|
File Photo : onlinepurbanchal.com

इलाम : सरकारले धनकुटा नगरपालिकालाई देशकै सफा शहर घोषणा गरेको छ। त्यस्तै इलामले दोस्रो सफा शहर र हेटौंडाले तेस्रो सफा शहरका रुपमा पुरस्कार हात पारे। 

नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले नेपालका २ सय ६३ नगरपालिकाहरुमध्ये धनकुटालाई सबैभन्दा सफा शहरका रुपमा पुरस्कृत गरेको हो।  

आर्थिक २०७३÷७४ को वार्षिक कार्यक्रम अनुसार फोहरमैला व्यवस्थापनमा विशेष योगदान पुर्‍‍याउने उत्कृष्ट तीन वटा नगरपालिकाहरुलाई सफा शहर पुरस्कार तथा सम्मान प्रदान गरिएको हो।

मंगलबार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सभाकक्ष, सिंहदरबारमा आयोजित एक विशेष समारोहबीच उपप्रधानमन्त्री एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले ३ सफा शहरलाई पुरस्कार तथा सम्मान प्रदान गरेको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले जानकारी दिए। 

इलाम नगरपालिका २०६९ सालमा ५८ नगरपालिकाहरुमध्ये दोस्रो सफा शहर र २०७२ सालमा २ सय १७ नगरपालिकामध्ये तेस्रो सफा शहरका रुपमा पुरस्कृत भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.