|

काठमाडौं : चितवनको भरतपुर नगरपालिका प्रमुखमा उम्मेदवार देवी ज्ञवालीका छोरा निरभ ज्ञवालीलाई प्रहरीले पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ। गत साउन १ गते नै प्रहरीले उनीविरुद्ध अदालतमा विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दायर गरेको थियो।

महानगरीय अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक प्रकाशजंग कार्कीका अनुसार मुद्दा दायर भएपछि फरार रहेका निरभलाई बुधबार दिउसो काठमाडौंको पुतलीसडकबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेश गरिएको हो। उनलाई बिहीबार बिहान १० बजे पुनः अदालतमा उपस्थित गराइनेछ।

सामाजिक सञ्जाल फेसबुकमा आफ्नी पत्नी रेणु दाहाललाई गाली गलौज गरेको भन्दै अनिलकुमार पाठकले असार ४ गते निरभविरुद्ध प्रहरीमा उजुरी दिएका थिए। रेणु माओवादी केन्द्रका तर्फबाट भरतपुर महानगरपालिका प्रमुखकी उम्मेदवार हुन्। 

चितवन प्रहरीले उक्त उजुरी महानगरीय अपराध महाशाखामा पठाएको थियो। किटानी जाहेरी दर्ता भएको ३५ दिनसम्म पनि निरभ फेला नपरेपछि अदालतले वारेन्ट जारी गरेको प्रवक्ता कार्कीले बताए।

प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले ज्ञवालीविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ अन्तर्गत मुद्दा दायर भएको जानकारी दिए। 

के छ दफा ४७ मा?

विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ मा विद्युतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशन गर्न नहुने उल्लेख छ। यो दफामा भनिएको छ- 'कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदाय बीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैंयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ।

फोटोहरू

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • आफू सँगै कुम जोडेर बसेका अभियुक्तलाई त फरार भन्नेले आफ्नै घरमा..... झुठको पनि.......