‘

महासंघ अध्यक्ष विष्टपछि मन्तव्य राखेका सञ्चारमन्त्री बस्नेतले ‘मुलुकको समृद्धिको कुरा गर्ने बेलामा पत्रकारले पारिश्रमिक पनि बेलामा नपाउने अवस्था विद्यमान हुनु दुखद्’ भएको बताए।

‘फेरिएको बोली’

१०/१५ वर्ष अगाडि र अहिलेको सञ्चार जगतमा परिवर्तन आएको विश्लेषण गर्दै मन्त्री बस्नेतले नागरिकको चेतनास्तरमा पनि परिवर्तन आएको बताए। ‘एसएसलसी पास नगरी पत्रकारिता क्षेत्रमा लाग्ने बेला पनि थियो। अहिले विषय विज्ञका रुपमा सञ्चारकर्मी स्थापित भएका छन्। जनताको सुन्न र बुझ्न सक्ने क्षमतामा पनि व्यापक परिवर्तन आएको छ’, उनले भने।  

आफू सञ्चारमन्त्री हुनुभन्दा अघि र पछि आफ्नो बोली परिवर्तन भएको उनले बताए। ‘म सञ्चारमन्त्री हुनुभन्दा अगाडि मेरा अभिव्यक्तिहरू आफ्नै ढंगका थिए। तर, एक सातायता मैले फरक कुरा बोल्न थालेको छु’, उनले भने, ‘सञ्‍चार क्षेत्रले पनि हिजो जुन किसिमले समाचार प्रकाशन गर्थ्यो, अहिले फरक किसिमले आउन थालेको छ, आउनु पनि पर्छ।‘

कतिपय मिडियामा छापिएका समाचारका विषयमा आफूलाई फोन आउन थालेको बताउँदै मन्त्री बस्नेतले समाचारमा शिष्टता, विनम्रता र देश तथा जनताका लागि सही सूचना हुनुपर्ने बताए। ‘समाचारमा प्रतिशोध, कसैलाई उचाल्ने र कसैलाई होच्याउने प्रवृत्ति छैन भन्ने किसिमले सूचना प्रवाह गर्ने कुरामा गम्भीर हुनुपर्छ’, उनले भने, ‘केही मिडियाले लेखेका कुराबाट मलाई पनि फोन आउन थालेको छ। यस्तो लेख्यो, उस्तो लेख्दियो भनेर गुनासो आउँछ।‘

आफू लागेको कुरा प्रस्ट राख्ने मान्छे भएको उल्लेख गर्दै उनले मन्त्री भएपछि त्यसरी चल्दो रहेनछ भन्ने बुझेको अनुभव सुनाए। ‘मलाई केही कुरा लागिसकेपछि जे पर्छ पर्छ भनेर आफ्नो कुरा अगाडि राख्ने मान्छे हुँ तर, सधैं त्यसरी चल्दो रहेनछ भन्ने मैले महशुस गरेको छु’, उनले भने, ‘समाचारमा सही सूचना दिनुपर्छ। सही सूचना दिँदादिँदै पनि समस्या आयो भने सबै मिलेर सामूहिक रुपमा प्रतिरोध गरौंला।‘

सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि आफू २/३ दिन बाढीपीडित क्षेत्रमा गएको र फर्केर मिडिया क्षेत्रबारे अध्ययन थालेको उनले सुनाए। अध्ययनपछि मन्त्रालय तहबाट मात्र मिडिया क्षेत्रका समस्या समाधान हुन नसक्ने निष्कर्षमा आफू पुगेको उनले सुनाए। ‘म त्यहाँबाट फर्केपछि मिडिया क्षेत्रबारे अध्ययन गरें। तर, जति बुझ्दै गयो झन् गाह्रो जस्तो…।

यहाँ सुनें- तीनवटा ठूला पार्टीका ३ वटा मन्त्री भोगियो। मलाई त झन् अन्योल भयो- समस्या किन समाधान हुँदैनन्?’, उनले प्रश्न गरे, ‘मैले हिजोदेखि के सोच्न थालें भने- मन्त्रालयको मात्रै भूमिकाले मात्र सबै कुरा हुँदैन। मन्त्रालय, पत्रकार महासंघ र मिडिया हकहितका लागि स्थापित अन्य संघसंथाको सामूहिक प्रयास चाहिन्छ कि भन्ने लागेको छ।‘

पत्रकारले अधिकारको कुरा गर्दा जागिरबाट निकालिनुपर्ने अवस्था आउनु, नबोली बसे अन्याय सहनुपर्ने अवस्था आउनु दुखद भएको उल्लेख गर्दै मन्त्री बस्नेतले ‘नियम नमान्नेलाई लाज लाग्नुपर्ने’ टिप्पणी गरे। ‘अधिकारको कुरा गरौं- निस्कनुपर्ने, कुरा नगरौं वर्षौंदेखि अन्याय भएको छ’, उनले भने, ‘यसबाट पार पाउन सरकारले नीति निर्माण गर्ने हो। नीति निर्माण गरेपछि कार्यान्वयन गर्ने हो। कार्यान्वयन गर्नु सामाजिक दायित्व हुन्छ। नियम पालना नगर्नेले लाज लाग्नुपर्ने हुन्छ।‘

जेब्रा क्रसिङबाट बाटो नकाट्नु लाजको विषय भएको टिप्पणी गर्दै उनले सबैसँग छलफल गरेर मिडिया क्षेत्रका समस्या समाधानमा आफू केन्द्रित हुने उनले बताए। मिडिया सञ्चालहरूलाई सरकारले दिन सक्ने सुविधा दिने तर उनीहरूले कार्यान्वयन गर्ने विषयमा पनि उनीहरू गम्भीर हुनुपर्ने मन्त्री बस्नेतको भनाइ थियो। समानुपातिक विज्ञापन र क्लिन फिड कार्यान्वयनबारे मन्त्रालयले अध्ययन गरिरहेको उनले बताए।

सोमबार काठमाडौंमा भएको एक कार्यक्रममा पत्रकार शब्दले सबैलाई नसमेट्ने भएकोले सञ्चारकर्मी भन्न प्रस्ताव गरेका मन्त्री बस्नेतले पत्रकार महासंघको कार्यक्रममा पनि यो प्रस्ताव दोहोर्‍याए।। ‘श्रमजीवी पत्रकारको ठाउँमा सञ्चारकर्मी भन्ने हो कि? अब मिडिया क्षेत्र व्यापक भयो’, उनले भने।

यो पनि पढ्नुस्ः सरकारले थाल्यो मिडियामा अनुगमन

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.