|

बागलुङ : नेपाल टेलिकम बागलुङले आधुनिक ‘ग्राहक सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ। सेवा लिन कार्यालयका विभिन्न कोठा (कक्ष) मा सेवाग्रही धाउनुपर्ने बाध्यता हटेको छ।

टेलिकमले सेवा प्रवाहलाई व्यवस्थित र ग्राहकमैत्री बनाउन सेवा केन्द्र सुरु गरेको कार्यालय प्रमुख इन्जिनियर केशव शर्माले बताए। ‘सबै खाले सेवा एकै ठाउँबाट दिने व्यवस्था मिलाएका छौं’ शर्माले भने, ‘यसबाट ग्राहकलाई सजिलो हुने हाम्रो विश्वास छ।’

कार्यालयका अनुसार मोबाइल, ल्यान्डलाइन फोन, इन्टरनेट, सिमकार्ड सम्बन्धी काम, बिल तिर्ने लगायतका सेवा एउटै कोठाबाट दिन सुरु गरिएको छ। यसअघि यी सेवा छुट्टा–छुट्टै ठाउँबाट दिने गरिएको थियो।

ग्राहक सेवा केन्द्र सञ्चालन भएपछि सेवा लिने/दिने कार्य सजिलो हुनुका साथै समयको समेत बचत हुने कार्यालय प्रमुख शर्माले बतए।

ग्राहकलाई पिउने पानी, विश्रामको लागि कुर्ची, मोबाइल चार्ज लगायतका सुविधा पनि उपलब्ध गराइएको छ। सेवा प्रवाहलाई चुस्त बनाउन चार जना कर्मचारी यो ग्राहक सेवा केन्द्रमा खटाइएको छ।

सेवा केन्द्र सञ्चालन भएपछि धेरै ठाउँ धाउनुपर्ने र उभिरहनुपर्ने झण्झट हटेको सेवाग्राही सगुन सापकोटाले बताए। सर्वसाधारणलाई सहज रुपमा सेवा दिन अन्य कार्यालयले पनि यस्तो व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.