|

काभ्रे : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ गोदामचोकबाट अवैध भीओआईपी (कल बाईपास) गर्ने काममा संलग्न ५ जनालाई पक्राउ गरी मंगलबार प्रहरीले सार्वजनिक गरेको छ। 

प्रहरीले विशेष सूचनाका आधारमा बनेपा नगरपालिका–७ गोदामचोकस्थित चन्द्रमाया लामाको घरमा डेरा गरी बस्ने केशवराज पौडेल लगायतलाई पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय बनेपा र केन्द्रीय अनुसन्धान ब्युरोले संयुक्त रुपमा छापा मारी सोमबार दिउँसो म्याग्दी बाबियाचौरका पौडेल, काभ्रेपलाञ्चोक रोशी गाउँपालिका ६ का विनोदकुमार मैनाली, रोशी गाउँपालिका–३ शिखर आम्बोटेका विकास लामा, चौरी देउराली गाउँपालिका–४ का सुजन तामाङ र दोलखा फस्कु गाउँपालिका–८ रातमाटेका अवि थापालाई पक्राउ गरेको हो। 

‘उनीहरुले ७ दिन अगाडिबाट मात्रै काम थालनी गरेको बताए पनि प्रहरीको अनुसन्धानबाट २ हप्ता अगाडिबाट त्यस्तो काम गरेको पाइएको छ’ जिल्ला प्रहरी प्रमुख सहकुलबहादुर थापाले भने, ‘यसमा उनीहरु मात्रै नभई भारतीय नागरिकको समेत संलग्नतामा अबैध काम हुँदै आएको आशंका छ।’

पक्राउ परेकामध्ये विनोदकुमार मैनाली २०७० असोज १४ गते यही आरोपमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाबाट पक्राउ भई ३ बर्ष कैद भुक्तानी गरिसकेको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरुबाट कल बाइसापमा प्रयोग गर्ने ६४ पोर्टको भीओआईपी गेट वे २ थान, ल्यापटप, चार्जर, राउटर, नेपाल टेलिकमको वाईफाई राउटर, माइक्रो मोडियम, होम युएसबी,स्मार्ट सोलार डिप ब्याट्री, स्मार्ट टेलको सिम कार्ड १२० पिस, पेनड्राइभ, एनसेलको दुई थान समिकार्ड, ६ थान मोवाइल सेट, नगद १७ हजार समेत बरामद गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.