|

काठमाडौं : स्थानीय तहको निर्वाचन भएका ६ वटा प्रदेशमा नेकपा एमालेभन्दा ५० स्थान कम जितेको सत्तारुढ नेपाली कांग्रेसले यसलाई पूर्ति गर्न दुई नम्बर प्रदेशमा ध्यान केन्द्रित गरेको छ।

असोज २ गते दुई नम्बर प्रदेशका आठ जिल्लामा हुने स्थानीय तहको निर्वाचनमा दुई तिहाई बढी स्थानमा जित हासिल गर्ने कांग्रेसले लक्ष्य राखेको छ। दुई नम्बर प्रदेशमा एक सय २७ वटा स्थानीय तह छन्।

नेपाली कांग्रेसले प्रदेश नम्बर एक, तीन, चार, पाँच, छ र सातमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भन्दा ५० स्थान कम सिटमा जित हासिल गरेको छ। दुई नम्बर प्रदेशको चुनावबाट एमालेसँग बराबरी गर्ने कांग्रेसका कतिपय नेताले बताउने गरेका छन्। तर केही नेताले भने स्थानीय तहको नेतृत्व जितेको सिट संख्यामा एमालेसँग बराबरी गर्न नसके पनि मत भने बढी ल्याउन सकिने बताएका छन्। 

नेपाली कांग्रेसले बिहीबार (साउन १९ गते) जनकपुरमा त्यो क्षेत्रका अगुवा कार्यकर्ताको भेला राखेको छ। पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने भेलामा पार्टीका शीर्ष नेता र सो प्रदेशका सबै केन्द्रीय सदस्य र सांसदलाई बोलाइएको छ।

‘भेलाको मुख्य उद्देश्य २ नम्बर प्रदेशमा आगामी असोज २ गते हुने निर्वाचनमा अधिक सफलता कसरी प्राप्त गर्न सकिन्छ भने हो’ कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले थाहाखबरसँग भने ‘त्यही भेलाले दुई नम्बर प्रदेशको निर्वाचनमा सफलता पाउने रणनीति तय गर्ने छ।'

भेलामा दुई नम्बर प्रदेशका केन्द्रीय सदस्य, सांसद, ८ जिल्लाका पार्टी सभापति, ४८ वटा निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति र सबै भातृ तथा शुभेच्छुक संस्थाका अध्यक्ष र महासचिवलाई बोलाइएको छ।

भेलामा सहभागीहरुको सुझावका आधारमा पार्टीले प्रत्येक जिल्लामा प्रतिनिधि खटाउने योजना रहेको मुख्य सचिव पौडेलले बताए। ‘पार्टीले आन्तरिक विवादलाई निमिट्यान्न पारेर आफ्ना एजेण्डालाई मधेसका गाउँ गाउँमा पुर्‍याउन सक्यो भने पार्टीले दुई नम्बर प्रदेशमा सजिलै बहुमत ल्याउँछ’, कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा भन्छन् ‘विगतमा एमालेले हाम्रो भन्दा जति स्थान बढी ल्यायो त्यति नैं ल्याउँछौं भन्ने होइन तर हाराहारीमा कांग्रेस आउँछ।’

अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले दुई नम्बर प्रदेशका स्थानीय तहमा कांग्रेसले बहुमत ल्याउन सक्ने धेरै आधारहरु देखिएको बताए। ‘पार्टीको आन्तरिक विवाद व्यवस्थापन गरे, उम्मेदवार छनोट छिटो भए, व्यक्तिगत पहुँचको आधारलाई छोडेर लोकप्रियताको आधारमा टिकट दिएमा कांग्रेसले अन्य प्रदेशको तुलनामा सबैभन्दा बढी स्थान जित्न सक्छ।’

पौडेलले स्थानीय तहको निर्वाचनमा अन्य प्रदेशमा एमालेबाट बेहोरेको हारको संख्या बराबर नै पूर्ति गर्न नसके पनि मतको आधारमा भने एमालेलाई उछिन्न सक्ने बताए। नेता विश्वप्रकाश शर्मा पनि स्थानीय तहमा कांग्रेसले एमालेभन्दा बढी सिटमा जित्न नसके पनि मतको आधारमा जित्न सक्ने तर्क गर्छन्।

कांग्रेस नेता विमलेन्द्र निधिले दुई साताअघि काठमाडौंमा भएको दुई नम्बर प्रदेशका जिल्ला सभापति र क्षेत्रीय सभापतिको भेलामा एक सय सिट जित्ने दावी गरेका थिए। तर अन्य नेताहरु भने सो प्रदेशमा कांग्रेसले एकजुट भएर आधिकारिक उम्मेदवारलाई जिताउन लागेमा दुई तिहाइसम्म अर्थात ८० देखि ८५ सिटसम्म ल्याउन सक्ने दाबी गरिएको छ।

२०७२ सालको संविधानसभा चुनावमा आठ जिल्लाका ४८ वटा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले २० वटा क्षेत्रमा जित हासिल गरेको छ। दुई नम्बर प्रदेशमा एमालेको तुलनामा कांग्रेसको जनमत राम्रो भएको मानिन्छ। कांग्रेसको जनमत राम्रो भए पनि अघिल्ला दुई स्थानीय तहको निर्वाचनमा भएको घाटालाई भने एउटा प्रदेशले पूर्ति गर्न नसक्ने कांग्रेसकै नेताहरुको बुझाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.