|

बैतडी : ६५ औं भीमदत्त स्मृति दिवसका अवसरमा म‌ंगलबार बैतडीमा साहित्यवाचन तथा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरी अमर सहिद भीमदत्त पन्तको सम्झना गरिएको छ। किसान आन्दोलनका नायक महान् सहिद भीमदत्तको स्मृति दिवसको अवसरमा प्रगतिशील लेखक संघ, विभिन्न कृषक संघसंस्था तथा सहकारीले उनको सम्झनामा कार्यक्रमको आयोजना गरी श्रद्धाञ्जली व्यक्त गरेका छन्।

कार्यक्रममा सहभागी जिल्ला न्ययाधीश ध्रुवकुमार साह, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, प्रहरी नायवउपरिक्षक हेरम्ब शर्मा, प्रगतिशील लेखक संघका जिल्ला अध्यक्ष कर्ण दयाल, भूमि अधिकारकर्मी सरस्वती नेपाली लगायतले सहिद पन्तको फोटोमा माल्यार्पण गरेका थिए।

कार्यक्रममा सहिद पन्तले लेखेका साहित्यिक रचना र उनीबारे लेखिएका रचना वाचन गरिएका थिए। सहिद पन्तले किसान र मजदुरलाई शोषकवर्गबाट माथि उठाउन सुरु गरेको आन्दोलन अझै अधुरै रहेको कार्यक्रमका सहभागीहरुले बताएका छन्। ‘भीमदत्तले सामन्ती शोषकहरुविरुद्ध बोल्दा उनको टाउको छिनियो,’ प्रगतिशील लेखक संघका अध्यक्ष दयालले भने, ‘तर किसान र मजदुरले अझै मुक्ति पाएका छैनन्।’

यस्तै, कार्यक्रममा बौल्दै भूमि अधिकारकर्मी सरस्वती नेपालीले भीमदत्तले साहित्यमार्फत सामन्ती राज्यसत्तालाई प्रहार गरेको स्मरण गराइन्। ‘राज्यसत्ताको सौतेनी व्यवहार खेपीरहेको सुदुरपश्चिमका गरिब, किसान र मजदुरको पक्षमा भीमदत्त पन्तको कलम निकै प्रगतिशील देखिन्छ।’ उनले भनिन्।

को थिए भीम दत्त पन्त?

नेपाली किसान आन्दोलनका महान् सहिद भीमदत्त पन्त डडेल्धुराको कारीगाउँमा १९८३ मंसिर १० गते जन्मेका भीम दत्त पन्त आमा सरस्वती पन्त र बुबा तारनाथ पन्तका सुपुत्र हुन्। उत्तरप्रदेश भारतको सिन्हाईबाट संस्कृत विषयमा हाइस्कुलसम्मको अध्ययन गरेका पन्तलाई गीता र मार्क्सवादको राम्रो ज्ञान थियो। यसले नै उनमा राजनीतिक स्वभाव बढायो। सामन्ती संस्कारविरुद्ध आफ्नै घरबाट विद्रोह गर्ने व्यक्ति पनि भीम दत्त पन्त नै थिए।

कसरी आन्दोलनको सुरुवात गरे? यस्तो छ इतिहास :

अन्याय सामाजिक भेदभाव सहन नसक्ने भीम दत्त पन्तले २००७ सालदेखि आन्दोलनको सुरुवात गरे। त्यस बेला उनलाइ भीम दत्त कांग्रेस भन्ने गरिन्थ्यो। अन्याय गर्नेलाइ दण्ड सजाय दिने हुनाले ठालुहरु डराउँथे। कसैलाइ भीम दत्त पन्तले कारबाही गरेको थाहा पाइएमा फलानोको घरमा कांग्रेस पस्यो भनी गाउँमा सन्देश फैलिन्थ्यो।

कसैसित धेरै रिसाएर गाली गर्‍यो भने तेरो घरमा का‌ंग्रेस पसोस् भन्ने पनि चलन थियो। गरिब दलित जनजाति किसानहरुलाई संगठित गरी राणाविरोधी आन्दोलनमा समेत भीमदत्त पन्तको ठूलो भूमिका रह्यो।

तर, २००७ सालको राजनीतिक परिवर्तनपछि का‌ंग्रेसले गरेको व्यवहार उनलाई मन परेव। उनले क्रान्ति पूरा भएको छैन भनी राणासित मिलेर बनाएको सरकारको विरोध गरे। परिवर्तनको पक्षमा स्पष्ट अडान भएका भीमदत्त पन्तले दलित मगर र थारुहरु संगठित गरी मुक्ति सेना गठन गरे। नेपालगन्‍जका गौरीलाल र रुपिसंह दुईजना सेनाका कमान्डर थिए।

दक्षिण भारत पान्जाबका एकजना विद्वान् कृष्ण स्वामी एंगर योजनाकार थिए। गर्बु थारु र लवरा थारु मन्त्री थिए। भान्सामा दलितहरुलाई सहभागी गराउन थाले। किसानहरुलाई बेदखल गर्ने उनीहरुको नाममा जाली तमसुख बनाउने श्रमशोषण गर्ने ठालुहरुलाई कारबाही गर्न थाले। उनीहरुलाई दलितको भान्सामा खाना खान लगाउँथे। यस व्‍यवहारबाट कुँडिएका ठालुहरु उनलाई पागल भन्थे। पछि भीमदत्त आफैं पनि ठालुहरुलाई परिचय दिँदा पागल पन्त भन्ने गर्थे।

कांग्रेससित वैचारिक भिन्नता आएपछि उनले अभिवादन गर्दा जय नेपाल भन्न छोडेर जय जनता भन्न थाले। केही ठाउँमा जय नेपाल भन्नेलाई कारबाही पनि गरेका थिए। उनले भन्ने गर्थे म अहिले जे गर्दै छु भोलि यस्तै हुन्छ। त्यसैले आजैदेखि अन्याय अत्याचार छोड्नुपर्छ। उनको क्रान्ति विरोध गर्ने र कारबाही गर्नेमा मात्र सीमित थिएन।

गरिबहरु संगठित हुनुपर्छ। अन्न खेर फाल्नु हुँदैन। उत्पादन बढाउनुपर्छ। अनावश्यक खर्च घटाउनुपर्छ। प्रकृति बिग्रने काम गर्नु हुँदैन जस्ता कुरामा पनि सचेतना अभियान चलाएका थिए।

कस्तो दुःख भोगे भीमदत्तले?

क्रान्तिमा लागेकाले भीमदत्त घरको काममा समय दिन सक्दैनथे। गाउँका ठालुहरु सबै विरोधी थिए। घरको जिम्मेवारी धर्मपत्नि पार्वती पन्तकै हुन्थ्यो। नाबालक दुई छोरा थिए। बिरामी पर्दा उपचार गर्न नसकेर ५ वर्षको उमेरमा जेठो र अढाइ वर्षको उमेरमा कान्छो छोराको मृत्यु भयो। त्यसपश्चात पनि घरको प्रवाह नगरी क्रान्तिमै लागिरहे। दुवै छोराको मृत्युपछि पार्वती पन्तको आग्रहमा महता क्षेत्रीको छोरीसित अर्को विवाह गरे। कान्छी श्रीमतिबाट छोरी जन्मिइन्।

उनको पनि ७र८ वर्षकै हुँदा मृत्यु भयो। छोरीको मृत्युपछि कान्छी श्रीमतीले अर्को विवाह गरिन्। भीम दत्तका विरोधी र पारिवारिक समस्या बढ्दै गए तर, क्रान्तिबाट विचलित भएनन्। उनले गरिबको पक्षमा बोलेको र दलितको घरमा खाएको कसैलाई पनि मन परेको थिएन।

यहीबेला अन्यायविरुद्ध संगठित भई लड्ने उद्घोषका साथ २००९ वैशाख २ गते डडेल्धुराको घटानस्‍थलमा भेला बोलाए। गाउँका ठूला ठालुहरुलाइ अनिवार्य उपस्थित हुन उर्दी जारी गरे। सबैलाई जय दासको हातको पानी खान लगाए।

भीम दत्तले गरेको आन्दोलन

गरिबहरुलाई संगठित गर्न भीमदत्त गाउँ भ्रमण गर्न जान्थे। सुदूरपश्चिम र मध्यपश्चिमका अधिकांश जिल्लाहरुमा भ्रमण गर्दा गरिबहरुले नुनसमेत खान नपाएको थाहा पाएर नुन आन्दोलनको घोषणा गरे। काचनपुरको ब्रहमदेवमा भएको गोदामबाट गरिबहरुलाइ नुन कपडा वितरण गरे। यस घटनाका दिन गरिबहरुको ठूलो जनमासले भीमदत्त पन्तको स्वागत गरी भीमदत्त पन्त जिन्दावाद भनी नाराबाजी गरे।

यहीबेला गड्डाचौकी भन्सारमा उनलाई समातियो र हातखुट्टा बाँधेर नेपालगाज पुर्‍याइयो। भागेर ज्यान बचाइ कन्चनपुर आए। धेरैजनालाई महाकालीमा फाले। त्यहाँबाट डडेल्धुरा फर्केर आफ्नो बुबालाई तपाईं पनि सामन्त हो भनी घरमा भएका तमसुखहरु च्याते।

विष्टहरुको घरमा भएका तमसुखहरु संकलन गरी बोरीमा हालेर जलाइदिए। मालअड्डामा भएका मूठहरु जलाइ दिए। त्यसपछि बडाहाकिम मोहन बहादुरी सिंहलाई हटाएर आफू बडाहाकिम भई बसे। क्रान्तिमा सहयोग गर्नेहरुलाइ कर्मचारी बनाए। चार महिनासम्म उनले शासन चलाए।

‘कि त जोत हलो, कि त छोड थलो, यदि हैन भने अब छैन भलो’ भन्ने नाराका साथ जोताहा किसानका पक्षमा वकालत गरे। बेलौरीमा बैंक कब्जा गरी त्यहाँबाट लिएको पैसा सेनालाई तलब दिएर बाँकी रहेको मध्ये कमैया र हलियाहरुलाई सहयोग गरे। ’उठ जाग रे नेपाली नवजवान जाग रे।

नेपालमा तम म नेपाल देशलाई स्वतन्त्र बनाँउ रे।’ भन्ने उहाँको देशभक्ति गीत प्राथना थियो। ’बम्बै जाने रेलगाडीमा दिल्लीको माल आयो गरिबका दिन अया ठालुको काल आयो।’ उनको चर्चित गीत थियो। यसबाट बुझ्न सकिन्छ कि भीमदत्त पन्त देशलाई स्वतन्त्र बनाउने। गरिबहरुलाई ठालुहरुको कब्जाबाट मुक्त गराउने अभियानमा थिए।

कसरी भयो भीमदत्तमाथि दमन?

भीमदत्त पन्तले गरिबको पक्षमा गरेको काम नै गाउँका ठालुहरुलाई मन परेको थिएन। त्यसमाथि दलितहरुको घरमा खाना खाने तमसुख जलाउने बेदखली गर्नेलाई कारबाही गर्ने व्यवहारले उनका विरोधी बढ्दै गएका थिए। सरकारी अड्डाले उनको विषयमा झुट्टा रिपोर्ट सरकारलाई पठाउँथे भने ठालुहरु गाउँमै षडयन्त्र गरिरहेका हुन्थे। उनीहरुले भीमदत्तलाई मार्न चन्दा उठाएर सेनाको श्रीनाथ गणलाइ पैसासमेत दिए।

सरकारले भीमदत्त पन्तलाई पटकपटक जेल हाल्यो। त्यसबाट पनि भीमदत्त बिचलित नभएपछि मार्ने षड्यन्त्र गरी भारतीय सेनासमेत बोलायो। भीमदत्त पन्त बेलौरी कब्जा गरी धनगढी कब्जा गर्ने तयारी साथ हिँडिरहेका बेला भारतीय सेनाले घेरामा पार्‍यो। चारैतिर भारतीय सेनाले घेरेको र पानी परेर हिलो भएकाले भाग्न र प्रतिकार गर्न कठिनाइ थियो।

त्यस अवस्थामा पनि भीमदत्त त्यहाँबाट बच्न सफल भई केही सेनाका साथ निगाली सहजपुर हुँदै बुडर पुगे। सबैलाई सुरक्षित बाहिर निकाल्न नसक्दा धेरै सेना मारिए। २०१० साल साउन १७ गते बुडरको गइलेक भन्ने ठाउँमा मगरको घरमा खाना पकाउन लाग्दा गोली हानियो। उनले मलाई पक्राउ गर, गोली नहान भनेका थिए तर सेनाले मानेनन् ।

गोली लागि छटपटाइरहेका बेला भीम दियालले उनको टाउको काटिदिए। टाउको लगेर बडाहाकिम मोहन बहादुरी सिंहलाई बुझाइयो। काटेको टाउको बाँसको टुप्पोमा झुण्ड्याई राजद्रोहीलाई यस्तै हुन्छ भन्ने प्रचार गरियो।

काजक्रियाका लागि पार्वती पन्त टाउको माग्न जाँदा दिइएन। गाउँमा काजक्रिया गर्न बाहुन पाइएन। क्रिया पनि गर्न दिइएन। पानीको नाउलो छुट्याइयो। गौरा अलग गरियो। उनको परिवारलाई मेलापर्व मन्दिर पानीपधेरोबाट वञ्चित गरियो।

गाउँमा क्रिया गर्नसमेत नपाइने भएपछि ४० तोलाको कल्ली २२ रुपयाँ तोला सुन घरमा भएका भाँडाकुँडा बेचेर पार्वती पन्त भीम दत्तका भाइ सिद्धराज पन्त र यदुनाथ पन्तले हरिद्वार गई काजक्रिया गरे। सहिद पन्तलाई सरकारले सहिद भएको ६३ वर्षपछि  २०७२ सालमा सहिद घोषणा गरेको थियो।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.