गाउँपालिका अध्यक्ष भन्छन्, ‘डेढ वर्षमा सडक सुविधा, पाँच वर्षमा विकासको दौड’

|

इलामः इलामको पश्चिमी क्षेत्र माङ्सेबुङ गाउँपालिका अहिले  समुद्रको टापु जस्तै भएको छ। गाउँपालिका कार्यालय पुग्ने योजना छ भने ज्यान नै बाजी मारेर हिँड्नुपर्छ। 

इलाम सदरमुकाम हुँदै जाँदा गजुरमुखी छेउमा रहेको ठाडे खोलो तगारो छ भने झापाको दमक–रवि–चिसापानी सडक हुँदै आउनका लागि रतुवा खोलाले वर्षातका चार महिना बाटो काट्न दिँदैन। झापाको विर्तामोड–दानाबारी हुँदै आउने बाटोमा पनि माईखोला अवरोध बन्ने गर्दछ।

हिउँदमा पनि दमकबाट आउने यातायातका साधनका लागि रतुवा खोलाको बगरको विकल्प छैन। बर्षातमा माङ्मालुङदेखि आउने रतुवाको भेल र सन्दकपुरदेखि आउने माईखोलाको भेलले माङ्सेवुङलाई टापुमा परिणत गर्दछ।। त्यही भएर माङ्सेबुङवासीको वर्षातको पाँच महिने बास कुनै सामुद्रिक टापुमा बसेको भन्दा फरक छैन। 

जिल्ला विकास समिति इलामका पूर्व उपसभापति जयप्रकाश राई भन्छन्, ‘मैले यो टापुमा पाँच दशक पार गरिसकेँ, अवस्था उस्तै छ। अधिकारसहितको स्थानीय तह बनेर नयाँ नेतृत्व आएकाले विकास हुने आश छ।’ यही कारण बर्खाको चार महिनामा कोही गम्भीर बिरामी भएमा अस्पतालसम्म ल्याउने आश छैन माङ्सेवुङबासीको। 

धार्मिक तथा पर्यटकीय क्षेत्र गजुरमुखी नजिकै रहेको ठाडे खोला पनि बर्खाको समयमा भेलझैँ उर्लिएर आउँछ। सानै भए पनि उर्लिएर आउने खोलासँगै ठूलाठूला चट्टानहरू बगेर आउने गरेका छन्। ठाडे खोलाको भरमा सिँचाइ गरी धान रोप्दै गरेका एक किसानले भने, ‘खेती गर्न यही खोलामा भर पर्छु तर बिरामी हुँदा र केही काम पर्दा इलाम जानुपर्‍यो भने यसैको डरले पाइलो चल्दैन।’ उनी बिरामी हुँदा त जसरी पनि सदरमुकाम जानै पर्ने भएकाले आफ्नो ज्यान ठाडे खोलाले धेरै पटक वर्षातमा लछारपछार पारेको सुनाउँछन्।

यी हुन् माङ्सेबुङका समस्या
नयाँ संविधान निर्माणपछि संघीय संरचना बन्यो। साविक तीन गाविस गजुरमुखी, इभाङ र बाँझो जोडेर माङ्सेबुङ गाउँपालिका बन्यो । माङ्सेबुङ गाउँपालिकाभित्र समेटिएका साविकका तीन गाविसलाई पहिलेदेखि नै इलामको कर्णाली भनिँदै आएको छ।

यहाँ सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युतको समस्या पेचिलो रूपमा छ। सडक हिउँदका छ महिना मात्रै चल्छ भने केन्द्रीय प्रशारण लाइन नपुग्दा स्थानीयवासीको दैनिकी कष्टकर छ। गाँउपालिका कार्यालय नजिकैका बासिन्दाहरू पेल्ट्रिक सेट चलाएर बिजुली बाल्दै आएका छन्। कतिपयले घरमा सोलार जडान गरेका छन्। 

सामुदायिक विद्यालय भए पनि उच्चशिक्षा अध्ययनका लागि इलाम सदरमुकाम र झापाको दमक जानुको विकल्प छैन।  यस गाउँपालिकामा शिक्षाको नतिजा पनि राम्रो छैन। खानेपानीको समस्या उस्तै छ। बर्षातमा परेको पानी जम्मा गरेर पनि गर्जो टार्नुपरेको प्रत्यक्ष देखिन्छ।

हिउँदमा त खोला, खोल्सा नधाईकन सुखै छैन। हिउँदमा दमक र इलाम सदरमुकाम आएर उपचार गरे पनि बर्षातमा उपचार पाउन निक्कै मुस्किल परेको पूर्व उपसभापति राई बताउँछन्। उनी भन्छन्, ‘सडकको दुरवस्थाले गर्दा बोकेर लानुपर्दा कतिको अस्पताल देख्न नपाई ज्यान गएको छ।’

डेढ वर्षमा सडक सुविधा, पाँच वर्षमा विकासको दौड 
वर्षातका छ महिना गाडी नचल्दाको समस्या भोग्दै तीन दशक बढी बिताएका माङ्सेबुङ– २ चुक्चिनुम्बाका डिकेन्द्र इदिङ्गो स्थानीय तहको निर्वाचनबाट गाउँपालिका अध्यक्षको नेतृत्व पाएका छन्। यी सबै चुनौतीको सामना गर्दै गाउँमा विकासको फड्को मार्ने  पाँच वर्षे नेतृत्व उनैको काँधमा छ।

उनी भन्छन्, ‘सबै समस्याको समाधान गर्न पहिले सडक आवश्यक पर्ने भएकाले डेढ वर्षभित्रमा झापाको दमक र इलाम सदरमुकाम जोड्ने सडकमा १२ महिना नै गाडी कुदाउने र पाँच वर्षमा समग्र विकासले फड्को मार्ने योजना छ।’

यस्ता छन् गाउँपालिका अध्यक्ष इदिङ्गोका प्राथमिकता 
सडक  
गाउँपालिका अध्यक्ष इदिङ्गोले सडकलाई प्राथमिकतामा राखेर काम गर्ने योजना बनाउँदै छन्। दमक बजार जोड्ने दमक–चिसापानी–रवि सडक र इलाम सदमुमकाम जोड्ने माङ्मालुङ–गजुरमुखी–मंगलबारे हुँदै इलाम जोड्ने बाटोलाई स्तरोन्नति गर्ने योजना नै पहिलो प्राथमिकता हो उनको। यी सडकलाई कम्तिमा पनि डेढ वर्षमा १२ महिनै गाडी कुद्ने गरी निर्माणका लागि बजेट र ध्यान केन्द्रित गर्ने योजना रहेको उनले सुनाए।

इदिङ्गो भन्छन्, ‘यी सडकको स्तरोन्नति भएमा बाँकी चुनौती सामना गर्न सहज हुन्छ। एक वडा कार्यालयदेखि अर्को वडा कार्यालय र गाउँपालिका कार्यालय पुग्ने सडकको पनि क्रमशः स्तरोन्नति गर्ने योजना छ।’ यसरी सडक सञ्जालको बिस्तार गरेमा जनताले घरबाट वडा कार्यालय र गाउँपालिका कार्यालयबाट सेवा लिएर सहजै घर फर्किने उनी बताउँछन्।

विद्युत   
माङ्सेबुङ गाउँपालिकामा अहिलेसम्म केन्द्रीय प्रसारण लाइन पुगेको छैन। विद्युत सुविधा नपुग्दा यहाँका अधिकांश जनता अन्धकारमा बस्न बाध्य छन्। 

विद्युत सुविधा नहुँदा गाउँपालिका कार्यालय संचालनमा समेत असहज भएको स्थानीय जनप्रतिनिधिको गुनासो छ। विद्युतको बिस्तारका लागि ऊर्जा मन्त्रालय र विद्युत प्राधिकरणसँग पटक–पटक छलफल भइरहेकाले चाँडोभन्दा चाँडो गाउँपालिका कार्यालयसम्म विद्युत बिस्तार गर्ने र बाँकी ठाउँमा पनि विद्युतीकरण गर्ने योजना रहेको अध्यक्ष इदिङ्गोले बताए।

‘मन्त्रालय र माथिल्लो निकायबाट प्राप्त हुने सूचनाका सामग्री विद्युत नहुँदा छिटो प्राप्त गर्न गाह्रो भएको छ’, उनले भने, ‘विद्युत प्राधिकरणले भदौदेखि विद्युत बिस्तार गर्ने योजनाको काम गर्ने भनेकाले चाँडै काम हुन्छ।’ विद्युत बिस्तारपछि गाउँमा घरेलु तथा साना उद्योग खुल्ने क्रम बढ्ने उनले बताए।

स्वास्थ्य 
गाउँपालिका क्षेत्रमा अहिले पुरानै संरचनाअनुसारका स्वास्थ्य केन्द्र र केही निजी मेडिकलहरू भए पनि समान्य ज्वरो, रुघाखोकीका मात्र उपचार हुन्छन् त्यहाँ। स्वास्थ्य उपचारका लागि दमक, देउमाई नगरपालिकाका क्षेत्रको प्राथमिक स्वास्थ्य चौकी, इलाम अस्पताल जानुको विकल्प नभएकाले नयाँ स्वास्थ्य ऐनमा एमबीबीएस डाक्टरसहितको स्वास्थ्य उपचारको लागि स्वास्थ्य मन्त्रालयसँग पहल गर्ने इदिङ्गोको योजना छ।

शिक्षा 
इलामको कर्णाली भनेर चिनिएको माङसेवुङ गाउँपालिकामा उच्चशिक्षा अध्ययनका लागि कलेज तथा क्याम्पस छैन। सामुदायिक विद्यालयमा धेरै लगानी भए पनि रिजल्ट राम्रो आउन नसकेकाले सो क्षेत्रका विद्यालयहरूलाई संस्थागत विद्यालयको मोडेलमा संचालन गर्ने इदिङ्गोको योजना छ। उनी भन्छन्, ‘अब शिक्षा क्षेत्रका सम्पूर्ण सरोकारवालासँग छलफल गरेर सामुदायिक विद्यालयलाई संस्थागत मोडेलमा संचालन गर्ने योजना छ।’

शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकबाट समस्या पहिचान गरी चाँडै गुणस्तरीय शिक्षाको मोडेल विकास गर्ने उनले बताए।

खानेपानी 
चुरे र महाभारत पर्वत परेकाले माङसेवुङमा खानेपानीको समस्या टड्कारो रूपमा देखापरेको छ। यसअघि विभिन्न दातृ निकायको सहयोगमा बनेका खानेपानीका योजनाहरू मर्मत सम्भार नहुँदा अलपत्र अवस्थामा छन्। पुराना योजनाहरूको मर्मत गर्ने र नयाँ योजना संचालनका लागि पहल गरी खानेपानीको व्यवस्था गर्न गाउँपालिका प्रतिवद्ध रहेको उनले बताए। त्यसका लागि सबै वडा र क्षेत्रको अध्ययन गर्ने योजना रहेको इदिङ्गोले बताए।

पर्यटन 
माङ्सेबुङ गाउँपालिका धार्मिक पर्यटकीय क्षेत्र हो। गजुरमुखी, किराँतहरूको आस्थाको केन्द्र लारुम्बा, महागुरु राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मस्थान चुक्चिनुम्बा, ओमनन्दको जन्मस्थल माङ्मालुङ जस्ता प्रसिद्धस्थल धार्मिक तथा पर्यटकीय स्थलहरू माङ्सेबुङ गाँउपालिकामा रहेका छन्। 

विकासका पूर्वाधारहरू नहुँदा यहाँका धेरैजसो पर्यटकीयस्थल ओझेलमा परेका छन्। पर्यटकीयस्थलको विकासका लागि गुरुयोजना निर्माण र प्रचार प्रसारका लागि काम गर्ने गाउँपालिकाको योजना छ। संभावना अधिक भए पनि भौतिक पूर्वाधार नहुँदा पर्यटकहरूले पनि भनेजस्तो सुविधा पाएका छैनन्। अध्यक्ष इदिङ्गो भन्छन्, ‘हाम्रो गाउँपालिकाको टिम एक भएर माङ्सेबुङका चुनौतीको सामना गरी अवसरमा बदल्न लागिपर्नेछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.