दमकः सर्प भनेपछि सबैलाई डर लाग्छ। सर्प देख्नासाथ धेरै डरले भाग्ने गर्छन्। तर उनलाई सर्पसँग कहिल्यै डर लागेन।
कसैको घरमा सर्प पस्यो भने उनलाई फोन आउँछ। उनी पनि सर्प र मान्छेको उद्धार गर्न पाउँदा त्यत्तिकै खुसी हुन्छन्। कहिले मध्यराती फोन आउँछ। फोन आउनेबित्तिकै उनी सर्पको उद्धार गर्न जान्छन्।
उनी अर्थात् मोरङको विराटनगर– १२ का प्रेम विष्ट। अहिले उनी उर्लाबारीमा रहेको सेक्टर वन कार्यालय उर्लाबारीमा कार्यरत छन्। नेपाल प्रहरीको हवल्दारबाट सेवानिवृत्त भई उनले वन कार्यालयमा सिपाहीको जागिर थालेका हुन्। उनले यसरी सर्पसँग खेलेको ३० वर्ष भयो।
सानै उमेरदेखि सर्पसँग खेलेर आफू हुर्केको उनी बताउँछन्। ‘सानै उमेरमा आमा बित्नुभयो, आमा बितेपछि खासै अरूले वास्ता गरेनन्, बेवारिसे जस्तै बनियो’, उनी भन्छन्, ‘त्यतिबेलादेखि नै म सर्प समाउन थालेँ’। उनलाई धेरैले ‘जादू र टुनामुना लगाएर सर्प समातेको हो?’ भन्दै सोध्ने गरेको बताए। ‘त्यस्तो होइन, मलाई जादू र टुनामुनाको बारेमा थाहा पनि छैन र विश्वास पनि छैन’, उनी भन्छन्, ‘मसँग सर्प समाउन सक्ने आँट छ, त्यसै आँटका कारण सर्प समाइरहेको छु।’
सर्पले डस्दा कसैले बाँच्छ भनेका थिएनन्
त्यसो त उनलाई सर्पले नटोकेको पनि होइन। २०७१ साउन १५ गते सिन्धुलीको दूधौलीमा गोमन सर्पले टोकेको थियो उनलाई। उनी त्यतिबेला उदयपुरमा नेपाल प्रहरीमै कार्यरत थिए। उनलाई त्यसबेला डाक्टरहरूले समेत माया मारिसकेका थिए।
साउन १६ गते नाग पञ्चमी थियो, १५ गते सिन्धुलीमा सर्पको बिगबिगी भयो भनेर उनी गएका रहेछन्। एउटा घरमा दुईवटा गोमन सर्प भेटिएछन्। उनी त्यहीँ भएकाले सर्प समात्न गएछन्। भोलिपल्ट नाग पञ्चमी भएकाले सर्प लिएर उनी उदयपुरतिर जाँदै रहेछन्। बाइकमा पछाडि बसेका थिए रे उनी। ‘बोरामा सर्प थियो, अप्ठ्यारो बाटो भएकाले मेरो हात छोडियो। त्यतिबेला सर्प निक्लिएर मेरो हातमा टोक्यो’, उनी भन्छन्, ‘त्यतिबेला मलाई कसैले बाँच्छ भन्दैन थिए।’
उनले उदयपुरको सैनिक अस्पतालमा उपचार गराए। त्यहाँ नभएपछि धरानको घोपामा रिफर गरियो। ‘५६ वटा एन्टी स्नेक भेनमको प्रयोग गर्दा मात्रै म बाँचेको हुँ’, उनले भने।
अहिलेसम्म आफूले ३६ सयभन्दा बढी सर्प समातेर सुरक्षित स्थानमा छाडेको उनले बताए। उनले भने, ‘अहिलेसम्म ३६ सयभन्दा बढी सर्प समातेर जंगलमा छाडिसकेको छु।’ उर्लाबारी आएर पनि गोमन र करेत मात्र तीन हजारभन्दा धेरै समातेको उनले बताए।
अहिले त सर्पको आँखाको चालले समात्न सक्ने विष्टले बताए। विष्ट भन्छन्, ‘पहिलाचाहिँ लठ्ठी प्रयोग गरेर सर्पको टाउकोमा थिचेर समाउने गर्थेँ, तर अहिले त सर्पको आँखा हेरेर कहाँ र कति टाढासम्म आक्रमण गर्छ भन्ने थाहा हुन्छ।’ उनले सर्प समाएको देख्दा धेरै मानिस अचम्म पर्ने गरेका छन्।
आफूलाई असर नगरी सर्पले टोक्दैन
उनी सर्प मार्न नहुने बताउँछन्। ‘धेरैजसोले सर्प देख्नै हुँदैन, मारिहाल्ने गर्छन्’, उनी भन्छन्, ‘तर सर्प मार्नुहुँदैन, वातावरण सन्तुलन गर्न पनि सर्पको त्यत्तिकै भूमिका हुन्छ।’
सर्पलाई नचलाएसम्म कहिल्यै पनि सर्पले नटोक्ने उनी बताउँछन्। ‘सर्पले कहिल्यै पनि मान्छेलाई आक्रमण गर्छु भनेर सोचेको हुँदैन र त्यसै आक्रमण पनि गर्दैन’, उनी भन्छन्, ‘त्यसलाई कुनै असर पारेमा मात्र आक्रमण गर्छ।’ आफू बच्नलाई सर्पले आक्रमण गर्ने उनको भनाइ छ।
उनी सर्पलाई क्षति पुग्छ भनेर नै मान्छेले फोन गर्नेबित्तिकै आफू त्यहाँ पुग्ने गरेको बताउँछन्। ‘सर्पलाई मान्छेले टोक्यो भने सर्प मार्छन्, सर्पले टोक्दा पनि मान्छेमा र सर्पमा नै क्षति हुन्छ’, उनी भन्छन्, ‘नेपालमा अहिलेसम्म पनि डाक्टरहरूले कुन सर्पले टोकेको हो भनेर छुट्याउने प्रविधि छैन, सर्प नै मारेर देखाउनुपर्छ।’ त्यसकारण पनि सर्पलाई पनि क्षति नपुगोस् र मान्छेलाई पनि केही नहोस् भन्ने आफ्नो उद्देश्य रहेको उनी बताउँछन्।
नेपालमै एन्टी स्नेक भेनम बनेको हेर्ने मन छ
लामो समयदेखि सर्पको संरक्षण गर्दै आएका विष्टलाई नेपालमै सर्पदंशको उपचारका लागि आवश्यक पर्ने एन्टी स्नेक भेनम बनेको हेर्ने मन रहेछ। उनले भने, ‘नेपालमा एन्टी स्नेक भेनम नहुँदा सर्पदंशका बिरामीले धेरै खर्च गरेर उपचार गराउन बाध्य छन्।’ त्यसैले नेपालमै एन्टी स्नेक भनेम बनेको हेर्ने मन रहेछ उनको।
उनी अब भने नेपालमै सर्पदंशको औषधि बन्नेमा ढुक्क पनि छन्। ‘यससम्बन्धी कानुन पनि पास भएको छ, अब भने नेपालमै औषधि बन्छ भन्नेमा आशावादी छु’, उनी भन्छन्। उनी नेपालमै एन्टी स्नेक भेनम बन्यो भने सर्पको संग्रहालय नै बनाउने सोचमा छन्। भन्छन्, ‘मेरो सबैभन्दा ठूलो लक्ष्य नै सर्पदंशको औषधि नेपालमै बनाउनुपर्छ भन्ने हो।’
सर्पले टोक्नेबित्तिकै धेरै मानिस धामी झाँक्रीकहाँ जाने परम्परा अझै पनि रहेको भन्दै उनी यसो नगर्न सबैलाई आग्रह गर्छन्। धामी झाँक्रीबाट यसको उपचार हुन नसक्ने उनको बुझाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।