|

काठमाडौं: राष्ट्रिय जनता पार्टी नेपालका पदाधिकारीहरुले स्थानीय तहको निर्वाचनमा भाग लिन नेतृत्वलाई दबाब दिएका छन्। पार्टी गठन भएको साढे तीन महिनापछि बसेको पदाधिकारीहरुको पहिलो बैठकमा अधिकांश पदाधिकारीले मधेसी जनताको माग पूरा गर्न सत्तारुढ र प्रमुख दललाई दबाब दिन आन्दोलन अनिवार्य भएको धारणा राखे।

तर कुनै पनि बहानामा चुनावबाट नभाग्न उनीहरुले नेतृत्वलाई सुझाव दिए। मधेश केन्द्रित छ वटा राजनीतिक दलको एकिकरणपछि गठन भएको राजपाले अहिलेसम्म चुनावमा भाग लिनेबारे निर्णय गरेको छैन। राजपाका पदाधिकारीहरुले निर्वाचन बहिस्कार गरेमा जनतासँग पार्टीको सम्बन्ध बिग्रने र स्थानीय तहमा पार्टीको धरातल कमजोर हुने धारणा राखे। 

पदाधिकारीहरुले निर्वाचनमा भाग लिएर स्थानीय तह कब्जा गर्न सकेमा जनतासँग पार्टीको सम्बन्ध सुदृढ र बलियो हुने बताए। उनीहरुले चुनावमा भाग नलिए मधेस केन्द्रीत अन्य दलले राजपाको स्थान ओगट्न सक्ने खतरा रहेको चेतावनी दिए। अध्यक्ष मण्डलका नेताहरुबीच एकता र एउटै दृष्टिकोण बनाउन समेत पदाधिकारीहरुले सुझाव दिए।

पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा भाग नलिएर पार्टीले गल्ति गरेको आरोप समेत केही पदाधिकारीले लगाए। केशव झा, जंगीलाल राय, सुरेन्द्र पटेल, रितेश सिंह, श्रीमननारायण मिश्र  लगायतले आगामी २ असोजमा हुने निर्वाचनमा कुनै हालतमा भाग लिनुपर्ने बताए।

नेता रितेश सिंहले राजपा नेपालको केन्द्रीय कार्यालय मधेसमा सार्न सुझाएका थिए। उनले पार्टीका शीर्ष नेताहरु काठमाडौंमा बस्ने गरे पनि मधेसबाट आएका पदाधिकारीहरुलाई खान र बस्नको समेत समस्या हुने गरेको गुनासो गरे। रमन पाण्डेयले राजधानी काठमाडौंबाट मधेसमा सार्नुपर्ने लिखित धारणा राखे।

एक सय ३३ जन पदाधिकारी रहेको राजपा नेपालको पहिलो पदाधिकारी बैठकमा ९७ जना उपस्थित भएको राजपा महासचिव केशव झाले बताए। प्रत्येक पदाधिकारीलाई पाँच मिनेटको समय छुट्याए पनि पदाधिकारीहरुले पार्टी गठनपछि भएको पहिलो पटक बैठक भएकोले समयको सीमामा नराख्न पनि शीर्ष नेतालाई सुझाव दिएका थिए।

पार्टी कार्यालय बिहान ११ बजे उद्घाटन भए लगत्तै बैठक बस्ने भनिए पनि अध्यक्ष मण्डलका सदस्यहरुको आन्तरिक बैठकका कारण निर्धारित समयभन्दा अढाई घण्टा ढिलो बैठक सुरु भएको थियो। तीन दिनसम्म चल्ने पदाधिकारी बैठकले पार्टीको आगामी राजनीतिक रणनीति तय गर्ने पार्टी वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लालले थाहाखबरलाई बताए।

बनको जग्गामा निर्मित भवन नैं पार्टी केन्द्रीय कार्यालय

नेपाल निजमती कर्मचारी मञ्चको केन्द्रीय कार्यालय बबरमहललाई नै राजपा नेपालले केन्द्रीय कार्यालयको रुपमा उपयोग गरेको छ। २०६८ सालमा तत्कालीन प्रधानन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले मधेस केन्द्रित दलको भातृ संस्थाको रुपमा रहेको मञ्चलाई एक रोपनी जग्गा उपलब्ध गराएको थियो।

सरकारले कर्मचारी मञ्चलाई वन विभागको एक रोपन जग्गा उपलब्ध गराएको थियो। कर्मचारी संगठनलाई सरकारले उपलब्ध गराएको जग्गामा मञ्चले साढे तीन तले भवन निर्माण गरेको छ। सोही सरकारी जग्गामा  निर्माण भएको मञ्चको भवनलाई राजपाले आफ्नै केन्द्रीय कार्यालय बनाएको छ।

शीर्ष ४ नेता अनुपस्थित 

राजपा कार्यालय उद्घाटनसँग पहिलो पटक भएको पार्टी पदाधिकारी बैठकमा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव अनुपस्थित भएका छन्। उनी काम विशेषले जनकपुर गएका कारण उपस्थित नभएको नेता मनिष कुमार सुमनले बताए। बैठकमा उपाध्यक्ष हृदेयस त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ला र महामन्त्री बृजेशकुमार गुप्ता पनि अनुपस्थित भए।

त्रिपाठी, शुक्ला र गुप्तामाथि  ५ नम्बर प्रदेशमा गत असार १४ गते सम्पन्न निर्वाचनमा पार्टीको नीति विपरीत स्वतन्त्र ढंगले आफ्ना कार्यकर्तालाई उम्मेदवारी दिन उक्साएको आरोप छ। उपाध्यक्ष त्रिपाठीले पार्टी केन्द्रीय समिति र पदाधिकारी बैठक पार्टी गठन भएको लामो समयसम्म नबोलाएको भन्दै असन्तुष्टी व्यक्त गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.