|

लहान : जिल्ला निर्वाचन कार्यालय सिरहाले १ साउनदेखि जिल्ला सदरमुकामस्थित निर्वाचन कार्यालयमा सञ्चालन गरेको फाटो सहितको मतदाता नामावली संकलनको क्रममा सिरहामा २ हजार ९ जना मतदाता थपिएका छन्।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी उत्तम भट्टराईका अनुसार जिल्लाका ७ नगरपालिका र १० गाउँपालिकाका मतदाताहरुका लागि सञ्चालन गरिएको फोटो सहितको मतदाता नामावली संकलनको क्रममा ६ सय ४७ महिला र १ हजार ३ सय ६२ पुरुषसहित साउन १५ गतेसम्म कुल २ हजार ९ जना मतदाता थपिएका छन्।

जिल्ला निर्वाचन कार्यालयले साउन १६ गतेदेखि मसान्तसम्मका लागि जिल्लाका १७ स्थानीय तहमै फोटो सहितको मतदाता नामावली संकलन गरिरहेको जिल्ला निर्वाचन अधिकारी इन्दिरा यादवले बताइन्। निर्वाचन अधिकारी यादवका अनुसार स्थानीय तहमा खटिएको टोलीले मतदाता नामावलीमा भएको त्रुटि सच्याउने, बसाइ सराई गरेका र मृत्यु भईसकेका मतदाताहरुको नाम हटाएर अद्यावधिकसमेत गर्ने जनाइएको छ।

 स्थानीय तहका लागि जिल्ला निर्वाचन कार्यालयले निर्वाचन सम्बन्धी काम गरिसकेका कर्मचारीलाई दर्ता कर्मचारीको रुपमा खटाएको छ भने बाँकी जनशक्ति सम्बन्धित स्थानीय तहका कार्यकारी अधिकृतसँगको समन्वयमा व्यवस्थापन गरिएको सूचना अधिकारी भट्टराईले बताए।

कति भए सिरहामा मतदाता

स्थानीय तहको पुनःसंरचनाअन्तर्गत सिरहामा ७ नगरपालिका र १० गाउँपालिका छन्। २०७३ फागुन ९ गतेसम्म १८ वर्ष उमेर पूरा भइसकेका र फोटोसहितको मतदाता नामावलीमा नाम रहेका मतदाताको संख्या तीन लाख ३१ हजार पाँच सय ९६ रहेकोमा साउन १५ सम्मको २ हजार ९ जना थपिँदा सिरहामा मतदाता संख्या ३ लाख ३३ हजार ६ सय ५ जना पुगेको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ।

 सिरहाको सात नगरपालिका र १० गाउँपालिकामा रहेका एक सय ५८ वटा वडाहरुबाट कम्तिमा तीन सय १६ महिलासहित आठ सय २४ जनप्रतिनिधि चुनिदै छन्। स्थानीय तहको निर्वाचनका लागि जिल्लाभरी चार सय २६ वटा मदतान केन्द्र, २ सय १९ मतदानस्थल तोकिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.