काठमाडौं : बुधबार नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी दिनभर नै भेटघाटमा व्यस्त रहे। उद्योग व्यवसायसँग सम्बन्धित दुई मन्त्रालय वाणिज्य र आपूर्ति मन्त्रालय तथा मूख्य सचिव राजेन्द्र किशोर क्षेत्रीसँग उनीहरुले भेटे।
अध्यक्ष भवानी राणाको नेतृत्वको महासंघको प्रतिनिधि मण्डलले निजी क्षेत्रमा पछिल्लो समय देखिएका समस्या तथा व्यापार घाटा न्युनिकरणका विषयमा उनीहरुसँग छलफल गरे।
यस्ता थिए माग
वाणिज्य मन्त्री मिन विश्वकर्मासँग भएको भेटमा महासंघको टोलीले स्वदेशी वस्तुको प्रबर्द्धन गर्न आग्रह गरेको छ। साथै निर्यातमुखी उद्योगहरूलाई प्रोत्साहन दिन नीतिगत सुधार आवश्यक रहेको महासंघको धारणा छ। भारतले लागू गरेको जीएसटीले पार्न सक्ने प्रभावका विषयमा निरन्तर अध्ययन गर्न उनीहरुले सुझाव दिए।
त्यस्तै चर्को व्यापार घाटा न्यूनीकरणका लागि मुलुकभित्र लगानी तथा उद्यमशीलताको वातावरण निर्माण गर्न, उत्पत्तिको प्रमाणपत्रको प्रभावकारी व्यवस्थापन गर्न, अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल निर्माणमा तदरुकता देखाउन उनीहरुले माग गरे।
आपूर्ति मन्त्री शिवकुमार मण्डलसँगको भेटमा महासंघको टोलीले उपभोक्ता हित संरक्षण सम्बन्धी ऐनलाई निजी क्षेत्रको राय सल्लाह सुझाव समावेश गरेर मात्रै संसदमा पठाउन आग्रह गरेको छ। लोकबजारी ऐनलाई समय सान्दर्भिक रूपमा परिमार्जन गरिनुपर्ने, सरकारको इजाजत लिएर संचालनमा आएका उद्योग व्यवसायलाई अपरझट कुनै नीतिगत परिवर्तन गरी इजाजत खारेज गर्नेसम्मको कार्य रोकिनु पर्ने लगायतका माग महासंघकी अध्यक्ष भवानी राणाले राखिन्।
उनले उद्यमी व्यवसायीहरूलाई हतोत्साहित पार्ने, उनीहरूको मानमर्दन गर्ने, दोषी प्रमाणित हुनुपूर्व नै सजाय दिने कार्य तत्काल रोकिनुपर्ने माग राखिन्।
मुलुकभित्र स्वदेशी लगानी प्रोत्साहित हुने वातावरण नबनेसम्म पर्याप्त विदेशी लगानी भित्रन नसक्नेतर्फ उनले आपूर्ती मन्त्रीको ध्यानाकर्षण गराए।
मूख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीसँगको भेटमा उनीहरुले निजी क्षेत्र र सरकारी कर्मचारीहरुबीच एक-आपसमा समन्वयनको वातावरण निर्माण गर्नुपर्ने खाँचो रहेको बताए।
पाए यस्ता आवश्वासन
वाणिज्य मन्त्री विश्वकर्माले निजी क्षेसँगको सहकार्यलाई प्राथमकिता दिएर अघि बढ्ने प्रतिबद्धता जनाए। बढ्दो वैदेशिक व्यापार घाटा न्युन गर्दै निर्यात बढाउनुपर्ने आवश्यकता रहेको उनले बताए। विश्वकर्माले निर्यातजन्य वस्तुको प्रवद्र्धन गर्न आफ्नो विशेष जोड रहने प्रतिबद्धता व्यक्त गरे।
मुलुकभित्र लगानीको वातावरण, स्वदेशी उद्योग एवं वस्तुहरूको प्रवर्द्धनमा आफूले सिंगो निजी क्षेत्रसँग सहकार्य गर्ने विश्वदकर्माको भनाइ थियो।
आपूर्ति मन्त्री शिवकुरमार मण्डलले पनि मुलुकको आर्थिक समृद्धिमा आफू र आफ्नो मन्त्रालयले निजी क्षेत्रलाई एक साथ लैजाने बताए। उनले सरकार र निजी क्षेत्र एक सिक्काका दुई पाटा भएकाले मुलुकभित्र निजी क्षेत्रलाई काम गर्ने वातावरण बनाउन केन्द्रित हुने प्रतिवद्धता व्यक्त गरे।
उपभोक्ता हित संरक्षण ऐनका विषयमा महासंघसहित निजी क्षेत्रले दिएका सुझावहरूलाई सक्दो समावेश गराउने उनले बताए। उनले संसदको सरोकारवाला समितिमा पनि निजी क्षेत्रसँग छलफल हुने हुँदा निजी क्षेत्रलाई आफ्ना सुझावहरू निरन्तर राख्न आग्रह गरे।
मूख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीसँगको भेटमा उनीहरुले निजी क्षेत्र र सरकारी कर्मचारीहरुबीच एक-आपसमा समन्वयनको वातावरण निर्माण गर्नुपर्ने खाँचो रहेको बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।