|

काठमाडौं : 'कति पैसा कमाउँछस्?'

फेसबुक एप टेस्टोनीले राष्ट्रिय क्रिकेट खेलाडी पृथु बास्कोटालाई जवाफ दियो- 'कमाउनै पर्दैन, बिल गेट्सको छोरीसँग बिहे हुन्छ, मोज गर् पृथु।'

फेसबुकमा उक्त पोस्ट सेयर गर्दै क्रिकेटर बास्कोटाले भनेका छन्- 'हो हो तलाईँ थाहा छ। तैँ हनुमान तेरै पुच्छर लामो, मोज गर्।'

यसरी टेस्टोनी नामक एपको सामग्री फेसबुकमा सेयर गर्ने बास्कोटा एक्ला होइनन्।

केही दिनदेखि टेस्टोनी नामक एपका 'तँ के कुरा सोच्दैछस्?', 'कति पैसा कमाउँछस्?', 'तेरो मृत्यु कहिले र कसरी हुन्छ?', 'तेरो असलियत के हो?', 'ठूलो भएर के हुन्छस्?', 'तेरो नराम्रो बानी?', 'तेरो लक्ष्य के छ?', 'तपाईँलाई उपयुक्त पार्टी कुन हो?', 'तेरो भाग्यमा के लेखेको छ?', 'तपाईँको बिहे कहिले हुन्छ?' लगायत कयौँ प्रश्नहरूसहितका पोस्ट फेसबुकमा सेयर भइरहेका छन्। समान्य प्रयोगकर्तादेखि सार्वजनिक व्यक्तित्वहरूले समेत यो एप प्रयोग गरेर रमाइलो गरेको देखिन्छ।

सायद तपाईँको फेसबुक वाल पनि टेस्टोनीले प्रदुषित बनाएको होला।

के हो टेस्टोनी ?

फेसबुकबाट लगइन् गर्न मिल्ने यो एपमा यस्ता कयौँ प्रश्न छन् जसको रमाइलो जवाफ पाउन सकिन्छ। तर यो एपको फेसबुकसँग कुनै साइनो भने छैन।

यो एपको साइटमा लेखिएको छ- 'यो साइटका सबै सामग्री प्रयोगकर्ताद्वारा सिर्जना गरिएका हुन् र यी सबै मनोरञ्जनको उद्देश्यले राखिएका हुन्। हामी तपाईँलाई यो एप त्यतिबेलामात्र प्रयोग गर्न अनुरोध गर्छौँ यदि अन्य प्रयोगकर्तालाई असर पर्दैन भने। हाम्रो एपबाट रमाइलो लिनुस्। धन्यवाद।'

के तपाईँको पासवर्ड चोरी हुन सक्छ?

डिजिटल मार्केटिङ तथा सोसल मिडिया विज्ञ आकार अनिल टेस्टोनीबाट व्यक्तिगत सूचना चोरी हुने डर आफूले नदेखेको बताउँछन्। 'क्लिक गर्ने बित्तिकै फेसबुकमा पोस्ट गर्ने एपहरू जस्तो यो होइन जस्तो देखिन्छ। उसले लगइन गर्दा के के पर्मिसन माग्छ भन्नेमा भर पर्छ', उनी भन्छन्, 'यसले हामीले अनुमति दिएमात्र फेसबुकमा पोस्ट गर्छ, हामीले पनि आफ्नै प्रश्न बनाउन मिल्ने रहेछ।'   

टेस्टोनीको 'प्राइभेसी पोलिसी' मा थर्ड पार्टी (फेसबुक, ट्विटर वा जीमेल) बाट लगइन गर्दा टेस्टोनीले प्रयोगकर्ताको पासवर्ड प्राप्त गर्न नसक्ने लेखिएको छ।

फेसबुक प्रतिक्रिया

भोजराज भट्टराई फेसबुकमा लेख्छन्- 'टेस्टोनी डट कमले फेसबुकलाई हेरिसाध्य बनाएको छैन। यो बन्छस्, यति कमाउँछस्, बिहे यैले गर्छस् आदि आदि... यो साम्य नहुन्जेल त्यति भुल्न मजा नहुने भयो शोभा हराएको फेसबुकमा।'

विनोद खतिवडा लेख्छन्- 'टेस्टोनी धेरै चलाउनेको फेसबुकमा भाइरस लागोस।'

प्रकाश खतिवडा लेख्छन्- 'अहिले नेपाली तोरी जनताको लागि गतिलो फेसबुके ज्योतिस आएछ- टेस्टोनी ! जस्ले यो एप युज गरेर रिजल्ट टाइमलाइनमा लिएर आउँछ, सिधै अन्फ्रेन्ड, रिसानी माफ होस् !'

विनोद बगाले लेख्छन्- हावादारी कुरा गर्ने टेस्टोनी अनि त्यसैको पछाडि दौडनी हामी चाहिँ महामुर्ख। मृत्यु कसरी हुन्छ भन्ने प्रश्नमा घटिया शब्दहरू प्रयोग गरी जवाफ पठाउँछ- 'यही आउँदो दशैंमा खसीको हाड घाँटीमा अड्केर तेरो मृत्यु हुन्छ।' 'तेरो श्रीमतीले पैसाको लालचमा तेरो हत्या गर्छे।' वर्षदिनम एक पटक आउने दशैं पनि रोक्न खोज्ने अनि सोझी श्रीमतीलाई हत्याराको आरोप लगाउन खोज्ने निच टेस्टोनी मुर्दावाद।'  

ज्यतिष सुनिल सिटौलाले रमाइलोका लागि बनाइएको टेस्टोनी प्रयोग गर्नेहरूप्रति सहानुभूति दिँदै आफ्नो ज्योतिषीय एपको विज्ञापन गर्न भ्याएका छन्। उनी लेख्छन्- 'हनुमान ज्योतिष ,सकुन प्रश्नावली एवम भृगु संहिता अनुसारको 'जोखना एप' हेर्न छाडेर मनोरन्जनको लागि बनाइएको टेस्टोनीलाई आफ्नो भित्ता भरी टाँस्ने महान नेपाली प्रयोगकर्तालाई खै के भन्ने शब्द नै आएन !!! बरु खुरु खुरु आफ्नो मोबाइलमा जोखना एप राख्ने अनी आफै जोखना हेरे त केही हुन्थ्यो कि !!!'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.