|

काठमाडौं : सिंहदरवारको दक्षिणढोका स्थित काठमाडौं जिल्ला समन्वय समितिको परिसरमा मतदाता नामावली दर्ता गर्न उपस्थित भएका भिड छिचोल्दै निर्वाचन कार्यालयको कार्यकक्षमा पुग्दा शिव वैद्य (५९) र सरिता दाहाल (५३) माला र खादा लगाएर बसेका थिए।

मंगलबार उनीहरुले काठमाडौं जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुखमा उम्मेदवारी दर्ता गराए। नेकपा एमालेका तर्फबाट उम्मेदवारी दर्ता गराएका उनीहरुलाई समर्थकले खादा र माला पहिर्‍याएर शुभकामना दिइरहेका थिए।

नेकपा एमालेको सोमबार बसेको स्थायी कमिटीको बैठकले काठमाडौं जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखको उम्मेदवार टुङ्ग्याएको थियो। एमाले काठमाडौं जिल्ला कमिटीको सिफारिस तथा प्रदेश नम्बर ३ को रायका आधारमा शिव र सरितालाई उम्मेदवार बनाएको हो।

कसको कति भोट?

काठमाडौं जिल्लामा काठमाडौं महानगरपालिका र १० वटा नगरपालिका गरी ११ वटा स्थानीय तह रहेको छ। जिल्ला समन्वय समितिको निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २२ जना मतदाता रहेका छन्। जसमा नेकपा एमालेका १५ जना मतदाता रहेका छन् भने नेपाली कांग्रेसका ७ जनामात्र छन्। दलीय मतदाता हिसाब गर्दा नेकपा एमालेका प्रतिनिधिहरु जिल्ला समन्वय समितिमा विजयी हुुने करिब पक्का छ। यद्यपी नेपाली कांग्रेसले छुट्टै उम्मेदवारी दिएकाले नतिजा थाहा पाउन साउन २२ गते हुने निर्वाचनको नतिजा पर्खिनैपर्छ। 

नेकपा एमालेले कागेश्वरी मनोहरा, शखरापुर र टोखा, तारकेश्वर, कीर्तिपुर र बुढानिलकण्ठ नगरपालिकाको प्रमुख र उपप्रमुख दुबै पद जितेको छ। त्यस्तै काठमाडौं महानगरपालिकाको प्रमुख तथा नागार्जुन र चन्द्रागिरी नगरपालिकाको उपप्रमुख पनि जितेको छ।

नेपाली कांग्रेसले दक्षिणकाली र गोकर्णेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुख दुबै पद जितेको छ। त्यस्तै नागार्जुन र चन्द्रागिरी नगरपालिकाको प्रमुख र काठमाडौं महानगरपालिकाको उपप्रमुख पनि जितेको छ।

को हुन् जिल्ला समन्वय समितिका प्रमुखका उम्मेदवार शिव वैद्य ?

वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका वडा नम्बर १३ बाट खुलातर्फ वडा सदस्यमा निर्वाचित भएका वैद्य एमाले काठमाडौं जिल्ला कमिटीको सचिवालय सदस्य तथा ८ नम्बर निर्वाचन क्षेत्रका इञ्चार्ज समेत हुन्।

२०३४/३५ सालदेखि नै स्वतन्त्र मजदुर युनियनमा आवद्ध भएर काम गर्दै आएका उनी २०४६ सालको जनआन्दोलनपछि उनी एमालेमा  पार्टीमा पनि आवद्ध भएर भूगोलतर्फ काम गर्न शुरु गरेका थिए। नेपाल स्वतन्त्र मजदुर युनियनको केन्द्रीय सदस्य समेत भएका उनी विभिन्न संघसंस्थाहरुमा समेत आवद्ध रहेर सामाजिक काम गर्दै आएका छन्।

उपप्रमुखका उम्मेदवार सरिता दाहाल को हुन् ?

सरिता दाहाल (५३) अखिल नेपाल महिला संगठन काठमाडौं जिल्ला कमिटीको सचिव हुन्। २०४६ सालदेखि एमालेको जनवर्गीय संगठन अनेमसंघमा आवद्ध भएर काम गर्दै आएको सरिता हालसम्म पनि अनेमसंघ, अन्य जनवर्गीय संगठनको नेतृत्व गर्दै आएकी छिन। अनेमसंघका विभिन्न कमिटी, युवा संघ, पार्टीको विभिन्न कमिटिमा काम गरेकी छिन्।

काठमाडौं महानगरपालिका वडा नम्बर ३२ बाट वडा सदस्यमा निर्वाचित भएकी सरिता पार्टीको निर्णयअनुसार उम्मेदवार भएकाले बिजयी भएपछि जनताको सेवामा निरन्तर खट्ने प्रतिवद्धता जनाइन्।

नौ सदस्यीय समन्वय समिति

काठमाडौं जिल्ला समन्वय समितिमा नेपाल संविधान धारा २२० उपधारा (३) मा भएको व्यवस्था अनुरुप नौ सदस्यीय जिल्ला समन्वय समिति निर्माण गर्ने व्यवस्था छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय काठमाडौं जिल्ला समन्वय समितिले जारी गरेको निर्वाचन कार्यतालिका अनुसार मंगलबार जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख सहित नौ जना सदस्यका लागि मनोनयन दर्ता गराएका छन्।

साउन २२ गते हुने निर्वाचन पछि मत परिणाम यथासक्य छिटो प्रकाशन गरिने काठमाडौंका मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.