|

चितवन : चितवनको भरतपुर महनगरपालिका वडा नम्बर १९ मा पुनः मतदानका लागि आजदेखि मौन अवधि सुुरु भएको छ। यही साउन २० गते शुक्रबार निर्वाचनको मिति तोकिएपछि आजदेखिनै मौन अवधि सुरु भएको चितवनका जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए। 

ढकालका अनुसार बुधबारदेखि नै दलहरुले प्रचारप्रसारलगायत मतदातालाई प्रभावित गर्ने खालका कुनै पनि गतिविधि गर्न पाउने छैनन्। त्यस्तो गरेको पाइए निर्वाचन आचारसंहिताअनुसार कारबाही गरिने उनले बताए।

भरतपुर– १९ को मतदानका लागि आवश्यक जनशक्तिसमेत आजै पठाइने उनको भनाइ छ। ‘छत्तीसजना कर्मचारी आवश्यक पर्छन्, उनीहरुको आजै नियुक्त भएर मतदान स्थलमा खटाइने छ,’ ढकालले भने, ‘निर्वाचनका सामाग्रीहरु सबै तयारीमा राखिएको छ।’

कर्मचारीको व्यवस्थापन मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट हुने छ भने निर्वाचनका लागि आवश्यक सामाग्रीको व्यवस्थापन जिल्ला निर्वाचन कर्याालय चितवनबाट हुने सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिए।

भरतपुर– १९ मा तीनवटा मतदान स्थलमा ६ वटा मतदान केन्द्र रहेको छ। किरण मावि किरणगञ्ज मतदान स्थलमा १ हजार २४८, जीवनज्योती स्कुल गुञ्जानगरमा १ हजार ३०६ र शारदानगर माविमा १ हजार २४३ गरी कुल ३ हजार ७९७ मतदाता छन्। 

जेठ १४ गते राति मतपत्र च्यातिएपछि विवादित बनेको भरतपुर–१९ को विषयमा सर्वाेच्च अदालतले शनिबार निर्वाचन आयोगको निर्णय सदर गर्दै पुनः मतदानको फैसला सुनाएको थियो। 

त्यसविरुद्ध परेको मुद्दामा सर्वाेच्चले निर्वाचन आयोगको निर्णयलाई सदर गरेपछि मंगलबार जिल्लामा बसेको सर्वदलीय बैठकले २० गतेका लागि पुनः मतदानको मिति तय गरेको हो। दलका प्रतिनिधिहरुले निर्वाचन सफल पार्न प्रतिबद्ध भएको बताएका छन्।

भरतपुर १९ वडाको मत बदर भएपछि नेकपा एमालेका प्रमुख पदका उम्मेदवार देवी ज्ञवाली, कांग्रेसको समर्थनमा नेकपा (माओवादी केन्द्र)बाट प्रमुख पदका उम्मेदवार रेणु दाहाल भन्दा ७८४ मतले अघि छन्। २७ वटा वडाको मतगणना सम्पन्न हुँदा ज्ञवालीको ४० हजार ९८० र दाहालको ४० हजार १९६ मत छ। १९ बाहेक मत गन्न बाँकी भरतपुर –२० मा ३ हजार ३०२ मत खसेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.