|

धनकुटा : धनकुटा नगरपालिकाले देशकै सफा शहरको पुरस्कार हात पारेको छ। आर्थिक वर्ष २०७३-७४ को फोहर मैला व्यवस्थापन सम्बन्धी प्रतिवेदनलाई आधार मानेर धनकुटालाई देशकै सफा शहर घोषणा गरिएको हो। 

सफा शहरको प्रतिस्पर्धामा छनौट भएका ६ वटा महानगर, उपमहानगर तथा नगरपालिकामध्ये धनकुटा नगरपालिका पहिलो नम्बरमा आयो भने इलाम नगरपालिका दोस्रो र हेटौंडा उपमहानगरपालिका तेस्रो स्थानमा आए। 

नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले नेपालका २ सय ६३ शहरमध्ये धनकुटालाई सबैभन्दा सफा शहरका रुपमा पुरस्कृत गरेको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिए। 

सफा शहर छनौटका लागि देशका १५ शहर प्रतिस्पर्धामा थिए। जसमा २ महानगरपालिका, ४ उपमहानगरपालिका  र ९ नगरपालिकाको दाबी थियो। प्रस्ताव पेश गर्ने महानगरपालिकाहरुमा भरतपुर र पोखरा–लेखनाथ तथा उपमहानगरपालिकामा धरान,इटहरी, हेटौंडा र बुटवल हुन्। यस्तै रेसुङ्गा रामधुनी, इलाम, वालिङ, घोरही, धनकुटा, बेनी, कुश्मा र वीरेन्द्रनगर नगरपालिकाले पनि प्रस्ताव पेश गरेका थिए।

यी मध्ये भरतपुर महानगरपालिका, धरान, हेटौडा र बुटवल उपमहानगरपालिका तथा धनकुटा र इलाम नगरपालिका उत्कृष्ट ६ नगरपालिकामा छनोट भए। 
उत्कृष्ट छनौटमा परेका ६ वटा नगरपालिकाको स्थलगत प्रमाणीकरण र स्थलगत अनुगमन सकिएपछि मूल्याङ्कन समितिले सफा शहर मध्ये पहिलो, दोस्रो र तेस्रो सफा शहर छुट्याएको थियो। 

सरकारले सफा शहर छनोटका लागि फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक विश्वमणि ज्ञवालीको संयोजकत्वमा ६ सदस्यीय मूल्याङ्कन समिति गठन गरेको थियो। 

सफा शहर कार्यक्रम हेर्ने अधिकृत सदस्य–सचिव रहेको यस समितिमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको वातावरण व्यवस्थापन शाखाका प्रमुख, खानेपानी तथा सरसफाइ मन्त्रालयका उपसचिव, विज्ञको तर्फबाट फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका सन्तोष श्रेष्ठ, नेपाल नगरपालिका संघका कार्यकारी सचिवसहित ५ सदस्य थिए। 

मूल्याङ्कन समितिले प्रारम्भिक मूल्याङ्कनबाट बढी अंक प्राप्त गर्ने ६ वटा नगरपालिकामा स्थलगत अध्ययन र प्रमाणीकरण गरेको थियोे। प्रमाणीकरण तथा स्थलगत अनुगमनका क्रममा नगरपालिकाहरुले प्रस्ताव पेश गर्दा दाबी गरेजस्तो काम भइरहेको छ कि छैन ? फोहोरमैला व्यवस्थापन, खानेपानी तथा ढल व्यवस्थापन, प्रदुषण नियन्त्रण, हरियाली प्रवद्र्धन तथा शहरको सौन्दर्य बढाउने काम भइरहेको छ वा छैन भन्ने विषयमा अनुगमन गरिएको थियो । यस अनुगमनपछि प्राप्त अंकका आधारमा  धनकुटा नगरपालिका उत्कृष्ट भएको हो। 

सरकारले सन् २०१४ देखि सफा शहरको मापदण्ड तोकेर त्यसै अनुसार प्रस्ताव आव्हान गरी हरेक वर्ष प्रथम, द्धितिय र तृतीय सफा शहर छुट्याई नगद पुरस्कार प्रदान गर्दै आएको छ। सरकारले यस बर्ष प्रथम हुने धनकुटा नगरपालिकालाई १० लाख, दोस्रो हुने इलाम नगरपालिकालाई ६ लाख र तेस्रो हुने हेटौंडा उपमहानगरपालिकालाई ४ लाख नगद पुरस्कारसहित सम्मान गरेको छ। पुरस्कार बापत प्राप्त रकम फोहोरमैला व्यवस्थापन प्रवद्र्धन गर्ने काममा खर्च गर्नुपर्ने व्यवस्था रहेको छ। 

कसरी प्राप्त हुन्छ अंक ?

सफा शहर हुनका खुला दिसामुक्त नगर हुनैपर्छ। तर, यत्ति मात्र हुँदैमा सफा शहर हुन सक्दैन यसका लागि फोहोरमैला व्यवस्थापन राम्रोसँग गरेको हुनुपर्छ। फोहोर व्यवस्थापनमा मात्र अंक भार ५० तोकिएको थियो। 

खानेपानी तथा ढल व्यवस्थापनका लागि १५ अंक तोकिएको थियो। सफा शहरको अर्को मापदण्ड हरियाली विकास र कहरी सौन्दर्य प्रबद्र्धन हो। यसका लागि १९ अंकभार तोकेको थियो।

सफा शहर हुनका लागि प्रदुषण नियन्त्रण र व्यवस्थापन गरेको पनि हुनुपर्छ। यसमा ६ अंकभार तोकेको थियो। यत्ति भएर मात्र सफा शहर भएको मानिने छैन । संस्थागत विकासको पाटो पनि सफा शहरको अर्को मापदण्ड हो। यसमा १० नम्बर अंकभार राखिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.