|

एजेन्सी: ​विश्व इतिहासमै बसाइँ सराइको सबैभन्दा ठूलो घटना थियो त्यो। कम्तिमा पनि एक करोड मानिस आफ्नो घर छाडेर बसाइँ हिडेँका थिए।

७० वर्षअघि अगस्ट १४ तारिखको मध्यरातमा पाकिस्तान र भारत अलग राज्य रहने घोषणा भएको थियो। अगस्ट १५ मा भारतले स्वतन्त्रताको झन्डा फहरायो। पाकिस्तानले अगस्ट १४ लाई नै स्वतन्त्रता दिवस मनाउँदै आएको छ।

तत्कालीन समयमा हिन्दू बाहुल्य रहेको जनसंख्या भारत र मुस्लिम बाहुल्य रहेको जनसंख्या पाकिस्तानका नाममा विभाजित भएको थियो। दशौँ लाख मुस्लिमहरू दक्षिण र पूर्वी पाकिस्तान (अहिलेको बंगलादेश) सरेका थिए भने दशौँ लाख हिन्दू र शिखहरू पाकिस्तानको सीमा छाडेर भारत आएका थिए।

शताब्दीऔँदेखि बस्दै आएको थातथलो छाडेर हिँडेका कति यात्रु बाटोमै कुटिए, कति लुटिए भने कतिले मृत्युवरण गर्नुपर्‍‍यो। विश्व इतिहासमै भएका हिंसात्मक घटनाहरूमध्ये भारत–पाकिस्तान विभाजनका भएको हिन्दू–मुसलमान युद्ध एक हो। विभाजनको ७० वर्षपछि बीबीसीले त्यतिबेलाको त्रासदीबारे अहिले बेलायतमा बसिरहेकासँग कुराकानी गरेको छ। यी वृद्धवृद्धा तत्कालीन समयका साक्षी हुन्।

करम
म भारतको जालन्दरबाट बेलायत आएको हुँ। विभाजनअघि हामी हिन्दू, शिख र मुसलमान एउटै परिवार जसरी बसेका थियौँ। हामीमध्ये कसैलाई पनि लागेको थियो, स्वतन्त्रतापछि भारत विभाजन हुन्छ। मलाई अझै पनि यो घटना संझदा अचम्म लाग्छ, कसरी मानिसहरू दिमाग चाँडै परिवर्तन भयो।

हाम्रो गाउँमा बाहिरबाट आएका मुसलमानहरू आक्रमण गरे। यो पाखुरामा सुइरो रोपिएको थियो। म मरणासन्न थिए। मेरी बहिनीलाई एउटा मुस्लिम परिवारले जोगायो। उनलाई उनीहरूले आफ्नो घरमा लुकाएका थिए। तर मेरा बाबु मारिए। त्यो घटनाको असर मलाई अहिले पनि यतिसम्म परेको छ। कहिलेकाहीँ सपनामा त्यही बर्बरता देख्छु।

खुर्सिद
म दिल्ली र सिमलामा हुर्किएर विभाजनपछि पाकिस्तानको कराँची पुगेकी हुँ। विभाजनको वर्षौंअघि स्कुलमा पढ्ने शिख, हिन्दू, मुस्लिम र क्रिस्चियन बालबालिकाको एउटै स्वर हुन्थ्यो, ‘हामी स्वतन्त्रता चाहन्छौँ- भारत हाम्रो हो।’

त्यसपछि दिल्लीमा धेरै मुसलमान मारिए। हामीले के अनुभव गर्‍यो भने हामीसामु भारत छाड्नेको विकल्प छैन। हामी पाकिस्तान जान बाध्य भयौँ।

मेरा दुई साथी हिन्दू थिए। म उनीहरूको घरमा गइरहन्थेँ। विभाजनपछि उनीहरूले मलाई चिट्ठी लेखे। त्यस चिट्ठीमा लेखिएअनुसार भारतमै बसेकी मेरी एक मुस्लिम साथीलाई स्कुलकै शिक्षकले बलात्कार गरेछन्। त्यस घटनाले मलाई कति दुखी बनायो भन्ने विषयमा म बोल्न सक्दिनँ।

मोहिन्द
लयलपुर (अहिलेको फैसलावाद) बाट म दिल्ली आउँदै थिएँ। मेरो घर छाडेर आउँदाको कथा हो यो। मेरा बाबु कहिल्यै घर छाड्न चाहँदैन थिए। उनले त्यो ठाउँलाई धेरै माया गरे। मलाई १३ सेप्टेम्बर १९४७ को याद आउँछ। त्यो मेरो छैटौँ जन्मदिन थियो। हामीले पाकिस्तानस्थित हाम्रो घर छाड्यौँ। त्यसपछि ४० किलोमिटर हिँडेर भारतका लागि ट्रेन पक्रियौँ। ट्रेनमा रहेका मानिसहरू काटिएका थिए। रगतै रगत थियो ।

पेमला
म कोलकातामा हुर्किएको हुँ। त्यतिबेला भिक्टोरिया स्मारक बगैँचा धेरै रमाइलो थियो। हामीले धेरै रमाइला क्षणहरू बितायौँ। कोलकतामा जहाँ जान पनि कुनै सुरक्षाको चिन्ता थिएन। तर बिस्तारै अवस्था बिग्रियो। एक दिन म साइकल चलाइरहेको थिएँ। मलाई एक जना मान्छेले धकेल्यो र भारत छाड्न भन्यो। म सडकमा अन्य लडेँ। मेरो वरपर कार र रिक्साहरू थिए। त्यो निकै खतरनाक अवस्था थियो। म मारिन सक्ने थिएँ।

रमिन
स्वतन्त्रतापछि म ढाकाबाट कोलकाता आउन बाध्य भएँ। १९४२ मा 'भारत छोड' अभियानअन्तर्गत म पनि सहभागी थिएँ। हामीले ब्रिटिशमाथि निशाना साँधेका थियौँ, जब मुसलमानहरूले हिन्दू समुदायमाथि आक्रमण गरेका थिए।

त्यतिबेला मैले पेट्रोल बम फालेको थिएँ। अहिले मलाई पछुतो लाग्छ। त्यतिबेला भने यो आवश्यक थियो। यो आत्मरक्षाका लागि गरिएको थियो।

भारत स्वतन्त्र भएपछि पूर्वी पाकिस्तानमा स्वतन्त्रता दिवसको दिन मैले भारतको झन्डा उठाएँ। तर हामीलाई त्यो झिक्न भनियो। त्यसपछि थाहा भयो। स्वतन्त्रताका लागि होइन रहेछ। विभाजनले मेरो जीवन ध्वस्त बनायो। भारत त्यसपछि कहिल्यै पहिलेजस्तो भारत हुनेवाला थिएन।

मेहरो
म स्कुल र कलेज जाने क्रममा मृत शरीरमाथि टेकेर गएको छ। हामी पर्सियनहरू सुरक्षित थियौँ। हामीसँग हिन्दू र मुसलमान नोकरहरू थिए। त्यसैले बाहिर निस्कँदा म आफ्नो पर्सियन ड्रेस लगाउँथे। यसले गर्दा मेरा नोकरहरू पनि सुरक्षित हुन्थे।
मालक्लोम
ब्रिटिश–भारतीय जातिको सन्तान भएका कारण मलाई फाइदा थियो भन्ने ठान्थेँ। मैले दुवै संस्कार चिन्ने मौका पाएको थिएँ। मलाई कहिल्यै भारत छाडेर जाने ब्रिटिशहरूका कारण मेरो जीवन खतरामा पर्छ भन्ने लागेन। तर मेरो परिवारलाई पर्‍यो। यसैकारण म इंग्ल्यान्ड आएँ। मेरो परिवारलाई के लाग्यो भने मैले स्कुल सकेपछि जागिर पाउँदिन किनकि भारतीयहरूमा बदलाभाव थियो।

ड्यन्स
म भारतीय सेनामा थिएँ। स्वतन्त्रता दिवसको दिन म लाहोर हुँदै इंग्ल्यान्ड फर्कंदै थिए। बाटामा मानिसहरूले हात मिलाएर ‘धन्यवाद हामीलाई स्वतन्त्रता दिलाएकोमा’ भनेको कुरा अहिले पनि याद आउँछ।

ट्रेन स्टेशनमा लाशै लाश थिए। कुनै एक दिशाबाट आएको ट्रेनमा शिख र हिन्दूहरूको लाश हुन्थ्यो। अर्को दिशाबाट आएको ट्रेनमा मुसलमानको लाश हुन्थ्यो।

हेर्नुहोस् विभाजनको समयमा फोटाहरू 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.