|

दमक: सरकारको करोडौं लगानी रहेको झापाको पूर्वोत्तर मेचीनरस्थित बाहुनडाँगीस्थित एक सिंचाइ नहर १२ वर्षको प्रयास पछि सञ्चालनमा आएको छ। साविक बाहुनडाँगीमा सिंचाइ गर्ने उद्देश्यले निर्माण सुरु भएको सिद्धिखोला आयोजना उपभोक्ता समिति र सरकारी निकायको निरन्तर प्रयासपछि सञ्चालनमा आएको हो।

२०६२ सालबाट निर्माण सुरु गरिएको उक्त नहर २०७२ सालमा केही महिना सञ्चालनमा आए पनि पहिरो खस्दा अवरुद्ध बनेको थियो। सिंचाइ मन्त्रालयको  करिब ४९ करोड रुपैयाँ लगानीमा निर्माण भएको हो।

आयोजनाले इलामको सिद्धिखोलाको पानीलाई जिर्मलेको पहाड हुँदै समथर बाहुनडाँगीको १६ सय हेक्टरमा सिंचाइ सुविधा पुग्नेछ। आयोजनाले तत्कालीन बाहुनडाँगी गाविस तथा हालको मेचीनगर १, २, ३ र ४ का किसान लाभान्वित हुने सिद्धिखोला सिंचाइ जल उपभोक्ता समितिका अध्यक्ष हरि चम्लागाईँले बताए।

सरकारको साना तथा मझौला सिंचाइ योजना अन्तर्गत पर्ने सो आयोजनालाई आर्थिक वर्ष २०६५\६६ सम्म सम्पन्न गर्ने लक्ष्य लिएको भए पनि कमजोर भौगोलिक बनावटका कारण निर्माणाधीन नहर भत्किएर समस्या आएको अध्यक्ष चम्लागाईले बताए। उनले भने,‘धेरै  कमजोर भौगोलिक बनावट छ, त्यसकारण बर्खामा पनि पर्दा पहिरोले नहर पुरेर समस्या भएको हो।’ उनले सरकारी निकालय समक्ष पुनः नहरलाई बलियो बनाउन बजेट विनियोजन गर्न आग्रह गरे। उनले भने,‘नहरलाई पहिरोको समस्याबाट समाधान गर्न, नहरलाई माथिबाट सिमेण्टले प्लास्टर गरेर छोप्नु पर्छ, यसका लागि एक करोड रुपैयाँ आवश्यक पर्छ।’

२२ किलोमिटर मूल र ३४ किलोमिटर शाखा गरी कुल ५६ किलोमिटर नहरबाट तत्कालिन बाहुँनडाँगीका ५ नम्बर बडाको केही भू–भागबाहेक अन्य सबै वडामा सिंचाइ सुविधा पुगेको छ। २२ किलोमिटरमध्ये पहाडी इलाकामा रहेको १२ किलोमिटर नहरमा भने समस्या रहेको उनले बताए।  कमजोर भौगालिक वनावटका बाबजुद पनि सबैको पक्षको सहयोगमा सिद्धिखोला सिंचाइ आयोजनालाई राष्ट्रिय गौरवको आयोजना बनाउन सफल भएर लामो समयमा पनि सञ्चालनमा ल्याउन सफल भएको उनी बताउँछन्।

विद्युत र खानेपानी उत्पादन गर्ने योजना

यहाँका जनप्रतिनिधिले भने नहरलाई व्यवस्थित गर्दै विद्युत उत्पादन गर्ने र यसलाई स्वच्छ खाने पानीको रूपमा प्रयोग गर्ने योजना भएको बताएका छन्। मेचीनगर नगरपालिकाका–२ का वडाअध्यक्ष तिलक न्यौपानेले यसलाई बाहुनडाँगीवासीको स्वच्छ खानेपानीको स्रोत समेत बनाउन चाहेको बताए। उनले भने,‘स्वच्छ खानेपानीको प्रयोग गर्न नपाएको अवस्थामा हामी यसलाई खानेपानीका रुपमा समेत प्रयोग गर्ने योजनामा छौं, सबैसँग सहकार्य गरेर यो नहरलाई ‘अण्डर ग्राउण्ड’ गर्ने र स्वच्छ खानेपानीका रूपमा प्रयोग गर्ने योजना छ।’ 

यस्तै वडा नम्बर १ का वडाअध्यक्ष पासाङ तामाङले यहाँबाट विद्युत उत्पादन गरी यहीँका बसिन्दाका लागि प्रयोगमा ल्याउने योजना बनाएको बताए। उनले भने,‘यो पनिको मुहान परिर्वतन गरेर सुरुङबाट ल्याएर विद्युत र स्वच्छ खानेपानी उत्पादन गर्ने हाम्रो योजना छ यसमा सबैको साथ आवश्यक छ।'

अझै ढुक्क छैनन् सर्वसाधारण

जनता भने नहरमा यस वर्ष देखि पानी आउन सुरु गरेपनि सधै यसरी नआउने हो की भन्ने आशंका व्यक्त गर्छन्। यही पानीले यस वर्ष खेती गरेका कृष्णप्रसाद गुरागाईले आफू पूर्ण रूपमा सधै पनि आउनेमा ढुक्क नभएको बताए। उनले भने,‘ यो वर्ष त ढिलै भएपनि यसरी नहरकै पानीबाट खेती गरियो तर अब ठूलो पानी आयो भने नहरमा पहिरो लडेर पानी आउने हो कि होइन?’ उनले यो नहरमा सधै पानी सधै आउने भए वर्षमा दुई पटक खेती गर्न सकिने बताए। उनले भने,‘ यो नहरले सधै सिंचाइ गर्न सकिने भए वर्षमा दुई पटक धान रोप्न पाइने थियो, हिउँद र बर्खामा दुई पटक गर्न पाइने थियो।' 

सिंचाइ अभावमा कृषि उत्पादनमा समस्या भोग्दै आएका बाहुनडाँगीबासीले करिब  १२ वर्षको प्रतीक्षामा सिंचाइ सुविधा पाएपछि  खुसी भएका छन्। सुपारी र तरकारी खेतीका लागि उर्भर भूमि मानिएको बाहुनडाँगीमा सिंचाइ सुविधा हुने भएपछि यो क्षेत्रको मुहारै फेरिने स्थानीय दानबहादुर पोखरेल बताउँछन्। उनी भन्छन्,‘ हामीले यहाँ पानी आउने भयो भने धानसँगै तरकारी पनि उत्पादन गर्ने थियौं।'

उनले सिंचाइको पानी नआउँदा आकाशे पानीले पनि खेती गर्न गाह्रो हुने बताए। उनले भने,‘ हाम्रोमा आकाशे पानीले मात्र खेती हुँदैन कि त जरुवा पनि उम्रनु पर्‍यो, होइन भने आकाशे पानी त खेतमा एक घण्टा पनि रहँदैन, हाम्रो खेत सबै मुनिबाट ढुंगा छ।' उनले असारमा पनि खेतमा जरुवा पानी उम्रेन भने धान उत्पादन नै नहुँने बताए।

उक्त नहर सञ्चालनमा नआउँदै किशानहरुलाई खेती किशानी गर्नै समस्या भएको थियो। पहाडी जिल्ला इलामसँग सीमाना भएको उक्त क्षेत्रका बासिन्दाले उक्त सिंचाइ आयोजना सञ्चालन नहुँदा आकाशे पानीकै भरमा खेती गर्नु पर्ने अवस्था थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.